मानव मन्थन

मानव मन्थन
सुन्नुहोस्

मानव अस्तित्वलाई बचाइराख्न हाम्रा पुर्खाले छोडेका तर सधैं नजरअन्दाज गरिएका ज्ञानका पानाहरू अब पल्टाउनै पर्छ।

केही दशक अघिसम्म जेलाई जुन अर्थमा जसरी बुझ्थ्यौं, आज बुझाइको त्यो रूप र सार दुवै परिवर्तन भएको छ। विज्ञान र प्रविधिका शाखा, प्रशाखाहरूमा हिजो मानिएको प्रतिमान आज विस्थापित भइसकेको छ। वर्षौंको दृढ तपस्याबाट आविष्कृत सिद्धान्त र दर्शनहरू निश्चित कालखण्डपछि आफूले पाएको सर्वस्वीकार्यता गुमाएर सर्वआलोचित भएका छन्। जुन समयक्रमसँगै स्वाभाविक पनि बन्छन्। विगतमा ऐतिहासिक मानिएका खोजहरू वर्तमानमा ‘आउटडेटेड’ हुनु नौलो पनि होइन।

त्यसैले समग्र मानव अस्तित्वमाथि नै संकटको घण्टी बोकेर तीव्र गतिमा दौडिरहेको यो परिवर्तनले भोलिको दुनियाँलाई कता लैजाला ? यसै भन्न सकिन्न। मानव उद्विकासको इतिहासमा पानीमा बस्ने एककोषीय जीव आजको अर्काको मन र मस्तिष्कलाई नै म्यानिपुलेट र नियन्त्रण गर्न सक्नेसम्मको हैसियतमा आइपुगेको छ। धर्तीमा अवस्थित करोडौं प्रजातिबीचबाट केवल ‘सेपियन्स’मा मात्र ‘प्रिफन्टल कर्टेक्स’ विकास हुनु आजको यो समग्र उपलब्धिको पहिलो जित थियो। त्यहाँबाट अगाडि बढेको सफलताको यात्राले आजको दशकसम्म आइपुग्दा मानिसमा झन् नयाँ–नयाँ महत्त्वाकांक्षा थप्दै लग्यो। परिणाम स्वरूप मानिस अब आफ्ना सीमा तोडेर अलौकिक मानिस बन्ने हुटहुटीमा लागेको छ।

संकेतबाट भाषा, भाषाबाट चिठी, चिठीबाट फोन, फोनबाट भर्चुअल दुनियाँ अनि भर्चुअल दुनियाँबाट कृत्रिम बौद्धिकतातर्फ लम्किँदै गरेको विश्व आज समस्त मानव सभ्यतामै एउटा नयाँ अध्याय थप्ने क्षणमा उभिएको छ। करिब २० लाख वर्षअघि एकपटक फैलिएको हाम्रो ‘प्रिफन्टल कर्टेक्स’ विज्ञान र प्रविधिको विकासले अब फेरि फैलिने छ। यसैको झिल्को स्वरूप ‘जिन एडिटिङ’ मार्फत मानिसले अब आफ्नो इच्छाअनुसारको शारीरिक र मानसिक विशेषता भएको ‘डिजाइनर बेबी’ जन्माउन सक्नेछ। अब भोलिको दिनमा जैविक प्रविधिले महाभारतकालीन भिष्मजस्तो बल भएको, घटोत्कचजस्तो शरीर भएको र बिदुरजस्तो बुद्धि भएको ‘सुपर ह्युमन’लाई जन्म दियो भने आश्चर्य हुने छैन।

सन् २०२२ को डिसेम्बर महिनामा विगत ५० वर्षदेखि विश्वभरका अनुसन्धाताले गरेका अपूर्व वैज्ञानिक अनुसन्धानमा आधारित रहेर विज्ञान सञ्चारक हासिम अल घाइलीले विश्वकै पहिलो कृत्रिम मानव गर्भाशय सुविधा (एक्टोलाइफ) सार्वजनिक गरे। पूर्णरूपमा नवीकरणीय ऊर्जाबाट सञ्चालित यस प्रविधिले महाभारतकालमा महर्षी ब्यासले १०१ वटा भाडाबाट सय भाइ कौरब र एक बहिनी जन्माएजस्तै अथवा भाँडोबाटै ऋषि अगस्त्य जन्मिएजस्तै प्रतिवर्ष ३० हजार बच्चा कृत्रिम भाँडोबाटै जन्माउन सक्छ। यसमा ‘क्रिस्पर क्यास नाइन’को मद्दतले जिन सम्पादन गरी बच्चाको आँखा, कपाल र छालाको रंग, शारीरिक क्षमता, उचाइ र बुद्धिको तहसमेत अनुकूलन गर्न सकिने छ।

