गुल्मीमा लागूऔषध र मदिरा नियन्त्रण गर्न माग
गुल्मी : गुल्मीमा बढ्दो लागूऔषध र मदिरा नियन्त्रणको माग गरेका छन्। सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सहभागीले पछिल्लो समय समाजमा बढ्दो मादक पदार्थ तथा लागूऔषध सेवनले घटना निम्त्याएको र यसको न्यूनीकरण गर्नुपर्ने माग राखेका छन्।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले बढ्दो मादक पर्दाथ तथा लागूऔषध सेवन, चाडपर्वको अवसरमा हुने जुवातास, रेसुगां विमानस्थलमा सुरक्षा, थप सचेतनामूलक कार्यक्रमसहित समाजमा शान्ति सुरक्षाको माग राखेका थिए।
रेसुगां नगरपालिका १० वडा कार्यालयको सभाकक्षमा प्रहरी निरीक्षक किरण सापकोटाले गत र चालू आर्थिक वर्षमा प्रहरी कार्यालय र शाखाले गरेका कामको जानकारी दिएका थिए।
सार्वजनिक सुनुवाइ सुशासनको मेरुदण्ड भएको बताउँदै प्रहरीले गरेका सेवा प्रवाह जान्न पाउनु नागरिकको दायित्व रहेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए।