‘अटोफेजी’ उपवास बस्ने कि ?
दसैं आयो ! खाउँला पिउँला। ‘...छुट्टै बसौंला। आहानै छ यस्तो। तर दसैंमा छुट्टै बस्न त हामीले बिर्सिसकेका छौं। व्रत, उपवास भनेको त एकादेशको कुरा बन्छ दसैंमा। र त व्रत बस्नुपर्ने दसैंको एकादशीको नामै गिद्दे एकादशी। त्यसैले सायद एउटा उपहार छ दसैंलाई त्यो पनि जापानीको ! छुट्टै बस्ने वा अति भोजन र माछामासुबाट टाढा बस्न बिर्सेका हामीलाई टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजीका जापानी सेल जीवशास्त्री योसिनिरी ओसुमीको सुझावसहित सूचना छ। हाम्रा ऋषिमुनिले चलनमा ल्याएको परम्परागत व्रत वा उपवासलाई ‘नयाँ बोतलमा पुरानो रक्सी’ भने झैं नाम दिएछन्, ‘अटोफेजी’।
अटोफेजी’ व्रतमा २४ वा ४८ घण्टा पानीमात्र खाएर उपवास बस्दा शरीरका सेलभित्र हरेक काम नलाग्ने फोहोर वा विषादी हटाएर यसलाई पुनः सुचारु गर्न सहयोग गर्छ रे। साथै हाम्रा तनाव, अन्य रोग हटाएर यन्त्रिक शरीरलाई सफा गरेर आयु वृद्धि पनि गर्छ रे ! हेर्नोस् त फाइदा ः शरीरका सेलसेलभित्रका हरेक काम नलाग्ने फोहोर वा विषादी हटाएर अल्जाइमर वा पार्किन्सनजस्ता रोग निको पार्न सहयोग गर्छ। सेललाई प्रशोधन गरेर नवजीवन प्रदान गर्छ। शरीरलाई मर्मत गरेर ऊर्जावान् बनाउँछ। नयाँ सेल बनाएर शीघ्र स्वास्थ्य लाभ गर्न सहयोग गर्छ। अटोफेजीबाट क्यान्सरजस्ता जघन्य रोगको उपचार हुन सक्छ। पाचन प्रणालीलाई चुस्त बनाउँछ। डीएनएलाई बिग्रिन दिँदैन।
अटोफेजीले शरीरलाई जोगाउन सेल परिवर्तन गर्छ। सेलहरूलाई जवान बनाइदिन्छ र मानिसको आयु बढाइदिन्छ। खाना नपाएका बेलामा पनि सेलसम्बन्धी सामग्रीलाई टुक्र्याउँछ। त्यसलाई फेरि शरीरमा पठाएर आवश्यक प्रक्रिया पूरा गर्छ। यो प्रक्रिया लामो समयसम्म त रहँदैन तर पोसिलो खाना प्राप्त गर्न समय थप गरिदिन्छ। यसले आजको वैज्ञानिक युगमा क्यान्सरलाई समेत खतरामुक्त पारिदिने दाबी भएको छ। त्यसैले वैज्ञानिकहरूले अटोफेजी उपवासलाई क्यान्सरको उपचारका निमित्त प्रयोगमा ल्याउने भएका छन्।
अझ आहारविहारको परिवर्तनले त अटोफेजीलाई झन् बलवान् बनाइदिन्छ। यो नयाँ नामको उपवासका बारेमा धेरै वैज्ञानिक अनुसन्धान भइरहेछन् र स्वास्थ्यमा यसको प्रभाव बढेको छ। तपाईं अटोफेजीलाई प्रयोगमा ल्याउन चाहनु हुन्छ होला। तर तपाईं हृदयरोगी, सुगर, प्रेसरको बिरामी हुनुहुन्छ भने डाक्टरको सल्लाह लिनु अवश्य पर्छ। अनि सन्तानका आमा वा गर्भाधान अवस्थाका नारीहरूले त डाक्टरको सल्लाहबिना उपवासको थालनी गर्नै मिल्दैन।
खाना कति, कसरी र कति समयको फरकमा खाने ? एकै दिन वा एकै पटकमा यति धेरै खाँदा के होला ? यो सोच्न सिकाएन परम्पराले। अरूबेला आदर्शका गफ हाँक्ने र मारकाटका खिलापमा उत्रने वेद, उपनिषद् र कर्मकाण्डका ठेकेदार हौं भन्ने वर्ग पनि अहिले तैं चुप मैं चुप। ‘बसुदैव कुटुम्बकम्’का मन्त्र भनाइमै सीमित छन् दसैंभर। ‘बाँच र बाँच्न देऊ’ भन्ने नारा बोकेको मानव अधिकारवादी संस्थाका सदस्यहरू पनि घटस्थापनादेखि नै माछामासुमा भुलिन थाल्छन्। नौ दिनसम्म पूजापाठ, सप्तमीदेखि मासुसँग भात, पूर्णिमासम्म चलिरहन्छ। शरीरले कति खाना धान्छ ? पाचन प्रक्रियामा कस्तो असर पर्छ ?
