हट्यो टुकी, सोलार बत्ती झलल

हट्यो टुकी, सोलार बत्ती झलल

बागलुङ : बागलुङको मुख्य पर्यटकीयस्थल हो ‘ढोरपाटन’। पर्यटकीयस्थल ढोरपाटनमै पर्छे ‘छेन्तुङ गाउँ’। पर्यटकीयस्थलको रूपमा चिनिएकोे ढोरपाटनको विकट गाउँ छेन्तुङका बासिन्दाका लागि रातिको उज्यालोका लागि टुकी बत्ती नै एक सहारा थियो। केही वर्षअघि मात्र सडक सञ्जालसँग जोडिए पनि विद्युत् नपुगेकै कारण त्यहाँका स्थानीयले जंगलमा संकलन गरेको झिंजा र टुकीको भरमा रात कटाउनुपर्ने बाध्यता थियो। 

छेन्तुङ गाउँ ढोरपाटनको बौध गुम्बा जाने बाटोमै पर्छ। देशका विभिन्न स्थानबाट आउने आन्तरिक पर्यटक सोही बाटो गुम्बा पुगे पनि अन्धकारमा रात बिताउँदै आएका स्थानीयको पीडा कमैले देखे होलान्। मोबाइल फोनको टावरले बल्ल बल्ल काम गर्ने छुन्तुङमा विद्युत् नहुँदा मोबाइल चार्ज गर्नकै लागि चार किलोमिटरको यात्रा गरेर ढोरपाटनको पाखाथर गाउँमा जानुपर्ने रहर थिएन। 

पहिले छेन्तुङवासी ६ महिना (लेक) र ६ महिना (बेसी) दोगाडी, मोराङ, छालहाल्ना, बोबाङलगायतका गाउँमा बस्ने गरे पनि अहिले सडक पुगेपछि भने कोही बाह्रैमहिना र कोही नौ महिना छेन्तुङमा बस्दै आएका छन्। छेन्तुङवासीले विद्युत् बालेर रात काट्नको लागि पनि बेसी झर्नुपर्छ। 

गण्डकी प्रदेशको ‘उज्यालो गण्डकी प्रदेश अभियान’अन्तर्गत अहिले ढोरपाटन–६ छेन्तुङका ३ सय ९१ घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि (सोलार) जडान सुरु गरिएपछि स्थानीय खुसी भएका छन्। गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको ९० र स्थानीयको १० प्रतिशत लगानीमा सोलार जडान कार्य अगाडि बढाइएको हो। 

घरमा सोलार जडान भएपछि ढोरपाटन–६ की ६४ वर्षीया मैयाँ भण्डारी जीवन सहज भएको महसुस भएको छ। जंगलमा खोजेर ल्याएको झिंजा बालेर रात कटाउँदै आएकी भण्डारीले सोलार जडानपछि खुसी लागेको बताइन्। उनले यसअघि दिनभरि जंगलमा गएर बाँङ, दियालो, सल्लाको खोटो जम्मा गर्ने र रातमा त्यही बालेर उज्यालो गराउने गरेको सुनाइन्। ‘हामीले जंगलमा झिंजा खोजेर ल्याएर त्यही बालेर रात काट्दै आएका थियौं,’ भण्डारीले भनिन्। उनले बेसी गाउँमा जाँदा मात्र बिजुली बालेर रात काट्ने गरे पनि लेक (छेन्तुङ)मा आएपछि अन्धकारमा बस्दै आएको बताइन्।

भण्डारी मात्र होइन, छेन्तुङकै ५९ वर्षीय छविलाल सिर्पालीले सोलार पाएपछि विकासको प्रत्याभूति गर्न पाएको बताए। उनले नेताहरूले धेरै आशा देखाउने गरे पनि अझैसम्म छेन्तुङवासीले विकासको अनुभूति गर्न नपाएको बताउँदै प्रदेश सरकारले सोलार दिँदा अब विकास हुन्छ कि भन्ने लागेको सुनाए। ‘केही समयपहिले सडक आएको थियो,’ सिर्पालीले भने, ‘विद्युत् नहुँदा अन्धकारमा रात कटाउनुपर्ने बाध्यता यथावत् थियो। अहिले सोलार पाएका छौं। अब विस्तारै विकाससँग जोडिन पायौं भनेर खुसी लागेको छ।’ बेलुकाको समयमा बालबालिकाले नपढी सुत्ने गरेको बताउँदै अब सोलार जडान भएपछि रातिमा पढ्न पाउनेमा ढुक्क रहेको बताए।

गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र स्थानीयको लगानीमा सोलार बत्ती जडान गर्न लागिएको मन्त्रालयको सचिव इन्जिनियर गणेशराज वस्तीले बताए। उनले १ घरधुरीमा १५ हजार ५ सय  रुपैयाँको लागतमा सोलार बत्ती जडान गर्न लागिएको बताउँदै त्यसमा प्रदेश सरकारले १३ हजार ९ सय रुपैयाँ र स्थानीय उपभोक्ताले १ हजार ५ सय रुपैयाँ भुक्तानी गर्ने बताए। प्रत्येक परिवारलाई ५ वटा बल्ब र ५० वाटको सोलार जडान गरिने निर्णय भए पनि कम्पनीसँगको सल्लाहमा ५५ वाटको सोलार बत्ती जडान गरिने सचिव वस्तीले जनाए।

सोलार बत्ती जडानका लागि गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले उद्घाटन गरिकी छिन्। उनले आगामी वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्नेगरी कार्य अगाडि बढाइएको बताइन्। ढोरपाटन क्षेत्रका सयौं परिवारले टुकीकै भरमा रात कटाउने गरेकाले प्रदेश सरकारसँगको सहकार्यमा सोलार बत्ती जडान गर्ने व्यवस्था गरेको ढोरपाटन नगरपालिका–६ का वडाध्यक्ष उमेश बुढाले बताए। उनले प्रदेशको उज्यालो गण्डकी कार्यक्रम थाहा पाएपछि छेन्तुङमा सोलार बत्ती जडानका लागि पहल गरिएको सुनाए। ढोरपाटन–६ छेन्तुङमा सोलार बत्ती जडानका लागि मन्त्रालयले स्मार्ट सोलार प्रालि काठमाडौंसँग सम्झौता गरेको छ। प्रालिका प्रतिनिधि गणेश खड्काले दसैं अगाडिसम्ममा सोलार बत्ती जडान गर्ने लक्ष्य राखिएको र नसकिएमा दसैं सकिएलगत्तैबाट जडान गरिने बताए।

गण्डकी प्रदेश सरकारको २०७४ फागुन ४ मा पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्र गण्डकीलाई उज्यालो प्रदेश घोषणा गर्ने महत्वपूर्ण निर्णय गरेको थियो। दुई वर्षको लक्ष्य लिएकोमा ६ वर्ष बितेपछि बल्ल पूरा हुने भएको छ। ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको तथ्यांकअनुसार गण्डकी प्रदेशमा ५ लाख ७४ हजार ७ सय ९८ घरधुरीमा अर्थात् ९९.५० प्रतिशतमा विद्युत् पुगेको छ। बिजुली पुग्न २ हजार ८ सय ८४ घरधुरीमा मात्रै बाँकी छ। मन्त्रालयले केन्द्रीय विद्युत् लाइनसहित साना तथा लघुजलविद्युत् आयोजना र नवीकरणीय ऊर्जामार्फत गण्डकी प्रदेशभित्र उज्यालो बनाउने काम गरिरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.