योजना, कार्यान्वयन गर्ने क्षमता र लगनशीलता हुँदा नेपालमै स्याउखेती गर्न सम्भव छ। नेपालका मनाङ, मुस्ताङ, जुम्लालगायतका जिल्लामा स्याउखेती बढ्दै गएको छ।
मनाङ। हिमालीपारिको जिल्ला। जुन ठाउँ सुन्ने धेरै, पुग्ने थोरै। खोलाको तीरैतीरमा भिरैभिरको बाटो। अत्यन्तै डरलाग्दो ! देब्रेतिर विशाल चट्टानी भिर। अनि दाहिनेतिर मस्र्याङ्दी नदीको बेग। कठिन घुम्ती र मोडको कच्चीबाटो छिचोल्दै लमजुङको बेंसीसहरबाट दिनभरि गाडीको यात्रा गरेपछि मनाङको सदरमुकाम चामे पुग्यौं। जहाँ पुगेपछि एकपटक नयाँ जीवन पाएको महसुस भयो। किनभने यहाँको हरेक घुम्ती र मोड मृत्युमार्गभन्दा कम रहेनछन्।
चालकको अलिकति मात्रै गल्ती भयो भने ज्यान जान कत्तिबेर लाग्दैन। यस्तो विकट मनाङको चट्टानी भिरपाखालाई फुटाउँदै इटलीबाट हाइडेन्सिटी प्रविधि भित्र्याएर ४१ वर्षीय युवा युवराज गुुरुङले ७ सय ३५ रोपनीमा लटरम्म स्याउ फलाएका छन्। उनले बर्सेनि साढे पाँच सय टन स्याउ फलाएर १५ करोडको स्याउ बिक्री गर्छन्। खर्च काटेर झन्डै पाँच करोड त नाफा कमाउँछन्। यसरी उनले नेपालमा कृषि क्रान्ति नै गरेका छन्। स्याउखेतीसँगै फाम हाउस सञ्चालनमा छ। युवराजले ‘हिमालयन फ्रेस’ नामबाट स्याउको प्याकेजिङ गरेर बजार पठाउँछन्। युवा व्यवसायी आश्रय रञ्जितकारले मनाङको स्याउलाई प्रशोधन गरेर वाइन उत्पादन गरेका छन्, ‘मनाङ भ्याली वाइन’ (अन्तर्राष्ट्रिय स्तरको वाइन)। २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एग्रो मनाङको उद्घाटन गरे। २०७८ मा त्यो फाम भ्रमण गर्न तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी पुगेर युवालाई हौसला प्रदान गरिसकेकी छन्। दिनहुँ थुप्रै पर्यटक यहाँ पुग्छन्।
स्याउले पर्यटकलाई चुम्बक झैं तान्छ
सन् २०१५ मा युवराजले एग्रो मनाङ प्रालिको स्थापना गरे। इटालीबाट मनाङमा आधुनिक प्रविधि र स्याउका बेर्ना भित्र्याए। पुस्तौनी हुँदै आएको स्याउखेतीलाई अनि उनले व्यावसायिक रूप दिएर लटरम्मै स्याउ फलाए। त्यसमा उनले २० करोड लगानी गरेका छन्। उनको बारीमा ६० हजार बोटमा स्याउ छन्। स्याउखेतीले मनाङकै परिचय बदलिदिएको छ। भन्छन्, ‘हाम्रो स्याउ फार्ममा वार्षिक साढे पाँच सय टन स्याउ उत्पादन भइरहेको छ।’