सबै बिर्सिइन्छ। स्वास्थ कसरी बस्ने भन्ने कुरा त मेडिकल डाक्टरका जिम्मा किनकि धेरैजसो डाक्टरलाई नै अरू समूहजस्तै पारिदिन्छ यो माहोलले।
जे होस्, अटोफेजी उपवास बस्न सके हामीलाई धेरै फाइदा छ। के दसैंमा यसलाई एकदिन प्रयोगमा ल्याउने हो त ? किन ?
यसले मर्न लागेको सेललाई पोसिलो बनाउँछ। सेलसेलमा पोषण पुर्याएर यसलाई बचाउन मद्दत गर्छ। पहिलो कुरा त यो उपवासले पोषण तŒवबाट वञ्चित सेललाई एटीपीसँग लगेर जोडिदिन्छ र सेललाई ऊर्जावान् बनाउँछ। दोस्रो, उपवास बसेको बेला व्यायाम वा योग गर्नाले ग्लुकोज नष्ट गरी सेललाई सक्रिय पार्छ। तेस्रो, उपवासले पोषण तŒव क्षय भएका सेललाई क्यालोरी प्रदान गरेर पुनः जीवन्त बनाई काममा ल्याउँछ। चौथो, यस्तो उपवासले हरेक सेललाई (केटो डाइट) शरीरको बोसोलाई ऊर्जामा परिणत गरी कार्बोहाइट्रेडलाई जोगाउने काम गर्छ।
केही खान नै नपाइने रहेछ भन्ने डर लाग्यो कि ? खान पाइन्छ : अटोफेजी उपवासमा पानी मात्र खाएर बस्न सके सबैभन्दा राम्रो। तर के तपाईं औषधि सेवन गर्नुहुन्छ, रोगी हुनुहुन्छ ? त्यसो हो भने हालसालै यसबारे वैज्ञानिक अनुसन्धानले के के खान पाइन्छ भनेको छ। हेरौं त– ग्रिन टी, स्याउ, बदाम, प्याज, स्ट्रबेरी, भटमास, मिल्क थिसल, फलफूलको रस आदि खान सकिन्छ। अटोफेजीमा १८ घण्टादेखि ४८ घण्टाभन्दा बढी उपवास बस्न मिल्दैन। तर स्वस्थ मानिसले फलफूल र पानी मात्र खाएर चार दिनसम्म उपवास बसेको पाइन्छ। यस उपवासबारे वैज्ञानिकहरू अनुसन्धानमा जुटेका छन्। भविष्यमा अटोफेजीसम्बन्धी अरू जानकारी प्राप्त हुनेछ। अटोफेजीले हामीलाई पूर्वीय ज्ञान र पाश्चात्य विज्ञानको भेट एकै ठाउँमा गराउने सम्भावना पनि आसलाग्दो भएर आएको छ।
अटोफेजी उपवास उपचार विधि शुरु भएको ५० वर्षभन्दा बढी भए पनि ओसुमीको अनुसन्धानपछि मात्र यो विधि औषधिका रूपमा विश्वभर परिचित हुन पुग्यो। जापानमा सन् १९४५ मा जन्मिएका योसिनिरी ओसुमीकोले १९७४ मा टोकियो युनिभर्सिटीबाट विद्यावारिधि गरेका थिए। न्युयोर्क अमेरिकाको रकफेलर युनिभर्सिटीमा तीन वर्ष यसबारे खोज गरेर पोस्ट डाक्टर गरेपछि पुनः टोकियो युनिभर्सिटी फर्किए। त्यहाँ सामूहिक अनुसन्धान सुरु गरेर अटोफजीमा २०१६ मा नोबेल पुरस्कार र २०१७ मा ब्रेकथ्रु पुरस्कार प्राप्त गरेपछि यो प्रविधि विश्वविख्यात हुन पुगेको छ। हेरौं, भविष्यमा अझ चोटिला कुरा लिएर अटोफेजी उपवास हामीबीच आउने नै छ। हामी स्वास्थ्य र निरोगी भएर रहने छौं। चिन्ता नगरौं।