भरिँदै हिमताल, जोखिममा नेपाल–भारतका बस्ती
झापा : भारत सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमताल मंगलबार राति फुट्दा टिस्टा नदीमा बाढी बनेर बग्यो। नजिकैको एउटा बाँधबाट समेत थप पानी त्यसै समय छोडिएपछि बाढीले उग्ररूप लियो। पछिल्लो तथ्यांकअनुसार ४० जनाको मृत्यु भएको छ, १ सय ३ जना अझै बेपत्ता छन्। यो एउटा हिमताल फुट्दा निम्तिएको संकट थियो।
पछिल्लो समय कञ्चनजंघा हिमालमा निरन्तर हिउँ पग्लँदा र मौसमी परिवर्तनका कारण मुसलधारे वर्षा हुँदा नेपाल र भारतका हिमताल उच्च जोखिममा रहेको विज्ञहरू बताउँछन्। भारतको केन्द्रीय नापी विभागले पनि कञ्चनजंघा हिमाल क्षेत्रमा रहेका हिमतालले नेपाल र भारत दुवैतर्फ संकट निम्त्याउन सक्ने जनाएको छ। यो यसकै एउटा घटना भएको भारतीय जलवायु विज्ञ तथा वैज्ञानिक ए बनेर्जीले बताए।
केहीअघि हिमनदी, हिमताल र हिमाली हावापानीबारे अध्ययन गर्दै आइरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको एउटा अध्ययन रिपोर्टले पनि नेपाल हिमताल र हिमनदीबाट ठूलो जोखिममा रहेको देखाएको थियो। झन्डै ३ वर्ष लगाएर गरेको सो अध्ययनअनुसार कुनै पनि समय फुट्न सक्ने धेरै हिमतालको पहिचान भएको छ। सो अध्ययनले नेपालभित्रै तथा चीन र भारतमा रहेर पनि मानव बस्तीलाई क्षति पुर्याउन सक्ने तीन हजार ६ सय २४ ग्लेसियर हिमताल पत्ता लगाएको थियो।
यसमध्ये कोसी जलाधारअन्तर्गत धेरै हिमताल देखिएका छन्। कोसी बेसिनअन्तर्गत ६४ हिमताल भेटिएको छ। यस्तै, कर्णाली बेसिनमा एक हजार एक सय २८ र गण्डकी बेसिनमा ४ सय ३२ हिमताल छन्।
स्याटलाइट इमेज (भू–उपग्रहमार्फत लिइएको तस्बिर) र अरू धेरै माध्यमबाट गरिएको अनुसन्धानले ४७ वटा हिमताल कुनै पनि समय फुटेर नेपालतर्फको मानव बस्तीलाई ठूलो क्षति पुर्याउन सक्ने उच्च जोखिममा देखिएका छन्।
मंगलबार फुटेको ल्होनाक हिमताल ताल करिब साढे दुई किलोमिटर लम्बाइ र आधा किलोमिटर चौडाइमा फैलिएको छ। यसको गहिराई १० तले भवनको बराबर रहेको मानिएको छ। धेरै वर्ष पहिलादेखि नै त्यहाँका विज्ञहरूले यस क्षेत्रमा बनेका १४ वटा हिमतालहरूमध्ये ल्होनाक तालको पहिचान गरेका थिए। जुन हिमताललाई अति संवेदनशीलको सूचीमा राखिएको थियो।
केही वर्ष अघिसम्म यो सानो हिमताल थियो। तर, ग्लेसियर पानीको कारण यो तालको आकार वर्षौंदेखि असाधारण रूपमा तीव्र गतिमा विस्तार हुँदै गयो। यो हिमताल समुद्र सतहबाट ५ हजार २ सय मिटरको उचाइमा रहेको छ। भविष्यमा यो तालमा क्षमताभन्दा पानीको मात्रा बढी भयो वा बादल फुट्यो भने, यसले विनाश ल्याउँछ भनेर विज्ञहरूले पहिलै चेतावनी दिइसकेका थिए। त्यो चेतावनी अहिले सिक्किमे जनताका लागि साबित नै भयो।
केन्द्रीय नापी विभागले पनि यस स्थानको निरीक्षण गरी यो हिमताल विस्फोट भएर तल खसेको खण्डमा बाढीको उच्च जोखिम रहेको भनी जानकारी गराइसकेका थिए।
यो तालको बारेमा जतिपटक चेतावनी दिइएको छ, त्यो चेतावनी केही वर्षअघिको होइन, दशकौंदेखिको हो। किनभने, पहिलोपटक यसको तस्बिरहरू केन्द्रीय गुप्तचर एजेन्सी र संयुक्त राज्य वायु सेनाले सन् १९६० र १९७२ को बीचमा संकलन गरेका थिए।
त्यसपछि उनीहरूले यो ताललाई हिमनदीको मुखमा रहेको सुपरग्लासियल तालको रूपमा देखे। सन् १९७७ ल्यान्डस्याट कार्यक्रमको मल्टिस्पेक्ट्रल स्क्यानरमा यसलाई अति संवेदनशील तालको रूपमा पहिचान गरिएको थियो। सन् १९७७ मै यो तालको क्षेत्रफल १७ दशमलव ५४ हेक्टर थियो।
सन् २००८ मा मूल्यांकन गर्दा यो तालको क्षेत्रफल बढेर ८१ दशमलव १ हेक्टर भयो। सिक्किमको अस्तव्यस्त पहाडी क्षेत्रमा रहेको यो तालबाट पानी तीव्र गतिमा तल झर्ने सम्भावना रहेकाले यसलाई खतराको सूचीमा राखिएको थियो। दुई वर्षअघि अर्थात् सन् २०२१ मा यो ताल बढेर १२६ हेक्टर भयो।
जसको लम्बाइ साढे दुई किलोमिटर र चौडाइ ६ सयदेखि ७ सय मिटर बन्यो। जलवायु परिवर्तन असरले तालको विस्तार र पानीको मात्रा बढ्दै गएको कारण भारतका विज्ञहरूले चिन्ता व्यक्त गर्न थालिसकेका थिए। राज्यको रिमोट सेन्सिङ एप्लिकेसन सेन्टरका वैज्ञानिकहरूको टोलीले ५ वर्षअघि यो तालको पूर्ण अनुसन्धान गरेको थियो।