१५/२० करोडले सेयर बजार ‘बेखुस’

मार्जिन प्रकृतिको सेयर कर्जाको सीमा बढाए पनि नेप्से राताम्ये, बेच्न तम्सिए लगानीकर्ता

१५/२० करोडले सेयर बजार ‘बेखुस’
सुन्नुहोस्

काठमाडौं :मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सीमा बढाइए पनि सेयर बजार बेखुसी देखिएको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३५.६७ अंकले घटेको हो।

गत बिहीबार नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर व्यक्तिगतका लागि १५ करोड र संस्थागतका लागि २० करोड बनाएको थियो। जसको प्रतिक्रिया आइतबारको बजारले देखाएको हो।

यसो त असोज मसान्तको दबाब पनि आइतबारको बजारले संकेत गर्दछ। आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमास सकिँदै गर्दा बैंकलाई ऋणको किस्ता बुझाउने तथा सरकारलाई कर बुझाउनुपर्ने हुन्छ। लगानीकर्ता तीनैवटा कारणले सेयर बिक्री गर्न चाहेको देखिन्छ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको बजार परिसूचक अन्तिमसम्मै सुधारको प्रयास नगर्दा नेप्से ऋणात्मक बनेको हो। नेप्से १.८२ प्रतिशतले घटेर १९२१.२४ अंकमा कायम भएको हो। यो बिन्दु एक महिनाकै न्यून बिन्दु हो। यसअघि गत जेठ २२ मा नेप्से १९०२ अंकमा पुगेको थियो। आइतबार कारोबारमा आएका २१३ स्क्रिप्टको मूल्य घट्दा नेप्से घटेको हो। यस दिन १६ स्क्रिप्टको मूल्य बढ्दा ४ वटाको स्थिर रहे। नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स ५.७९ अंकले घटेर ३६७.५७ अंक कायम भएको छ।

घटेको बजारमा दिनभर २८९ स्क्रिप्टको ५८ लाख १५ हजार १ सय ८९ कित्ता सेयर १ अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैयाँमा किनबेच भएका छन्। कारोबार रकम गत बिहीबारको तुलनामा ७० करोड बढी हो। बिहीबार १ अर्ब १० करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।

नेप्से घटेको दिन सबैभन्दा बढी बाराही हाइड्रोका लगानीकर्ताले कमाएका छन्। मूल्य बढेकामध्ये बाराहीको सेयर शीर्ष स्थानमा रह्यो। कम्पनीको सेयर मूल्य ९.५९ प्रतिशतले बढ्दा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको भाउ ९.४ प्रतिशतले बढेको छ। सयपत्री हाइड्रो, बीओके डिबेन्चर २०८६ र प्राइम डिबेन्चर २०८६ का धनी पनि कमाउनेको शीर्ष ५ मा परे।

यता दुई वटा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। हिमालयन लघुवित्त र गरिमा डिबेन्चरको भाउ १० प्रतिशतले घटेको हो। घलेम्दी हाइड्रो, मायाखोला हाइड्रो र मन्दाकिनी हाइड्रो मूल्य घट्ने सूचीमा शीर्ष पाँचमा रहे। कारोबार रकमका आधारमा शिभम् सिमेन्ट, रिलायबल नेपाल र नबिल बैंक अगाडि रहे। शिभम्को सर्वाधिक ६ करोड ७३ लाखको सेयर किनबेच हुँदा रिलायबलको ५ करोड ५७ लाख र नबिलको ५ करोड ३४ लाखको सेयर कारोबार भएको छ। सबैभन्दा बढी सानिमा बैंकको २ लाख ५० हजार कित्ता संस्थापक सेयर किनबेच भएको छ। कारोबार संख्याको आधारमा सिटिजन्स लाइफ अगाडि देखियो। कम्पनीको सेयर ७ हजार ३ सय ३१ पल्ट किनबेच भएको छ। दिनभर कुल ५९ हजार १ सय ७१ कारोबार भए।

