प्रदेश खारेजी भए संविधान असफल हुन्छ, जनताका माग मध्यावधि होइन : मुख्यमन्त्री कार्की
विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश खारेजीको आवाज उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
कार्की नेकपा (एमाले) प्रदेश संसदीय दलका नेतासमेत हुन्। दोस्रो प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश खारेजीमतर्फ जाने भने हो २०७२ सालको संविधान पूर्ण रूपमा असफल हुने बताए। कुनै पनि दलप्रति एमालेले पूर्वाग्रह नराख्ने कार्कीले बताए। सबै दलसँग सहकार्य गरेर अघि बढ्न एमाले तयार रहेको उनको भनाइ छ।
‘सबैसँग सहकार्य गर्न हामी तयार छौं। यसअघि पनि सबै दलसँग मिलेर सहमतिको सरकार बनाउन आह्वान गरिएको हो,’ उनले भने, ‘हामीले ढुंग पुर्याएनौं भने मध्यावधिको सामना गर्नुपर्छ। सबैसँग सहकार्यका लागि हामी तयार छौं।’ एमाले प्रतिपक्षका लागि सधैं तयार रहेको कार्कीले बताए।
एमाले मध्यावधिमा जान तयार रहेपनि अहिले मुलुकको आवश्यकता त्यो नभएको उनले बताए। विश्वासको मत लिनुअघि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने निर्णय गरेको कार्कीले बताए। 'प्रदेश निर्वाचन अहिले जनताका माग होइन। कतिपय घटनाले पनि जनतामाझ निर्वाचनको माहोल छैन। के कस्तो गरेर गर्न सकिन्छ, त्यसको लागि एमाले तयार छ। अरु दल पनि आउनपर्यो। यहाँ सरकारको कुरा रहेन अब,' उनले भने।
कार्कीले राजीनामा बुझाउने प्रतिवद्धता गरेसँगै सभामुख सिर्जना दनुवारले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेकी छन्। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतामा कार्की भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले आज विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत पाउनसक्ने अवस्था नभएपछि उनले राजीनामा दिन लागेका हुन्।