इजरायलबाट मृतक नेपालीको शव र घाइतेको यथाशिघ्र उद्धार गर्न सरकारलाई ओलीको ध्यानाकर्षण
इजरायलमा द्वन्द्व
काठमाडौं : प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी द्वन्द्वमा परेर मृत्यु भएका नेपालीको शव र घाइतेहरुको यथाशिघ्र उद्धार गरी नेपाल ल्याउनुपर्ने बताएका छन्।
प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलविरुद्ध गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु र अरु घाइते भएको जानकारी पाएपश्चात ओलीले सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको र सबै शोकमा रहेको उल्लेख गरे। ओलीले ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरे। उनले घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शव ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘नेपालबाट लर्न एन्ड अर्न योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो।’ ओलीले सामाजिक सञ्जालमार्फत भने,‘दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ। हामी सबै शोकमा छौं । घाइतेको तत्काल उद्धार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शव ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली ! परिवारजनमा समवेदना ! ’