सुरक्षित महसुस गरेरै विद्यार्थी पठाएका थियौं

सुरक्षित महसुस गरेरै विद्यार्थी पठाएका थियौं

हमासको आक्रमणपछि हाम्रा विद्यार्थी इजरायलमा बस्ने मनस्थितिमा छैनन्। सुरक्षित तवरबाट स्वदेश फिर्ता गर्नुपर्छ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, स्कुल अफ एग्रिकल्चरका विद्यार्थीमाथि इजरायलमा भएको आक्रमणको घटनाले विश्व विद्यालयमा कस्तो असर परेको छ ? 

प्यालेस्टाइन हमास समूहको आक्रमणबाट इजरायलमा भएको घटनाले त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय शोकमा छ। ठूलो क्षति पुगेको छ। मर्माहित अवस्थामा छौं। सिंगो देश स्तब्ध छ। 

विश्वविद्यालयका पहिलो ब्याचका विद्यार्थीहरूमाथि इजरायलमा आक्रमण र हत्या हुँदा अरू विद्यार्थीमा कस्तो असर परेको छ ? 

यहाँका विद्यार्थीको मानसिक अवस्था साह्रै नै विक्षिप्त छ। पहिलो ब्याचका विद्यार्थीहरू आठौं सेमेस्टरका शैक्षिक कार्यक्रमहरू सकेर नतिजाको पर्खाइमा थिए। उनीहरूमाथि जुन हमला भएको छ, यहाँ रहेका अरू विद्यार्थीमा पनि सन्त्रास छाएको छ। विद्यार्थीलाई साह्रै नै पीडाबोध भएको छ। 

इजरायली राजदूत हनन गोडर नै दुईपटक टीकापुर पुगेर इजरायलमा विद्यार्थी पठाउन पहल गर्नुभएको थियो। त्यतिबेला इजरायल जाने विद्यार्थीमा उत्साह कस्तो थियो ? 

इजरायलका महामहिम राजदूत टीकापुरमा २१ मंसिर ०७९ र ८० असार २० गते गरी दुईपटक आउनुभयो। इजरायलका विभिन्न सम्भावनाबारे जानकारी गराउनुभयो। इजरायल पठाउने विद्यार्थीको अन्तर्वार्ता र छनोटलगायतका प्रक्रियामा सहभागी हुनुभयो। राजदूत नै उपस्थित भएकाले विद्यार्थीमा निकै उत्साह थियो। त्यही उत्साह र जोशका साथ सुन्दर भविष्यको कल्पना गर्दै विद्यार्थीहरू इजरायल गएका थिए। 
 
इजरायलको ‘लर्न एन्ड अर्न’ भनेको कस्तो कार्यक्रम हो ? 

इजरायल कृषिमा निकै सम्पन्न र धेरै प्रगति गरेको देश हो। त्यहाँका कृषि फार्म तथा उद्योगमा काम गर्न इजरायलले विभिन्न देशका विभिन्न विश्वविद्यालयहरूसँग सहकार्य गरिरहेको हुन्छ।

लर्न एन्ड अर्न कार्यक्रम भनेको विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूलाई इजरायलमा लैजाने र त्यहाँ ‘काम गर्दै सिक्ने र कमाउने’ कार्यक्रम हो। यसअन्तर्गत विद्यार्थीहरूलाई एकदिन क्याम्पसमा पढाउने र पाँचदिन प्राक्टिकल अर्थात् विभिन्न कृषि फार्म तथा उद्योगहरूमा काम गर्ने अवसर दिइन्छ। यसैअन्तर्गत बीएस्सी एजी ग्राजुएट भएका विद्यार्थीहरू अथवा डिप्लोमा पढ्दै गरेका विद्यार्थीहरू इजरायल गएका हुन्।

इजरायलको पछिल्लो घटनाले त यो कार्यक्रमलाई नै बेफाइदा पुर्‍यायो नि ? 
यस कार्यक्रमअन्तर्गत गएका विद्यार्थीमाथि हमास समूहले आक्रमण गर्‍यो। केही विद्यार्थीको अनाहकमा ज्यान गयो। यो घटना अत्यन्तै दुःखद् हो। जुन उद्देश्य राखेर हामीले विद्यार्थीहरूलाई पठाएका थियौं, त्यो उद्देश्य प्राप्त गर्न नसक्दा निकै दुःखी छौं। इजरायल आधुनिक विकसित देश हो।