अन्नपूर्ण पदमार्गको दुवै किनारमा लटरम्मै स्याउ फलेका छन् बोटले थाम्नै नसक्नेगरी। मगमग वासना आउँछ। आहा राताम्य स्याउ ! टेकोको सहारामा स्याउको दानाले बोटैलाई छोपेको छ। कामदार स्याउ टिप्न व्यस्त छन्। मनाङको ङिस्याङ गाउँपालिका—१ पिसाङस्थित भ्राताङ पुग्दा युवराजको स्याउखेती भेटिन्छ। जुन समुद्री सतहभन्दा करिब २९ सय मिटर अग्लो स्थानमा छ। रसिलो स्याउ। नचाख्ने विरलै होलान्। स्याउको जुस र वाइनले शरीरमा औषधिको काम गरेपछि यसमा नभुलिने को होला ? युवराज भन्छन् ‘स्याउको बजार पाउन समस्या छैन। बोटबाटै वार्षिक दुई करोडको स्याउ बिक्री हुन्छ।’
मनाङको भिरपाखामा जम्दै युवराज
मनाङका फाँट, भिरपाखा, झरना, हिमशृंखला पर्यटकले भरिभराउ हुन्छ। तर, यहाँका युवा भने सपनाको तान बुन्दै जापान, अमेरिका हान्निइरहेका छन्। तर, युवराज भने मनाङे भिरभाखामा कृषिक्रान्तिको सपना पूरा गरिरहेछन्। स्याउ फलाएर विश्वस्तरमा ब्रान्डिङ गर्ने सपनामा काम गरिरहेछन्। ४५ वर्षअघि माथिल्लो मनाङमा हजुरबुवा पेमाछिरिङ शेर्पाले सारा गाउँलेलाई राखेर एउटा स्याउको बोट रोपेर सुरुआत गरेका थिए। पछि युवराजका बुवा पोल्देन छेपाङ गुरुङले खेती विस्तार गरे। अहिले युवराजले खेतीलाई व्यवसायीकरण गरे।
‘गृहजिल्लाको मायाले छाडेन। स्वर्गजस्तो ठाउँ छाडेर विदेश जाने मनै भएन’, नजिकैको झरना र हिमाल देखाउँदै युवराज सुनाउँछन्, ‘दुर्भाग्य, नेपालमा हामी बाहिरबाट ९० प्रतिशत स्याउ आयात गरेर खान्छौं। जब कि हाम्रो ठाउँमा स्याउ फल्ने उपयुक्त हावापानी छ। फलेपछि बेच्ने राम्रो बजार छ। त्यसैले हामी स्याउ र वाइन उत्पादन गरेर मनाङलाई विश्वबजारमा ब्राण्डिङ गर्न सुरु गरेका छौं।’ मनाङ र मुस्ताङ हिमाल पारिको जिल्ला हुन्। जहाँ पर्यटकको ताती लाग्छ। पर्यटक अन्नपूर्ण मार्गबाट ट्रेकिङ गर्न औधी रुचाउँछन्। स्याउ बगान अवलोकन गर्न भ्यु टावर बनाइएको छ। भन्छन्, ‘मनाङलाई चिनाउन दक्षिण एसियामै ठूलो स्याउखेती गरेको छु।’
एउटा बोटमा कति फल्छ स्याउ
युवराजले गत वर्षदेखि उत्पादन पाउन थालेका हुन्। एउटा बोटले एक सिजनमा ३० किलोदेखि २५० किलोसम्म स्याउ दिन्छ। सानो दाना १३० ग्राम र ठूलो ५ सय ग्रामका हुन्छन्।
युवराज भन्छन्, ‘परहेक्टर ४० टनको उत्पादन छ।’ मनाङमा सरदर २ हजार ५ सय मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि बाली अधिकृत हरिबहादुर मिजार बताउँछन्। युवराज भन्छन्, ‘हरेक वर्ष स्याउ टिपिसकेपछि फल लागेको हाँगा कटिङ गरेर फालिन्छ। अनि नयाँ हाँगाबाट उत्पादन लिइन्छ।’
यसरी रोपिन्छ स्याउ
स्याउ रोप्न अन्य खेतीजस्तै खेत तयार गर्नुपर्छ। अहिले हाइडेन्सिटी प्रविधिका स्याउ रोप्न ११ फिटको दूरीमा ड्याङ बनाउनुपर्छ। एक मिटरको दूरीमा स्याउका बोट रोपिन्छन्। मिजारका अनुसार उत्तर–दक्षिण गरेर लस्करै स्याउका बोट रोपिन्छन्। घामको किरण बोटमा धेरैभन्दा धेरै पर्दा स्याउ मनग्य फल्छ।
थप्छन्, ‘एउटा बोटको छायाँ अर्कोमा नपरोस् भनेर दूरी कायम गरेर रोपिन्छ। बोटको उचाइ कति राख्ने हो ? त्यसको पहिला निर्धारण हुन्छ। १० फिटको हाइट राख्ने हो भने ११ फिटको दूरीका बोट रोप्नुपर्छ।’ स्याउको बोट जति सानो, त्यति कम लागत लाग्छ। स्याउको बोट ठूलो भएमा गोडमेल गर्न, हाँगा कटिङ गर्न र स्याउ टिप्न कठिनाइ हुन्छ। कामदार र लागत पनि बढ्दै जान्छ। ‘त्यसैले मानिसको उचाइभन्दा धेरै ठूलो बोट हुनु हुँदैन,’ युवराज भन्छन्, ‘बोटको उचाइ साढे ८ फिटको राख्न खोजेका छौं।’
इटलीको बेर्ना मनाङमा
एग्रो मनाङले स्याउखेती गर्न इटलीबाट बिरुवा ल्याएर खेती गरेको छ। ‘बिरुवा उत्पादनका लागि नर्सरी लगाउन सक्दैनौं। त्यसैले इटालीबाट बेर्ना आयात गर्छौं’, उनी भन्छन्, ‘बिरुवा उत्पादन गर्नु र स्याउ फलाउने काम गर्नु नितान्त फरक काम हुन्।’ इटलीबाट ल्याएको बिरुवाबाट स्याउ उत्पादन सहज हुने उनको तर्क छ। ‘नेपालमा पनि नर्सरी छन् तर बिरुवा उत्पादनको मापदण्ड चेक कसले गर्ने ?,’ भन्छन्, ‘यसअघि स्याउका बिरुवा किसानले लगाए। बोट ठूलो भए पनि स्याउ फलेन।’ किसानले सात वर्ष लगानी गरेर हुर्काउँदा पनि उत्पादन नभएपछि क्षतिपूिर्त कसले दिन्छ ? हो, त्यस्तै भयो।
तुषारो र असिना स्याउ खेतीको दुस्मन
स्याउको बोट पूर्णरूपमा तयारी हुन कम्तीमा सात वर्ष लाग्छ। ‘पहिलो वर्ष लागेका चिचिलालाई टिपेर फालिदिन्छौं। बोटकोे विकास राम्रोसँग होस् भनेर यसो गर्छौं’, युवराज भन्छन्, ‘दोस्रो वर्षदेखिमात्रै हामी उत्पादन लिन्छौं। सात वर्षमा पूर्णरूपमा बोटले स्याउ दिन्छ।’ स्याउको व्यावसायिक खेतीका लागि १००० देखि १५०० घण्टा ७ डिग्री सेल्सियसभन्दा कम तापक्रमको आवश्यकता पर्छ।
नेपालको समुद्र सतहदेखि २००० देखि ३००० मिटरको उचाइ भएको स्थानमा स्याउखेती हुन्छ। स्याउको बोटको सक्रिय वृद्धि विकास हुन २१ देखि २४ सेल्सियस औसत तापक्रम चाहिन्छ। स्याउ खेतीका लागि असिना, फूल फुल्ने समयमा तुषारो पर्नु हुँदैन। स्याउको गुणस्तरीय फल उत्पादनका लागि वार्षिक २०० देखि २५० मिलिमिटर वर्षाको आवश्यकता पर्छ। जुन चैत्रदेखि भदौसम्म बराबर हिसाबले परेको हुनुपर्छ। स्याउको फलको वृद्धि विकासको समयमा माटो सुक्खा हुनु हुँदैन। अन्यथा फलको साइज घट्ने, फलको संख्यामा कमी आउने र जेठ, असारमा साना फल अत्यधिक संख्यामा झर्छ। धेरै हावा चल्ने स्थानहरूमा गुणस्तरीय स्याउ उत्पादन गर्न कठिन हुन्छ।
