काठमाडौं : सरकारले विजयादशमी,शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्र्रिम टिकट बुकिङ खुला गरेको हो ।
घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । नयाँ बसपार्कमा गत वर्षहरुका तुलनामा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ ।
अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौला यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गरेका छन्। सरकारले दसैंका लागि देशका सबै क्षेत्रको यातायातको लागि रोड परमिट खुला गर्ने तयारी गरेको छ । हरेक वर्ष दसैं मनाउनका लागि सङ्घीय राजधानी काठमाडौंबाट २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दसैँमा घर जाने यात्रुको सहयोगको लागि काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ ।
कार्यालयका प्रवक्ता,प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्ष १३ स्थानमा राख्नेगरी तयारी भइरहेको राससलाई जानकारी दिए।
यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको छ । जसबाट अहिले अग्रिम टिकट वितरण भइरहेको छ ।
लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्ल दसैंमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको बताएका छन् । सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ ।
काठमाडौं महानगरपालिका–२६ गोँगबु विष्णुमती खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६८ भन्दा बढी जिल्लामा दैनिक एक हजार हाराहारीमा सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन् ।