सुरक्षाका केही मुद्दाहरू पहिले पनि उठेका थिए। तर, त्यहाँको सुरक्षा व्यवस्था निकै नै बलियो र प्रभावकारी छ भन्ने विश्वासका साथ हामीले विद्यार्थी पठाएका थियौं। 

इजरायलमा गएर सिक्ने र फर्केर आएपछि नेपालकै कृषिको आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका समाचार हामीले सुनेका थियौं। त्यो हिसाबले पनि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान विषयमा पढिरहेका विद्यार्थी एक्सपोजर होऊन भन्ने हाम्रो चाहना थियो। जुन पवित्र उद्देश्य राखेका थियौं, त्यो पूरा भएन। निकै दुःखी छौं। 

इजरायलमा रहेका विद्यार्थीले अझै पनि सुरक्षित महसुस गरिरहेका छैनन्। उनीहरूलाई स्वदेश फर्काउन विश्वविद्यालयको के पहल गरिरहेको छ ? 

विद्यार्थीको सुरक्षाप्रति एकदमै संवेदनशील, चिन्तित छौं। इजरायल गएका विद्यार्थी भनेका आठौं सेमेस्टरको नतिजा पर्खिरहेका विद्यार्थी हुन्। उनीहरू छिट्टै नै ग्राजुयसन गर्दै छन्। उनीहरू देशका कर्णधार हुन्।

कृषि क्षेत्रलाई हाँक्ने एउटा आशालाग्दो पुस्ता हो। जुन ठाउँमा विद्यार्थीहरूलाई हामीले पठाएका थियौं, ती ठाउँ असुरक्षित बनेको र केही ठाउँमा अझै पनि बम बारुद भइरहेको भन्ने जानकारी प्राप्त भएको छ। ती ठाउँबाट विद्यार्थीलाई सुरक्षित स्थानमा लैजानका लागि हामीले निरन्तर पहल गरिरहेका छौं।

परराष्ट्र मन्त्रालय, नेपाल सरकार, इजरायल राजदूतावास, इजरायलस्थित नेपाली राजदूतावासलाई निरन्तर भनिरहेका छौं, आग्रह गरिरहेका छौं। हामी सबैको पहलबाट विद्यार्थीहरू सुरक्षित स्थानमा पुगेका छन्। अब, उनीहरूलाई जतिसक्दो चाँडो स्वदेश फिर्ता ल्याउनुपर्छ। 

विद्यार्थीको अन्तर्वार्ता र छनोटलगायतका प्रक्रियामा इजरायली राजदूत नै सहभागी हुनुभएको थियो।

इजरायलमा ज्यान गुमाएका र घाइते भएका विद्यार्थीका अभिभावकलाई कसरी सान्त्वना दिइरहनु भएको छ ? 

आक्रमणमा केही विद्यार्थीको दुःखद् निधन भएको छ। हामी परिवारजनलाई भेट्न गयौं। यस क्षेत्रबाट नजिकै पर्ने बौनियाँ–३ कैलालीका आशिष चौधरी र घोडाघोडी–४ जनकपुरका नारायणप्रसाद न्यौपानेको घरमा पुग्यौं। त्यहाँ पुग्दा परिवारहरूमा रुवाबासी थियो। विद्यार्थीहरू ती घरका सहारा थिए।

जुन दुःख, परिश्रमले छोराछोरीलाई पढाएर, हुर्काएर योग्य नागरिक बनाउनुभयो, उनीहरू नै विदेशी भूमिमा गएर मृत्युवरण गर्नुपर्दा परिवारमा कस्तो असर परेको होला ? ती परिवारलाई अपूरणीय क्षति पुगेको छ। उहाँहरूमा कति दुःख परेको छ, हामी अनुमान गर्न पनि सक्दैनौं। शब्दमा बयान गर्न नसकिने पीडा परेको छ। 

द्वन्द्वमा फसेको देशमा विद्यार्थी पठाउनु अघि ध्यान नपुगेको हो कि ? 