उत्पादन थोरै, माग धेरै
युवराजले फार्मबाटै अहिले प्रतिकेजी १ सय ७० देखि १ सय ८० रुपैयाँमा बिक्री गर्छन्। हरेक स्याउको फरकफरक मूल्य हुन्छ। जति राम्रो ग्रेडको स्याउ त्यति राम्रो मूल्य। यो स्याउले २ सय ५० रुपैयाँसम्म प्रतिकिलो बजार पाउँछ। ‘स्याउको स्वाद एउटै छ। तर, सानो र ठूलो खाने बजार भाउ निर्धारण गर्छ’, उनी भन्छन्, ‘ग्राहकलाई बनिबनाउन चिटिक्क, चिल्लो, रातो स्याउ चाहियो। हामी त्यही हिसाबले ग्रेडिङ गर्छौं। यो स्याउ अलि महँगो हुन्छ।’ वाइन उद्योगलार्ई प्रतिकेजी ५० रुपैयाँमा बिक्री गरिरहेको उनले सुनाए।
नेपालमा स्याउको माग उच्च छ। तर नेपाली उत्पादन निकै कम छ। नेपालमा सबैभन्दा बढी माग हुने फलफलको सूचीमा पर्छ स्याउ। वार्षिक १ लाख ३० हजार टनभन्दा बढी स्याउको माग छ। तर, उत्पादन भने ५० हजार टनभन्दा पनि कमै छ। नेपाल स्याउमा परनिर्भर छ। २०७९÷८० मा ७ अर्ब ९ करोडका ८३ हजार २ सय ७४ टन आयात भयो। चालू आवको भदौसम्म १ अर्ब ४२ करोडको १४ हजार ६१ टनबराबर स्याउ आयात भएको छ।
‘चुनौती यतिमात्रै हो कि कसरी धेरै गुणस्तरीय स्याउ फलाउने। हाम्रो उत्पादनले नेपाली बजारको १० प्रतिशत मागमात्रै पूरा गर्छ’, स्याउकिसान युवराज भन्छन्, ‘हाम्रोजस्तो १०० वटा स्याउ फाम खुले पनि २५ प्रतिशत मार्केट ओगट्नलाई अर्को २५ वर्ष लाग्छ।’ नेपालका मनाङ, मुस्ताङ, जुम्ला, डोल्पा, मुगु, कालीकोट, हुम्ला, सिन्धुपाल्चोक लगायतका उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा व्यावसायिक रूपमा स्याउखेती बढ्दै गएको छ।
स्याउखेतीलाई सरकारको साथ
योजना, कार्यान्वयन गर्ने क्षमता र लगनशीलता हुँदा नेपालमै स्याउखेती गर्न सम्भव छ। त्यसलाई युवराजले एक दशक लगाएर पुष्टि गरेका छन्। मनाङ मिन्स्याङ गाउँपालिकाको माथिल्लो सात गाउँको सामुदायिक उनले जग्गा लिजमा लिएर स्याउखेती गरेका हुन्। जहाँ पिसाङ, घ्यारु, ङावल, भ्राका, मनाङ, टंकी मनाङ र खाङसर छन्। ‘यहाँ खैरो रङ र क्षरीय किसिमको माटो पाइन्छ। साथै अधिकांश माटोमा कडा चट्टान हुन्छ। यहाँको माटोमा चुनको मात्रा धेरै हुन्छ’, उनी भन्छन्, ‘हामीले २७ वर्षका लागि सामुदायिक जग्गा लिजमा लिएका छौं। झाडीहरू फाँडेर हामीले ७ वर्ष अगाडि स्याउखेती सुरु गरेका थियौं।’ अबको जग्गाको लिज अवधि २० वर्ष बाँकी छ। उनलाई वार्षिक ५८ लाख जग्गाभाडा तिर्नुपर्छ।
