कोसीका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ
विराटनगर : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा शपथ लिएका छन्। उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिएका हुन्। कार्की एमाले र कांग्रेसको शेखर कोइराला पक्षका सांसदहरुको समर्थनमा शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका हुन्।
एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जनाको सनाखतपछि कार्की मुख्यमन्त्री बनेका हुन्।
कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो। एमालेको समर्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले समयमै दाबी पेस पनि गरे। तर,सनाखतको बहानामा प्रदेश प्रमुख पर्शुराम खापुङले आफैंले दिएको समय पनि त्यत्तिकै टारिदिएका थिए।
शनिबार बिहान हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गरेका हुन्। कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थन लिएर बहुमत पुर्याउँदै कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। आङ्बोले पनि कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गरेका थिए। तर उनीहरुले बहुमत पुर्याउन सकेनन्।
केन्द्रीय गठबन्धनले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय लिएको थियो। तर,कांग्रेसको संस्थापनइतर पक्षधर कार्कीले विद्रोह गरेर आफू पक्षकासहित एमालेका सांसदको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए।