नारदमुनी स्मृति गोल्डकपको पहिलो खेलमा बसाह विजयी
उदयपुर : नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बसाह क्लब उदयपुर विजयी भएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बसाहास्थित नारदमुनी रंगशालामा शनिबारबाट सुरु भएको नवौं संस्करणको पहिलो खेलमा एभरेष्ट एफसी सुनसरीलाई २–१ ले पछि पार्दै उदयपुरले जित निकालेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएसँगै दुवै टिमले जित निकाल्ने नयाँ रणनीति अपनाउँदै मैदानमा उत्रिएका थिए। निकै प्रतिस्पर्धात्मक उक्त खेलको दोस्रो हाफको ५ औँ मिनेटमा बसाहाका योगेश राईले प्रहार गरेको बल सुनसरीका सन्जीव राईको खुट्टामा लागेर गोलमा परिणत भएको थियो।
खेलको सुरुवातमै अग्रता लिएको बसाहाले दोस्रो हाफको १९ औं मिनेटमा गरेको थप एक गोल नै निर्णायक बन्यो। बसाहाका लागि जसबहादुर राईले दोस्रो गोल गर्दै आफ्नो टिमलाई जितको सुरक्षित गराएका थिए। प्रतिउत्तरमा २६ औं मिनेटमा सुनसरीका टिम कप्तान निशान लिम्बुले टिमलाई सान्त्वना स्वरुप एक गोल गरेका थिए।
प्रतियोगिताको विजेता टिमलाई नगद ४ लाख १ हजार र उपविजेतालाई २ लाख १ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बसाहा क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए। प्रतियोगिताअन्तर्गत आइतबारको खेल न्यू त्रियुगा स्पोर्टिङ क्लब सप्तरी र ब्रीगेड ब्वाइज क्लब झापा बीच हुने आयोजकले जनाएको छ।