झडपको स्थिति आएपछि मंगोलनेशनल पार्टीको प्रदेश अधिवेशन बिथोलियो
परासी : झडपको स्थिति सिर्जना भएपछि मंगोलनेशनल अर्गनाइजेशन पार्टीको लुम्बिनी प्रदेश अधिवेशन बिथोलिएको छ। पार्टीले बिहीबार नवलपरासीको सदरमुकाम परासीमा ‘लुम्बिनी प्रान्तीय विशेष अधिवेशन’ राखेको थियो।
अधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि र कार्यकर्ताहरूले बाइपास रोडबाट जुलुस निकालेका थिए। जुलुसमा लेखिएका नाराहरूप्रति असन्तुष्ट जनाउँदै अकस्मात जम्मा भएका स्थानीयबासीको समुहबीच घण्टाघर चोकमा झडपको स्थिति सिर्जना भएको थियो।
राष्ट्रिय झण्डा र राष्ट्रिय जनावरलगायत विभिन्न विषय र मागका बारेमा लेखिएका नाराप्रति स्थानीयको समूहले आपत्ति जनाउँदै भनाभन हुन थालेपछि दुई समूहबीच झडपको स्थिति सिर्जना भएको हो। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको थियो।
परासीमा अधिवेशन भए ठूलो घटना हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै सुरक्षा निकायले अधिवेशन सार्न भनेपछि अधिवेशन स्थगित गरिएको हो। शान्तिपूर्ण रूपमा जुलुस निकाल्दा अर्को समुहले बिथोल्ने प्रयास गरेको भन्दै सुरक्षा निकायको अनुरोध र केन्द्रीय समितिको निर्देशनअनुसार अधिवेशन स्थगित गरिएको पार्टीका जिल्ला सल्लाहकार इन्द्रबहादुर तामाङले जानकारी दिए।
स्थगित अधिवेशन कहाँ र कहिले भन्नेबारे छलफल गरेर तय गरिने तामाङले बताए। पार्टीको लुम्बिनी प्रदेश समितिको नेतृत्व चयन गर्न अधिवेशन राखिएको थियो।