न्युयोर्कभरि सगरमाथा
एक अम्खोरा उज्यालो तिर्खा सम्झेर
बोकेर ममताका बादलहरू
रहर थिएन
बचेरा झैं उड्न
रिनका पखेटाहरूमा
उमंग थिएन
माटो छोड्न
छातीमा थुनिएका भाकाहरूमा
छिमेकी खस्यो रेगिस्तानमा
दाइले छाड्यो घरदेशको छिँडी
डरका प्वाँखहरूले मलाई उचालिरहे
करका पाइलाहरूले धकालिरहे
आमाको साडीले माडी फुलाउँदैन रहेछ
दरबार बोक्ने गाडीले
भुइँफुट्टे सपनाको घरबारसम्म पु¥याउँदैनरहेछ
प्याउली फुल्न मन थियो
सगरमाथासँग आँखा जुधाएर
नाच्न मन थियो
मुस्ताङे स्याउहरूले सुस्ताइरहेको तामाङसेलोमा
घरकै छिँडीमा बसेर
कोक्याउन मन थियो
माटोको सम्बन्ध अनि
सानो छोराको स्कुले शुल्कको गीत
गीतका अक्षरहरू न्युयोर्कले लेख्छु भन्यो
स्कुलको शुल्क वालमार्टले तिर्छु भन्यो
काठमाडौंले कहिल्यै सच्याएन
भाका नमिलेका मेरा गीतका हरफहरू
छानोले कहिल्यै ओतेन
संघर्षका कविताहरूको पुरानो डायरी
कवितामा आमा थिइन्
आमाका रुझेका आँखाजस्ता अक्षरहरू थिए
भुन्टेको भाँचिएको कलमजस्ता डिकाहरू थिए
डायरी भिज्ने डरभावको इनार थियो
न्युयोर्कले भिज्न दिन्न तेरा आँखाका पंक्तिहरू भन्यो
बिक्न दिन्न तेरा सपनाका पृष्ठहरू भन्यो
अक्षता थमाएर बाका काँपेका औंलाहरूले
बिदाइ हल्लाएका बैनीका हत्केलाहरू हेर्दै
छातीमा छापेर मायालुका गाजलु आँखा
चढेर ट्याक्टरको वायुपंखी
छाडेको थिएँ घरको बलेंसी
हिजोआज
साँघुरो भए पनि यताको घर
उमारिरहेछु
एक्लो कुनामा भरोसाका जमराहरू
निन्याउरो भए पनि आँगन
फुलाइरहेछु
किनाराभरि आस्थाका मखमलीहरू
म अग्लो न्युयोर्कमा
सगरमाथा छापिएको टोपी थामेर
यादको देश पठाइरहेछु घरदेशतिर
बल्झिरहेको मुठी माटो सम्झेर
रोबोट समयको भीडमा
खोपिरहेछु पुनर्मिलनको नयाँ गाथा।
- जगन्नाथ पौडेल, भर्जिनिया, अमेरिका
(२४ सेप्टेम्बर २०२३ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित अनेसास कविता महोत्सवमा प्रथम हुन सफल कविता। ३०१ कवितालाई उछिन्दै प्रथम भएको यो कविताले ५ सय डलर जितेको थियो।)