अहिलेको समयमा यो प्रश्न स्वभाविक हो। तर, हामीले विगतको इतिहास हेर्‍यौ। इजरायलमा विभिन्न विश्वविद्यालयबाट विद्यार्थी, विभिन्न सहकारीबाट इन्टर्नसीप र तालिम, हेल्थकेयर र विभिन्न रोजगारीका लागि मान्छेहरू जाने गरेका थिए।

रोजगारका लागि नेपाली नागरिकहरू त्यहाँ जानु परेको तितो यथार्थता छर्लंगै छ। कृषिमा सबैभन्दा राम्रो उन्नति, प्रगति तथा आधुनीकरणमा पनि इजरायल धेरै नै अगाडि छ। विगत केही वर्षहरूको तथ्यांक हेर्दा पनि त्यहाँको सुरक्षा एकदमै बलियो देखिन्थ्यो। 

नेपालमै कृषि विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलाई प्राक्टिकल दिन सकिँदैन र ? 

विश्वविद्यालयमा विद्यार्थीको संख्या एकदमै कम छ। अध्ययनका लागि विदेशका विश्वविद्यालयहरू रोजाइमा पर्न थालेका छन्। इजरायलको यो घटनाले विदेशी भूमिमा गएर परिश्रम गर्नुभन्दा पनि स्वदेशमै परिश्रम गर्ने, यहीं पसिना बगाउने र यहाँबाट नै आयआर्जन गर्ने खालको नीति राज्यले बनाउनुपर्ने जरुरी देखियो।

विश्वविद्यालयले पनि सरकारको नीतिलाई अंगिकार गर्न सक्यो भने पक्कै पनि नेपालकै विभिन्न फार्म तथा कृषि कम्पनीमा विद्यार्थी पठाउन सकिन्छ। अथवा उनीहरूलाई राज्यले रोजगारीको अवसर दिन सकेको खण्डमा पक्कै पनि विद्यार्थीहरू देशमै रहेर सेवा गर्न सक्ने वातावरण बन्छ। 

गाजा जस्तो द्वन्द्वग्रस्त क्षेत्र वरिपरि त विद्यार्थी नपठाएको भए हुन्थ्यो जस्तो लाग्दैन ? 

इजरायल भनेको निकै सुरक्षित देश भनेर हामी बुझ्छौं। इजरायलको डिफेन्स सिस्टम र एन्टी मिसायल सिस्टम अत्यन्तै प्रभावकारी मानिन्छ। त्यो हिसाबले इजरायल साँच्चिकै सुरक्षित छ भन्ने हामीलाई लागेको थियो। तर, यो घटनाले विश्व नै झस्केको छ।

प्यालेस्टाइन र इजरायलबीच धेरै लामो समयको द्वन्द्व हो। यो हामी सबैलाई थाहै नै छ। तै पनि इजरायलले आफ्नो सुरक्षा प्रणालीलाई मजबुद बनाएको छ, त्यहाँ विद्यार्थीहरू सुरक्षित छन् भनेर इजरायलका राजदूतदेखि लिएर सम्पूर्ण सम्बन्धित निकायले पनि हामीलाई प्रत्याभूति गराएका थिए। विद्यार्थीहरू त्यहाँ सुरक्षित छन्, हुन्छन् भन्ने लागेर नै हामीले पठाएका हौं। हजारौंको संख्यामा विद्रोहीहरूभित्र छिरेर आक्रमण गरेको घटनाक्रमले विश्व झस्केको छ। यो नयाँ खालको घटनाक्रम हो। 

हमासको आक्रमणपछि हाम्रा विद्यार्थी इजरायलमा बस्ने मनस्थितिमा छैनन्। सुरक्षित तवरबाट स्वदेश फिर्ता गर्नुपर्छ। एकजना विद्यार्थी विपिन जोशी बेपत्ता छन्। उनको अवस्था के छ ? कहाँ छन् ? उनको जतिसक्दो चाँडो खोजी होस्। ज्यान गुमाएका विद्यार्थीको शव छिटोभन्दा छिटो ल्याएर परिवारलाई बुझाउन सरकारसँग माग गर्छु। 

प्रस्तुति : परमानन्द पाण्डे
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.