२० प्रतिशतको दृष्टि कमजोर
काठमाडौं : नेपालमा ५० वर्षभन्दा माथिका जनसंख्याको २० प्रतिशत जनसंख्यामा दृष्टि कमजोर रहेको पाइएको छ। विश्व दृष्टि दिवसका सन्दर्भमा मंगलबार काठमाडौंमा गरेको एक कार्यक्रमको आयोजना गर्दै तिलगंगा आँखा प्रतिष्ठानले पछिल्लो अनुसन्धान अनुसार नेपालमा ५० वर्षमाथिका २० प्रतिशतमा दृष्टि कमजोर पाइएको जनाएको हो।
त्यस्तै दृष्टिबिहीन गराउने रोगहरूमा मोतिविन्दु नै पहिलो कारण रहेको प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा चिकित्सकहरूले चश्माको जाँच तथा प्रयोग पर्याप्त नहुनाले गर्दा दृष्टिदोष मुख्य समस्याका रूपमा रहेको जानकारी दिएका छन्।
पुरुषको तुलनामा महिलामा दृष्टिबिहिनता बढेको र नेपालको अपांगता भएकाहरूमा दृष्टिगत अपांगता मुख्य रहेको तिलंगगा अस्पतालका डा सिर्जना अधिकारीले बताइन्। ५ जना दृष्टिबिहिन बालबालिका मध्ये उपचार पाए ४ जनाको दृष्टि फिर्ता ल्याउन सकिने भएपनि समयमा नै उपचार हुन नसकेको उनले बताइन्।
त्यस्तै तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ नेत्र विशेषज्ञ डा रिता गुरुङले अहिले मुलुकभरका स्वास्थ्य संस्थामा आँखा सम्बन्धी चिकित्सकहरूको कमी नभएको बताइन्।
अक्टोबर महिनाको दोस्रो बिहीबारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै प्रतिष्ठानले विश्व दृष्टि दिवस मनाउदै आएको छ। यस वर्षको विश्व दृष्टि दिवस 'कार्यस्थलमा आँखालाई माया गरौं' भन्ने नारासहित मनाइँदै छ।