डोल्पामा तीनवटा पक्की पुल निर्माण
डोल्पा : हिमाली जिल्ला डोल्पामा दुई करोड १२ लाख लागतमा तीनवटा पक्की पुल निर्माण गरिएको छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाले प्रधानमन्त्री रोजगारको १ करोड ५२ लाख र नगरपालिकाको ६० लाख खर्च गरेर तीनवटा पक्की मोटरेवल पुल निर्माण गरिएको हो।
नगरपालिकाको वडा नम्बर १ स्थित गल्लीगार्ड,वडा नम्बर ९ मा पर्ने चुँ गार्ड र वडा नम्बर ७ मा पर्ने तामेगार्ड खोलामा पुल निर्माण गरिएको नगरप्रमुख जनचन्द्र रोकायले जानकारी दिए।
विगतका वर्षहरूमा प्रधानमन्त्री रोजगारको कार्यक्रम प्रभावकारी हुन नसक्दा राज्यको करोडौँ रकम खेर जाने भएकाले अघिल्लो आर्थिक वर्षको प्रधानमन्त्री रोजगारको सम्पूर्ण बजेट पक्की पुल निर्माणमा खर्च गरिएको नगरप्रमुख रोकायले बताए।
बर्खाको समयमा खोलामा पानीको बहाव बढ्दा सर्वसाधारण र सवारीसाधन जोखिम मोलेर वारपार गर्न बाध्य भएपछि कार्यपालिकाको निर्णय गरेर प्रधानमन्त्री रोजगारको बजेट पुल निर्माणमा लगाइएको उनले प्रष्ट पारे।
यता प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधिमा भने गाउँघरका बेरोजगार घरधुरीले नै काम गरेर पारिश्रमिक लिने व्यवस्था छ। तर, नगरपालिकाले कार्यविधिविपरीत जनताले काम गरेर खाने पैसा पक्की पुलमा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा समेत परेको छ।
विगतका वर्षहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्दा उपलब्धी नदेखिएपछि ठोस योजना खर्च गरिएको र पक्की पुल निर्माणका लागि सरोकारवाला निकायले धन्यवाद समेत दिएका प्रमुख प्रशासकीय अधिकृत जगदिशचन्द्र नेपालीले बताए।
यो आर्थिक वर्षमा पनि प्रधानमन्त्री रोजगारको रकम ठोस योजनामा लगानी गर्ने वा के गर्ने भनेर कार्यपालिकाको बैठकबाट छलफल गरेर टुंग्याउने उनको भनाइ छ। अघिल्लो आर्थिक वर्षमा निर्माण गरिएको पक्की पुलको तामझामका साथ शुक्रबार उद्घाटन समेत गरिएको छ। नगरप्रमुख रोकायले तीनवटै पुलको रिबन काटेर उद्घाटन गरेका थिए।