स्याउखेतीमा उनले एडीबीको हिमाली प्रोजेक्टबाट २ करोड २५ लाख अनुदान पाएका छन्। गण्डकी प्रदेशको कृषि मन्त्रालयबाट ७५ प्रतिशत अनुदानमा १ हजार ५० वटा बिरुवा पाए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वन एकाइ लमजुङबाट पनि उनले सहयोग प्राप्त गरे। परियोजनाबाट ५० प्रतिशत अनुदानमा दुई हजार बिरुवा रोपेका छन् उनले। बैंकबाट २० लाख ऋण काढेर उनले स्याउखेती गरेका हुन्। सरकारले पनि खेती गर्न अनुदान दिएर प्रेरित गरेका छन्। ‘खेती गर्न बैंकबाट ऋण लिएको छु। सरकारको तर्फबाट पनि अनुदान पाएका छौं’, उनी भन्छन्, ‘एउटा बिरुवाको ११ सय पर्छ। एउटा बिरुवाले उत्पदान दिन थालेको २२ देखि २५ वर्षसम्म राम्रो फल दिन्छ।’
स्याउखेतीलाई मलकै पिरलो
कम्पोस्ट मलसँगै स्याउखेतीमा रासायनिक मलको प्रयोग गरिन्छ। हाम्रो स्याउखेती पूर्ण अर्गानिक छैन। अर्गानिक बनाउन बस्तुभाउ चाहियो। मनाङमा बस्तुभाउ पाल्न कठिन छ। उनी दु:ख सुनाउँदै थप्छन्, ‘राज्यले कम्पोट मलमा अनुदान दिन्छ। तर, मनाङमा ढुवानी गर्दा धेरै महँगो पर्छ। त्यसैले हामी केमिकल मल प्रयोग गर्न बाध्य छौं।’ स्याउखेतीमा पनि रोग र किरा लाग्छ। सुरक्षा गरिएन भने लगानीको जोखिम पर्ने अर्को डर हुने उनले सुनाए, ‘समयसमयमा स्याउखेतीमा कीटनाशक औषधि छर्कने गर्नुपर्छ। चिसो मौसम छ। तर, पनि यहाँ स्याउमा लाग्ने रोगले किसानलाई सताउँछ।’
दक्षिण एसियाकै ठूलो स्याउ फाम
एग्रो मनाङले दक्षिण एसियामै ठूलो क्षेत्रफलमा हाइडेन्सिटी प्रविधिबाट स्याउखेती गरेको छ। जुन स्याउ फाम ७ सय ३५ रोपनीमा फैलिएको छ। युवराज भन्छन्, ‘हाम्रो यसपालिको अपेक्षा भनेको ६ सय टनको छ। गत वर्ष हामीले ५ सय २१ टन उत्पादन लियौं।’
उनका अनुसार गत वर्ष उनले स्याउखेतीबाट १३ करोडको कारोबार भएको थियो। चार करोड बचत भएको थियो। गत वर्षको आफ्नो बिजुली नहुँदा स्याउ कुहेर गएको उनी सुनाउँछन्। कोल्ड स्टोर भएता उनको आफ्नो बिजुली थिएन। भर्खरै मेन ग्रिटको लाइन आए पनि त्यसको भर छैन। त्यसैले उनले आफ्नो लगानीमा सय किलोवाटको माइक्रो हाइड्रोपावर जडान गरेका छन्। त्यसमा उनले २ करोड ४० खर्चेका छन्। अब उनको स्याउ कुहिँदैन।
मनाङ ‘स्याउ जोन’ बन्दै
कृषि बाली अधिकृत मिजारका अनुसार मनाङमा २०७९÷८० कुल ५ हजार २ सय मेट्रिकटन स्याउ उत्पादन भएको थियो। यहाँ प्रतिहेक्टर २ हजार ५ सय मेट्रिकटन उत्पादकत्व छ। झन्डै ८० वटा कृषि फर्म र समूह मनाङको स्याउखेतीमा छन्। परियोजनाले किसानलाई स्याउको बिरुवामा ५० प्रतिशत अनुदान दिने गरेको छ। २०७५/७६ बाट मनाङलाई ‘स्याउ जोन’को रूपमा विकास गर्न परियोजनाले काम थाले।
कठिन सडक सञ्जालले लागत बढ्यो
