‘छोटा शब्द र वाक्य अहिलेको रुचाउने साहित्य’
परिचय दिनासाथ ‘भैल’ भनेको साहित्यिक नाम हो ? अनि अर्थ के नि ? भन्ने प्रश्न भोग्ने साहित्यकार हुन् शारदा घिमिरे (भैल)। २०४९ सालमा अन्तरजातीय विवाह गरेर समाजमा क्रान्ति गरेकी उनी नेवारी थर ‘भैल’लाई साहित्यिक नाम जत्तिकै प्रिय ठान्छिन्। विराटनगरमा जन्म र बनेपा, काभे्रपलाञ्चोकमा जीवनको कर्म गरिरहँदा साहित्यलाई कहिल्यै घरव्यवहारले मर्काउनु परेन। मनमा छोएका विषयले उनको मुक्तक, कविता, कथा र गजलका रूप लिई नै रहे।
सानुमा रहरै रहरमा लेखिने साहित्यले विवाहपछि पुस्तकको रूप नै लियो। र, अहिलेसम्म तीनवटा मुक्तक संग्रह बने। मुक्तक चौतारी (२०७४), सरुलता (२०७५) र शारदीय (२०८०) पुस्तक पाठकले रुचाइरहँदा ‘सफर में जिन्दगी’ भारत महाराष्ट्र राज्यको परभणिनगरस्थित लोकविधा प्रकाशनबाट अनुसन्धानकर्ता विद्वान् डा. खन्दारेबाट हिन्दीमा रूपान्तरण पनि भयो। मुक्तकहरूले पुस्तकको रूप लिइरहँदा बालकथा र कवितालाई पनि आगामी पिँढीका लागि पुस्तक बनाएर छोड्न मन छ उनलाई। उनै साहित्यकार, शिक्षक र सामाजिक अभियन्ता घिमिरेसँग अन्नपूर्णकर्मी
रविन भट्टराईले गरेको कुराकानी :
बाल्यकाललाई कसरी सम्झनु हुन्छ ?
बुवा नापतौल गुणस्तरमा काम गर्नुहुन्थ्यो। आमा व्यवसाय गर्नुहुन्थ्यो, सानो होटेल थियो। जेठी छोरी म, दुईवटा भाइ र बहिनी थिए। ढोका थुनेर काममा जानुहुन्थ्यो रे। सानैदेखि एकान्त मन पराउँथें। दसंै, तिहारमा पोस्टकार्डबाट शुभकामना दिने चलन थियो। म त्यो समयबाटै सायरी लेख्थें। धेरैको त प्रेमपत्र पनि लेखिदिएको छु। अक्षर र सायरी राम्रो लेख्ने भएकाले धेरैले मलाई लेख्न लगाउनुहुन्थ्यो। अरू पढिरहेको समयमा पनि म चाहिँ कक्षामै कविता लेख्थें। मेरो पत्रमित्रताबाटै विवाह भएको हो २०४९ सालमा। त्यसपछि सकियो बाल्यकाल।
कस्तो साहित्य लेख्न र पढ्न रुचाउनु हुन्छ ?
पढ्न त सबै रुचाउँछु। तर, लेख्न चाहिँ अध्यात्म, माया, प्रेम, मिलन र बिछोड यस्तै नै हो। पहिलेपहिले मायाप्रेमका धेरै लेखें, अहिले जीवन भोगाइ र पीडाका कुरा साहित्यमा बढी समेट्छु। आध्यात्मिक कुरा पनि उत्तिकै।
कस्तो वातावरणले सिर्जना गरौं गरौं बनाउँछ ?
हामी सानोछँदा आमाको होटलमा आउने, खाने र जाने विभिन्न मानिस हुन्थे। धनी, गरिब सबै। धनीको व्यवहारले भन्दा मेरो गरिबको चालचलनले मन छुन्थ्यो। त्यसै समय (२०४३ साल)मा विद्यालयमा भएको कविता गोष्ठीमा भाग लिएर ‘गरिब’ शीर्षकमा कविता भनेको रहेछु। अहिले प्रमाणपत्र हेर्दा याद भयो। अहिले पनि त्यस्तै वातावरण वा परिस्थितिले छुनासाथ कविता, मुक्तक, कथा लेख्छु। आध्यात्मिक, पीडा र व्यथाका कुरा नै बढी समेट्छु। त्यसैले यस्तै वातावरणले साहित्य सिर्जना गरौं गरौं बनाउँछ। पहिले माइतीतिर साहित्यिक माहोल थियो। हजुरबुवा पनि भजन गाउनु हुन्थ्यो। त्यस्ता शैली र पढेका सिर्जनाले पनि आपूmलाई साहित्यको यात्रामा हिँड्न सहज बनाएछ।
विवाहको कुरा कोट्याउनु भयो। त्यो पत्रमित्रको सम्बन्ध कसरी विवाहमा परिणत भयो ?