नेप्से घटेको दिन लगानीकर्ताको कुल सम्पत्ति ५३ अर्बले घटेको छ। बिहीबार २९ खर्ब ८३ अर्ब ८८ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २९ खर्ब ३० अर्ब ४४ करोड रुपैयाँमा खुम्चिएको हो। नेप्से घटेको दिन समूहगत उपसूचक सबै राताम्ये बने। जलविद्युत् उपसूचक सर्वाधिक २.७२ प्रतिशतले घटेको छ। सबै समूहगत उपसूचकमा १ प्रतिशतको गिरावट आएको छ। बैंकिङ समूह १.४ प्रतिशत, विकास बैंक १.८९ प्रतिशत, वित्त समूह १.९९ प्रतिशत, होटल तथा पर्यटन समूह २.३५ प्रतिशत, लगानी समूह २.०१ प्रतिशत, जीवन बिमा समूह २.२८ प्रतिशत, उत्पादनमूलक समूह १.१८ प्रतिशत, लघुवित्त समूह १.६१ प्रतिशत, म्युचुअल फन्ड १.०८ प्रतिशत, निर्जीवन बिमा समूह १.८६ प्रतिशत, अन्य समूह १.६१ प्रतिशत र व्यापार समूह १.९६ प्रतिशतले घटेका छन्।


राजन लम्साल - उपाध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम 

नेपाल राष्ट्र बैंकको परिपत्रकै कारण आइतबार सेयर बजारमा लगानीकर्ताको मनोबल खस्किएको देखिन्छ। मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा नै हट्ने विश्वास थियो। सबैलाई सहज हुन्छ भन्ने थियो। कम्पनीको हकमा सञ्चालकले सेयरकर्जा नलिएको भएमात्र २० करोड लिन पाइने व्यवस्था छ। अर्थात् यदि पाँच जना सेयरधनी भएको कम्पनी छ, त्यसमा एकजनाले व्यक्तिगत १५ करोड सेयर कर्जा लिइसकेको छ भने कम्पनीले पाँच करोड मात्र लिन मिल्छ।

नेपाल राष्ट्र बैंकले अझै पनि कम्पनीलाई कर्जा लिन सजिलो बनाइदिएको छैन। कम्पनी केही व्यक्ति मिलेको खुलेको हुन्छ, पुँजी बढी हुन्छ, विश्लेषक/विज्ञ राखिएको हुन्छ, जोखिम बहन गर्ने क्षमता हुन्छ। तसर्थ कम्पनीलाई सीमा तोक्नु हुँदैन। व्यक्तिको नाममा तीन करोडमात्र सीमा बढाउनाले बजारलाई कसरी बल मिल्छ ? लगानीकर्ताको अपेक्षा सीमा हट्छ भन्ने नै थियो। हटाउनुको सट्टा १२ बाट १५ बढाउँदा तात्विक प्रभाव परेन। अब बजारबाट खासै लाभ नहुने भयो भनेर लगानीकर्तामा निराशा व्याप्त देखिन्छ। व्यक्तिको हकमा १२ करोड भएपनि ठीकै छ तर कम्पनीको हकमा सीमा तोक्नु नहुने लगानीकर्ताको एकमत छ। 


ताराप्रसाद फुल्लेल- उपाध्यक्ष, सेयर लगानीकर्ता संघ नेपाल

सेयर बजारमा असोज मसान्तको प्रभाव देखिन्छ। यो अवधिमा बैंकलाई ब्याज तिर्नुपर्ने हुन्छ। लगानीकर्ता बेचेर पैसाको जोहो गर्न चाहेको देखिन्छ। केही दिन अझै असोज मसान्तको प्रेसर देखिन सक्छ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सीमा बढाउँदा बजारमा सकारात्मक प्रभाव पर्नुपर्ने थियो तर त्यसो हुन सकेन। सेयर धितो कर्जा लगानीकर्ताले चाहेअनुसार खुकुलो नभए पनि केही हदसम्म सजिलो बनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.