करिब दुई महिनाअघि संयुक्त अधिराज्य र इजरायलका वैज्ञानिकले ‘स्टेम सेल’मा आधारित पहिलो ‘सिन्थेटिक’ मानव भ्रुण विकास गरे। यस प्रविधिमा न त पुरुषको बीर्यको आवश्यकता पर्नेछ न महिलाको डिम्ब न त कोख नै। यसमा स्टेम सेललाई थप चार प्रकारको सेलमा विकास गरेर भ्रुणको स्वरूप दिइन्छ। लेखक तथा हार्वर्ड मेडिकल स्कुलमा जेनेटिक्सका प्रोफेसर डेबिड सिनक्लेयरले २० वर्षे अनुसन्धानबाट कसरी बुढ्यौलीलाई उल्टाएर मानिसलाई जवान, स्वस्थ र दीर्घजीवी बनाउन सकिन्छ भन्ने बारेमा नयाँ तथ्य पत्ता लगाएका छन्। उनका अनुसार मानिसको कोषिकाहरूमा युवा अवस्थाको ‘ब्याकअप’ कपी हुने र शरीरलाई ‘रिबुट’ गरेको खण्डमा उक्त कपीबाट तन्तु र अंगहरूको जवानी फर्किइ मानिस जैविक रूपमै जवान हुनसक्छ। भन्छन्, ‘अहिले जन्मने बच्चाहरू सजिलै १२५ वर्षसम्म निरोगी भएर बाँच्न सक्छन्। यसै खोजलाई आधार बनाएर वैज्ञानिकको केही समूह बैदिक हिन्दू सभ्यताभित्रका अष्टचिरञ्जीवीहरू जस्तै जैविक रूपमा अमर हुन पृथ्वीमा पाइने अजम्बरी जीवको कोषिका माथि अनुसन्धान गरिरहेका छन्।

इन्जिनियर तथा उद्यमी एलन मस्कको सन् २०१६ मा स्थापित कम्पनी ‘न्युरालिंक’मार्फत मस्कले गत वर्ष ‘ब्रेन कम्प्युटर इन्टरफेस’ प्रविधिमा आधारित ‘न्युरालिंक एन वान’ नाम दिइएको ब्रेन चिप्स सार्वजनिक गरे। यसलाई सर्जिकल रोबोटद्वारा एक घण्टाको शल्यक्रियामा मानव मस्तिष्कमा प्रत्यारोपण गरी कम्प्युटरमार्फत मानिसले के सोचिरहेको छ हेर्न सकिन्छ। कम्पनीका अनुसार यो चिप्सको मद्दतले मानव चेतना वा मानसिक अवस्थालाई डिजिटल रूपमा संरक्षण गर्नेमात्र नभई दोस्रो मानिसमा ‘अपलोड’समेत गर्न सकिन्छ। सरल रूपमा भन्नुपर्दा एक मानिसमा भएको सीप, दक्षता र क्षमतालाई चिप्समार्फत अर्को मानिसमा स्थानान्तरण गर्न सकिन्छ।

सन् १९३२ मा बेलायती उपन्यासकार एल्डस हक्सलीको उपन्यास ‘ब्रेभ न्यू वल्र्ड’ प्रकाशित भयो। उपन्यासमा हक्सलीले विज्ञान र प्रविधिबाट भविष्यमा पर्न सक्ने खतरातर्फ मानव जातिलाई सतर्क गराएका थिए। उपन्यासका अनुसार लन्डनमा ‘वल्र्ड स्टेट’ नामको एउटा सहर हुन्छन्, जहाँ संवेदनाविहीन नागरिकहरू कृत्रिम गर्भाशयमार्फत ह्याचरीमा जन्माइछन्। जसलाई अल्फा, बिटा, गामा, डेल्टा र इप्सिलन गरी पाँच वर्गमा विभाजन गरिन्छ। यहाँ अल्फाका नागरिकलाई सबैभन्दा बुद्धिमान् बनाइन्छ ताकि उनीहरू भोलि गएर नेता र विचारक बनून्। त्यस्तै इप्सिलन वर्गका बच्चाहरूलाई कोखमै कम अक्सिजन दिई मन्द बुद्धिको बनाइन्छ ताकि उनीहरू भविष्यमा मजदुर बनुन्।

एल्डस हक्सलीको यो उपन्यास त काल्पनिक भयो तर कतै विज्ञान र प्रविधिले हाम्रो भोलिको संसार पनि यस्तै त बनाउँदै छैन ? कतै घाइलीको एक्टोलाइफमा जन्मिने बच्चाहरू पनि वल्र्ड स्टेटका बच्चाहरू जस्तै संवेदनाविहीन त बन्ने छैनन् ? कतै मस्कको न्युरालिंकले मानिसको उद्विकासलाई नै गलत दिशामा त डोहो¥याउने हैन ? धर्तीमा भोलि अनेकौं अस्वत्थामा जन्मन सक्नेछन्, जसले कैयौं उत्तराहरूको गर्भमा ब्रह्मशीर अस्त्र चलाउन सक्नेछन्। त्यतिबेला त्यस अस्त्रलाई रोक्न सक्ने कृष्णहरूचाहिँ हामी जन्माउन सकौंला त ?

भोलि आउन सक्ने यो चुनौतीसँग जुध्न पश्चिमा जगत्भन्दा कैयौं गुणा बढी सजिलो हामीलाई छ। किनभने हाम्रा पुर्खाहरूले बाँचेको समय आजभन्दा धेरै उन्नत र परिस्कृत थियो। उनीहरूले प्राप्त गरेको परम चेतना र सूक्ष्मतासम्म आजको विज्ञान पुग्न सकेकै छैन। त्यसैले मानव अस्तित्वलाई युगौंयुगसम्म बचाइराख्न हाम्रा पुर्खाहरूले छाडेर गएको, सधैं नजरअन्दाज गरिएका ज्ञानका पानाहरू अब पल्टाउनै पर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.