धेरै कविता र मुक्तक लेखेर पत्रपत्रिकामा पनि छपाइरहने मान्छे म। युवामञ्चमा २०४६ सालमा पत्रमित्रता कोलममा मेरो रुचि कविता र उमेर १७ वर्ष भन्ने छापियो। मेरो त्यही नाम ठेगाना त्यहाँ भेटेर उहाँले पत्र पठाउनु भएको रहेछ। त्यहाँबाटै हाम्रो चिनजान भयो। उहाँ श्रेष्ठ म घिमिरे, अन्तर्जातीय विवाह भयो त्यो समयमा। भागीविवाह भयो। तर पनि माइतीबाट धेरै साथ पाएँ। बुवाले हामीलाई बुझ्नुहुन्थ्यो। सहज नै भयो। विवाह पनि यो साहित्यिक माहोलबाटै भयो। उहाँ साहित्यकार नभए पनि पत्रमित्रता चाहिँ भएको थियो। यता सासूआमाले पनि अन्तरजातीय विवाह गरेकाले घरमा घुलमिल हुन सहज भयो।
विवाहअघि र पछि साहित्यिक माहोल र सिर्जनामा कस्तो परिवर्तन आयो ?
मेरो भोगाइमा छोरी मान्छेलाई साहित्यिक सिर्जना गर्न विवाहपछि केही गाह्रो त हुँदो रहेछ नै। माइतीको जस्तो माहोल त हुँदैन घरमा। तर, मैले त्यो संघर्ष गरें। लक्ष्य र उद्देश्यलाई मारिनँ। घरका सबै काम सकेर पनि आफ्नो मनमा आएको साहित्यलाई शब्दमा उतारिरहें। फुर्नासाथ टिपेर राख्थें। एकान्त माहोल हुनासाथ त्यसलाई साहित्यिक रूप दिन्थें। सबै सुतेको बेला मेरो साहित्यिक माहोल बन्थ्यो। त्यो समय नै एकान्तजस्तो भएकाले उक्त समयलाई धेरै सदुपयोग पनि गरें। विवाहपछि साहित्य सिर्जना गरिरहँदा श्रीमान्ले पनि अब पनि यस्ता लेखिरहने र ? भन्नुहुन्थ्यो। तर, पछि
बुझ्दै जानुभयो। सुरुका समय त केही गाह्रो भयो। तर, माहोल बनाउँदै लगें।
अचेल त साहित्यिक सिर्जना प्रस्तुत गर्ने माध्यम धेरै छन्। सामाजिक सञ्जालले धेरै सहज बनाइदिएको छ। सिर्जना छाप्ने र पाठकसम्म पु¥याउने माहोललाई कसरी लिनु भएको छ ?
पहिले राजधानीबाट निस्कने साहित्यिक पत्रिका वा हवाई पत्रिकाको भर पर्नुपथ्र्यो। आफ्ना साहित्य कहिले छापिएला भनेर कुर्नुपथ्यो। अहिले त चाहेको समयमा सामाजिक सञ्जाल र अनलाइनसहितका विभिन्न पत्रपत्रिकामा सहजै छाप्न सकिन्छ। आफ्ना साहित्यलाई चाँडै पाठकसम्म बाँड्न पाइन्छ। डायरीमा जाम भएर बस्ने अवस्था छैन। छिट्टै लेखेर छाप्दै सन्तुष्ट हुन पाइन्छ। समय धेरैअघि बढेको जस्तो लाग्छ यो क्षेत्रमा पनि।
तीनवटा पुस्तक निकाल्नु भयो। साहित्य सिर्जनालाई पुस्तकको रूप दिनुपर्छ भन्ने कहिले लाग्यो ?
