२७८ यात्रु बोक्ने क्षमताको जहाज उद्धार लागि इजरायल जाँदै
काठमाडौं :नेपाल वायुसेवा निगमले दुवईबाट इजरायल उडान भर्नका लागि अनुमति लिने प्रक्रिया थालेको छ। निगमले इजरायल-प्यालेस्टाइन युद्धका कारण अलपत्र परेका नेपालीहरूको उद्धारका लागि वाइड बडी जहाज तेल अविव अन्तर्राष्ट्रिय विमानस्थलमा पठाउने भएको हो।
नेपालबाट दुवईसम्म नियमित उडान भर्ने र जहाज उद्धारका लागि दुवईबाट तेल अविव जानेछ।
नागरिक उड्ड्यन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले दुवईबाट इजरायल उडान भर्ने अनुमति लिन निगमले प्रक्रिया थालेको बताए। नियमित उडानमार्फत् यात्रु लिएर दुवई जानेछ। त्यहाँ पाइलटसहितका क्रुमेम्बर तयारी अवस्थामा छन्,' उनले अन्नपूर्णसँग भने, 'दुवईबाट इजरायल जानका लागि सम्बन्धित मुलुकहरूबाट उडान अनुमति लिने प्रक्रियामा छ। प्रक्रिया पूरा भएपछि जहाज इजरायल जानेछ।'
वाइड बडीसँग २७८ यात्रु बोक्न सक्ने क्षमता छ। सो जहाज इजरायलबाट नेपालीहरूको उद्दार गरेर भोलि नै काठमाडौं फर्कनेछ। नेपाल सरकारले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई ल्याउन आज राति नेपाल एयरलाइन्सको विमान पठाउन लागेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलबाट नेपालीको उद्धार गर्न नेपाल एयरलाइन्सको जहाज आज राती ११ बजे उड्नेछ। परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनलाई मंगलबार टेलिफोन गरेर इजरायलमा रहेका नेपालीलाई फर्काउन र मृतकको शव ल्याउने प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेका थिए।
परराष्ट्रमन्त्रालयका अनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयरगिभरका रुपमा कार्यरत छन्। त्यहाँ २६५ जना नेपाली विद्यार्थीहरू अध्ययनरत छन्। जसमा हमासको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १० जनाको विद्यार्थीको मृत्यु भएको हो।
इजरायलमा अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत गएका थिए। तीमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना,त्रिभुवन विश्ववविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए। आक्रमणमा परी ४ जना घाइते विद्यार्थीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने एकजना सम्पर्कविहीन रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार ३ सय ८० जनाले स्वदेश फिर्ता हुन् ‘अनलाइन रजिस्ट्रेसन’गरेका छन्।