व्यक्तिको शक्ति देखेर दलहरू चेतून्
उनको नाममा समर्थन हुन्थ्यो भने दलले नेतृत्वको खेमाकै व्यक्तिको खोजीमा लाग्ने, अन्यथा अर्को दललाई मौका दिने राजनीतिक धोका दिन हुने थिएन।
अन्ततः कोसी प्रदेशले संविधानको धारा १६८ (५) बमोजिम सरकार पाएको छ। यससँगै त्यहाँ मध्यावधि निर्वाचन त टरेको छ, दलीय प्रणालीलाई घात गर्ने खराब नजिरको पुनरावृत्तिसमेत भएको छ।
सत्ता गठबन्धन र एमाले–राप्रपा पक्षबीच समान मत हुँदा कोसीका सरकार बन्ने–भत्कने भइरहेका थिए। सत्ताका हानाथापमा त्यहाँको संसद्ले संविधानको यस्तो उपधारा समाउन पुग्यो, जसमा दलीय गणितको अर्थै छैन। र, त कांग्रेसबाट विद्रोह गरेका ८ सांसद्का टोली नेता केदार कार्कीले ३९ मत रहेको एमालेको सिंगो साथमा मुख्यमन्त्रीको चिट्ठा पारे। एक मतले रनभुल्ल भइरहने सत्ता गठबन्धन हेरेको हेर्यै भयो।
दलीय प्रणाली लोकतन्त्रको सुन्दर पक्ष हो। शक्ति र भक्तिका भरमा सांसद बनाउने दलहरूका विकृति छँदैछन्। तर, तिनै दलका नेतृत्वका आशीर्वादले सांसदको अवसर पाउनेहरूले उपल्लो निर्णयको अवज्ञा गर्नु किञ्चित क्षम्य होइन। यस्ता प्रवृत्तिले गैरदलीय आचरण र वातावरणलाई मलजल गर्छन्। दलीय प्रणालीले काम गर्न सकेन वा दलहरूले सरकार बनाउन सकेनन् भने चुनावमा जानुभन्दा उत्तम उपायका रूपमा धारा १६८ (५) संविधानले परिकल्पना गरेको हो। तर, संविधान निर्माताहरूलाई चेत होस् कि– भविष्यमा यसरी नै यो धाराको दुरुपयोग भयो भने दलीय प्रणालीको भविष्य के होला ?
दुर्भाग्य त यो छ कि, यसअघिको प्रदेशसभामा तीन मुख्यमन्त्री बनेको यो प्रदेशले पछिल्लो प्रदेशसभाको वर्षदिनमै पाँचौं मुख्यमन्त्री पाएको छ। सिंगो अर्को पार्टीको सहयोगमा ८ जना समाएर प्रदेश सरकारको नेतृत्व गर्दाको अवस्थाले अब कस्तो मोड आउला ? समस्या व्यक्ति विशेषमा भन्दा पनि समग्र ‘प्रवृत्ति’ मा छ। तत्कालीन केपी ओली सरकार ढाल्न एमालेका १४ जना सांसदले विपक्षमा मतदान गरेर यसखाले विकृतिको बिउ रोपेका थिए। एमालेले तिनलाई सांसदबाट निष्कासन गर्दा तत्कालीन सभामुख अग्नि सापकोटाले सहमति जनाएनन्। त्यही रोग अहिले भाइरल बनेर कांग्रेसमा सर्यो। व्यक्तिका रिसले प्रणालीमा आघात पुग्ने विकृतिले निरन्तरता पायो। बहुदलीय प्रणालीमा पनि पुच्छरले टाउको हल्लायो।
तर, जे भयो संविधानको दायराबाटै भयो। कार्कीले दलहरूलाई चेताउने कामसमेत गरे। किनकि, उनको नाममा समर्थन हुन्थ्यो भने दलले नेतृत्वको खेमाकै व्यक्तिको खोजीमा लाग्ने, अन्यथा अर्को दललाई मौका दिने राजनीतिक धोका दिन हुने थिएन। अवसर उनैलाई दिँदा हुन्थ्यो। यतिसम्म चाहिँ हो कि कार्कीको विद्रोह उनकै दलका हकमा भने ठूलो शिक्षा बनेको छ। मुख्य मन्त्री कार्कीलाई हार्दिक शुभकामना।