मनाङको सबैभन्दा ठूलो समस्या नै सडक सञ्जाल हो। धेरै कच्ची बाटो। नदी किनारको डरलाग्दो भीडका पहरा खोपेर ‘एकलिखे’ बाटो छ। सानो पहिरो जाँदा बाटो नै बन्द हुन्छ। बर्खामा बेंसीसहरबाट मनाङ पुुग्न हम्मेहम्मे हुन्छ। सक्नेले त हेलिकप्टर चार्टर गर्लान् त्यसका लागि मौसम सफा हुनुपर्छ।चामेका होटल व्यवसायी केसी गुरुङका अनुसार मनाङमा एउटा भिर कट्यो कि साना नदी आइहाल्छ। त्यहाँ पुल नभई गाडी पारै हुँदैन। हिउँदमा बनाएको पुल वर्षात्ले सल्यातसुलुत बगाइहाल्छ। हिउँदलाई कुर्दै सिङै रुख ढालिन्छ। अनि काठेपुल बनाइन्छ। बर्सेनि यस्तै दु:ख खेपेर युवराजले मनाङमा आधुनिक प्रविधि भित्र्याउँदै मनग्ये स्याउ फलाउँदै आएका छन्। त्यसलाई कठिन बाटोबाट देशका ठूला सहरहरूबाट बिक्रीका लागि पठाउँछन्। उनी भन्छन्, ‘बाटो सहज छैन। त्यसैले स्याउखेतीमा लागत बढाएको छ। आउँदा दिनमा बाटो स्तरोन्नति भएपछि उत्पादन लागत घट्दै जान्छन्।’
स्याउबाट मनाङको आर्थिक स्थिति सुध्रँदै
मनाङमा उत्पादित स्याउलाई स्थानीयस्तरमा प्रशोधन गरेर अन्तर्राष्ट्रिय स्तरको वाइन उत्पादन गर्न थालिएको छ। वाइन मेकर आश्रय रञ्जितकारले भ्राताङमा ‘मनाङ वेभरेज’ स्थापना गरेर वाइन उत्पादन थालेका हुन्। ‘मनाङ भ्याली वाइन’ नामबाट प्याकेजिङ हुन्छ। १० करोडको लागतमा वाइन उत्पादन कम्पनी खोलिएको छ। अन्नपूर्ण हिमालको काँखमा कलाकार स्वस्तिमा खड्काले वाइनको लन्च गरिन्। यसरी कुनै वाइनको लन्च नभएको वाइन मेयर रञ्जितकार बताउँछन्।
‘हाम्रो उद्योगको वार्षिक दुई लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ’, रञ्जितकार भन्छन्, ‘यहाँ कुल उत्पादन ८ हजार टन स्याउ उत्पादन हुन्छ।’ उनका अनुसार तीन वर्षको कडा अनुसन्धान र विकासपछि अन्तत: हामीले मनाङको स्याउबाट वाइन उत्पादन गर्न सफल भएका छौं। मनाङकी प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेल भन्छिन्, ‘मनाङलाई पर्यटन गन्तव्यको रूपमा चिन्दै आएका थियौं। अब एग्रो मनाङ र मनाङ भ्याली वाइनले एग्रो टुरिजमको रूपमा पनि चिनाएको छ।’ अब पर्यटकले भ्राताङमा आएर संगठित रूपमा स्याउबारी गर्दै यहाँको एग्रो टुरिजममा रमाउने मौका पाउनेछन्। उनले थपिन्, ‘मेड इन् नेपाल, मेकिङ नेपाल’ भन्ने नारालाई यसले प्रोत्साहन गरेको छ।’
जिल्ला समन्वय समिति मनाङका प्रमुख चीनबहादुर घलेले मनाङजस्तो विकट ठाउँमा उत्पादित स्याउबाट वाइन निर्माण गरेर बजार पठाउनु ठूलो काम भएको बताउँछन्। यसका लागि युवा व्यवसायीलाई धन्यवाद दिँदै उनी भन्छन्, ‘लमजुङबाट मनाङ छिर्दा दुवैतिर उच्च घनत्वको ‘हाइएन्डसिटी’ स्याउ देखिन्छ। अधिकांश किसानले पुरानो बोट बिरुवालाई विस्थापित गरेर नयाँ जातको स्याउ लगाइसकेका छन्।’
