इजरायल आक्रमण : सुदूरपश्चिम विश्वविद्यालयमा सन्नाटा
टीकापुर : प्लालेस्टाइन विद्रोही समूह 'हमास'को आक्रमणमा परी केही विद्यार्थी घाइते भएपछि कैलालीको टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ एग्रिकल्चर कृषि विज्ञान संकाय शोकमा डुबेको छ ।
शनिबार भएको विद्रोहीको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि इजरायल गएका स्कुल अफ एग्रिकल्चरका विद्यार्थी भएको कृषि फर्मका विद्यार्थीहरू घाइते भएका हुन् ।
विद्यार्थी भएकै फर्ममा आक्रमण केही घाइते भएको र अन्य विद्यार्थी हताहत भएको खबरले सन्नाटा छाएको छ । स्कुल अफ एग्रिकल्चरका प्रमुख सुशील न्याउपानेले इजरायलमा भएको आक्रमणमा विद्यार्थी परेको घटनाले कृषि विज्ञान संकाय शोकमा डुबेको बताए । ‘कृषि विज्ञान संकायले आन्तरिक परीक्षा र पठनपाठन रोकेको छ,' प्रमुख न्याउपानेले भने, ‘यस्तो अवस्थामा कसरी पढाउनु ? हामी विद्यार्थीको अवस्थाको सोधीखोजीमै लागेका छौं ।’
न्याउपानेका अनुसार आक्रमणमा परी घाइते भएका तीन जना विद्यार्थीको उपचार भइरहेको छ । घाइते हुनेमा टीकापुरका धनबहादुर चौधरी, गोरखाका हिमाञ्चल कट्टेल र सल्यानका विधान सेजुवाल रहेका छन् । उनीहरूमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको न्याउपाने बताए ।
उनीहरू विद्रोही समूहको नियन्त्रणमा रहेको किवुज एलुमिनमा रहेको कृषि फार्ममा काम गर्थे । सोही ठाउँमा कार्यरत १७ जनामध्ये टीकापुरका विरेन्द्र चौधरी कुनै कुनै बेला सामाजिक सञ्जालमार्फत् सम्पर्कमा आउने गरेको न्याउपानेले जानकारी दिए ।
उनका अनुसार चौधरीले आफू सेनाको घेरामा रहेको जानकारी दिने गरेका छन् । अन्य विद्यार्थी भने सम्पर्कविहीन छन् । न्याउपानेले डेनी हमरमा रहेका ९ जना विद्यार्थी भने सम्पर्कमा आएको जानकारी दिए । उनका अनुसार सबै विद्यार्थी घरमा बसिरहेका छन् । उनीहरु सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पर्कमा आएको न्याउपानेले बताए ।
सम्पर्कमा आउनेमा बाजुराका रमेशबहादुर कार्की, रौतहटका विनोदप्रसाद साह, कैलालीका आभाष भट्टराई, कञ्चनपुरका नरेशसिँह भण्डारी, डडेल्धुराका लोकेन्द्र बिष्ट, कैलालीका रोहित नायक, रौतहटका निरञ्जन कुमार कुसहवा, कैलालीका अरविन्द कुमार चौधरी र बाँकेका उपेन्द्र जिसी रहेका छन्।
न्यौपानेका अनुसार सम्पर्कमा आएका विद्यार्थीहरूले बंकर नभएका कारण आफू असुरक्षित रहेको बताउँदै आएका छन् । निरन्तर भिडन्त भइरहेकाले कुनै पनि बेला आक्रमणमा पर्ने सम्भावना रहेको ती विद्यार्थीले बताएका छन् ।
कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिष्टारका ४९ जना विद्यार्थी मध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए । उनीहरूमध्ये १० जना छात्रा रहेका छन । उनीहरू १० महिनाका लागि इजरायल गएको न्यौपानेले बताए ।
विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो । कृषि विज्ञान संकायले कार्यक्रम अन्तरगत पहिलो पटक विद्यार्थी पठाएको थियो ।