पहिले त मन बुझाउन पनि लेखियो। धेरै साहित्य चिठीमा पनि लेखियो। पोस्टकार्डमा लेखियो। कति मेरा साहित्य अरूको नाममा बाँडियो पनि। विराटनगरमा रहँदा पनि साहित्यकार दाइहरूले तिम्रो गजल र मुक्तकलाई किताबको रूप दिनु भन्नुहुन्थ्यो। त्यसपछि लेखिरहेका मेरा साहित्यलाई किताबको रूप दिएर आगामी पिँढीका लागि पनि सुरक्षित गर्नुपर्छ भन्ने महसुस पनि भइरहेको थियो। धेरै साथीले पनि भन्नुभयो। अनि आँट पनि पलायो। सुरुमा मैले सरुलता भन्ने पुस्तक प्रकाशन गरेको थिएँ।
साहित्यकारलाई पुस्तक निकाल्न चुनौती छ भन्छन् नि !
हो, हेर्दा पुस्तक सानु भए पनि त्यो रूप दिन धेरै समस्या आए। मुख्य कुरा आर्थिक पाटो पनि हो। घरपरिवार सम्पन्न भए पनि कुन क्षेत्रमा खर्च गर्ने भन्ने सबैले सोच्ने कुरा नै हो। फेरि यो साहित्यबाट कमाउने भन्दा बाँड्न कुरा बढी हुन्छ। तर, सुनको सिक्री बेचेर पहिलो पुस्तक छपाएँ। त्यो समय श्रीमान् रिसाउनु भयो। ‘मान्छे जोड्छन्, तिमीले त बेच्यौ ?’ भन्नुभयो। मेरो त्यो समय ‘मलाई सुनको होइन, पूmलको माला
लगाउन मन छ’ भनेको थिएँ। पहिलो पुस्तक छपाइको कथा अन्यभन्दा फरक भयो।
पछिल्लो समय पाठकको रुचि कस्तो विधा वा साहित्यमा छ, के पाउनुभयो ?
पछिल्लो समय छोटो, मीठो नै धेरैले रुचाउनु हुन्छ। त्यसमा पनि सायरी, मुक्तक, गजल, छोटा कविता धेरैले पढ्नुहुँदो रहेछ। समय पनि त्यस्तै आयो नि थोरै समयमा धेरै बुझौं भन्ने। साहित्यका पाठकको रुचि पनि यस्तै रहेछ।
पाठकको रुचिअनुसार लेख्नुहुन्छ कि आफ्नो ?
दुईटै हो, मेरो रुचिलाई साहित्यका पाठकको रुचिअनुसार ढाल्छु, अनि बाँड्छु। मुख्य कुरा त आफूलाई कुनै विषयले छुनुप¥यो। अनि त्यसलाई केमा लेख्ने, कथा, कविता, मुक्तक वा गजल, कुन साहित्यले त्यो विषयलाई न्याय गर्छ, त्यसैमा ध्यान दिन्छु।
आगामी दिनमा तपाईंका साहित्यमा पाठकले के पाउँछन् ?
शिक्षिका पनि भएकाले बालकथा लेख्ने सोच बनाएकी छु। मुक्तक, कथा, कविता र गजल छ छँदैछ। समयअनुसार सबै कुरालाई समेट्दै जान्छु। तर, नयाँ कुरा बालकथा र कविता दिनेछु।
साहित्यमा लाग्ने सोच भएका युवालाई के सुझाव दिनुहुन्छ ?
सबै क्षेत्रमा प्रतिस्पर्धा छ। हरेक क्षेत्रमा हात समाउनेभन्दा खुट्टा तान्ने क्रम बढेको छ। साहित्यको विकासमा पनि सरकारले चासो दिएको पाइँदैन। यस्तो माहोलमा आपूmलाई भविष्यको साहित्यकार बनाउने सोच बोक्नु भएकाहरूलाई ‘मन दह्रो बनाएर धैर्य नटुटाई साहित्य सिर्जना गरे भविष्य छ’ भन्छु। गर्न सके सन्तोष र सम्पत्ति दुवै हुन्छ। लक्ष्य राखेर कर्म गरे साहित्यको बाटो पनि फराकिलो छ।
शारदा घिमिरे (भैल) साहित्यकार