गुल्मी महोत्सवमा स्थानीय व्यापारीलाई स्टलमा ३० प्रतिशत छुट
गुल्मी : आगामी कात्तिकमा हुने प्रथम ऐतिहासिक गुल्मी महोत्सवमा स्थानीय व्यापारीलाई ३० प्रतिशत छुट दिइने भएको छ। पर्यटन तथा उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको आयोजकले जनाएको छ।
महोत्सवमा अटो मोबाइल्सका लागि ५० हजार, बैंक तथा वित्तीय संस्थालाई ३० हजार, होटल तथा रेष्टुरेण्टका लागि ४० हजार र जनरल व्यापारिक स्टलका लागि २२ हजार ५ सय शुल्क तोकिएको गुल्मी उद्योग संघ उपाध्यक्ष जनक पन्थले जानकारी दिए।
'मेलामा २ सय ५० वटा स्टल रहन्छ त्यसका लागि बुकिङ खुला गरेका छौं। उपाध्यक्ष पन्थले भने 'महोत्सवको माध्यमबाट उद्योगलाई माथि उठाउन स्थानीय व्यापारीलाई ३० प्रतिशत छुट दिने निर्णय गरेका छौं।'
प्रथम ऐतिहासिक गुल्मी महोत्सव आगामी कार्तिक १५ देखि २५ गतेसम्म चल्ने छ। स्थानीय पहिचानलाई चिनाउने र देशव्यापी प्रचारप्रसार गर्ने लक्ष्य बोकेको महोत्सवमा एक लाख दर्शक भित्र्याउने र ६० करोड बराबरको कारोबार गर्ने आयोजकले अपेक्षा लिएको छ।