स्याउ र वाइनको ब्रान्डिङमा नाति पुस्ता
मनाङका युवराज गुरुङका पुर्खा ४५ वर्षअघि स्याउ उत्पादनलाई विस्तार गर्दै जीवनका सबै समय खर्चिए। काठमाडौंका आश्रय रञ्जितकारका पुर्खा भने नेपाली फलफूलबाट स्वदेशमै वाइन बनाउनतिर लागे। दुवै युवाका पुर्खाको सपना देशलाई आत्मनिर्भर बनाउने नै थियो। उनीहरूले पुर्खाले देखाएको बाटोमा हिँडिरहेका छन्। अहिले काठमाडौंका आश्रयले मनाङमा वाइन उत्पादनका लागि उद्योग खोलेका छन् भने युवराजले खेती स्याउखेती विस्तार गरेका छन्। यी दुवै युवाले मनाङलाई पर्यटकीय गणतव्यसँगै स्याउ र वाइनबाट ब्रान्डिङ गर्र्ने सपना देखेका छन्। स्याउ बगैंचामै वाइन उद्योग छ।
तेस्रो पुस्ताका युवराजले पुख्र्यौली स्याउखेतीलाई आधुनिकीकरण गरेका छन्। रैथाने ज्ञान र इटलीको आधुनिक प्रविधिलाई फियुज्न गर्दैै उनले मनाङमा माटो सुहाउँदो स्याउखेती गरेर सबैलाई छक्क पारेका छन्। भन्छन्, ‘मागको ९० प्रतिशत स्याउ आयात गर्छौं। नेपाली स्याउ रसिलो र स्वादिलो हुन्छ। नेपाली बजारमा हाम्रो स्याउको माग उच्च छ।’ तर, उत्पादित स्याउ नेपाली बजारमै पुग्दैन।
‘स्याउ र वाइनमार्फत मनाङको ब्राडिङ गर्नु नै हाम्रो मुख्य लक्ष्य हो,’ उनी भन्छन्, ‘यो सपना हजुरबुवा, बुवा र मेरो हो।’ अर्का युवा व्यवसायी वाइनमेकर आश्रय रञ्जितकारका हजुरबुवा सत्यलाल रञ्जितकार नेपाल सरकारको बागवानी विशेषज्ञ थिए। सन् १९६० उनी ६ महिनाका लागि अमेरिका जाने अवसर पाए। त्यहाँ नापा भ्याली छ जहाँ वाइन बनाइन्छ। उनले त्यहाँ वाइन बनाउन सिके। नेपाल फर्किएपछि सत्यलाल बागबानी विशेषज्ञका रूपमा देशभरि बागबानीमा भ्रमण गरे।
हजुरबुवाले भनेको सम्झँदै वाइन मेकर आश्रय भन्छन्, ‘ठाउँठाउँमा पहिला बाटोघाटो केही थिए। फलफूल त निकै धेरै थिए तर कुहिएर जान्थे। कुहिएर फाल्नुभन्दा प्रशोधन गरेर वाइन बनाउन उपयुक्त हुन्छ।’ उनले सन् १९८० मा वाइन बनाए। तर, वाइनले बजार पाएन। आश्रय भन्छन्, ‘नयाँ नेपाली वाइन थियो। कसैले विश्वास नै गरेन।’ तर, आश्रयका बुवा महेश्वरलाल रञ्जितकारले पुर्खाबाट वाइन बनाउने भने सिक्ने अवसर पाए। सन् १९९५ मा संखुवासभामा मकालु वाइन इन्डस्ट्रिज खोले। त्यो ब्रान्डको नाम थियो— हिन्वा। नेपाली वाइनले निकै चर्चा र बजार पायो। स्थानीय फलफूल एैंसेलुबाट बनेको। त्यो बेला आश्रयको हजुरबुवा बितिसकेका थिए।