निगमका नउड्ने जहाज
थाइल्यान्डको थाई एयरलाइन्स र नेपाल वायु सेवा निगमसँगसँगै जस्तो सुरु भएका हुन् । तर आज थाई एयरलाइन्ससँग सयौंको संख्यामा जहाज हुँदा नेपाल एयरलाइन्ससँग भने नगन्य मात्रामा जहाज हुनु दुर्भाग्य हो । नेपाल वायुसेवा निगम त झन् ४८ अर्ब रुपैयाँ ऋणमा डुबेको छ । त्यसमाथि झन् भएका जहाज पनि भूमिस्थ (ग्राउन्डेड) भएका छन् । उड्ने जहाज सुतिरहेका छन् । वायु सेवा निगमको उद्देश्य नै जहाज उडाउने, स्वदेशी विदेशी यात्रुलाई सेवा दिने र कमाउने पनि हो । तर जब जहाज नै ग्राउन्डेड हुन्छन् भने उड्छन् कसरी र निगमले कमाउँछ कसरी ? अनि ऋण नलागेर के लाग्छ ? अन्तर्राष्ट्रिय उडानमा जानुपर्ने न्यारो बडी र वाइडबडी जहाँ जहिलेसुकै विभिन्न कारण भूमिस्थ हुन्छन् । कहिले प्राविधिक गडबडी के के कहिले के ।
२०२३ को फेब्रुअरीदेखि सेप्टेम्बरसम्म न्यारोबडी र वाइडबडी २१ पटक ग्राउन्डेड भएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा रिपोर्ट गरिएको छ । जसमा न्यारोबडी जहाज १५ पटक र वाइडबडी जहाज ६ पटकसम्म ग्राउन्डेड भएका छन् । जहाज भूमिस्थ भइदिँदा निगमले तालिका लिएका हङकङ, मलेसिया, कतार, बैंकक, दुबई, मुम्बई होस् या दिल्लीलगायत ११ गन्तव्य बेलाबखत सुनसान हुन्छन् । वैदेशिक रोजगारीमा जाने नेपाली पाएसम्म नेपाल वायुसेवा निगमकै उडान रोज्छन् । तर कतार, दुबई होस् या मलेसिया जहाँ धेरै नेपाली छन्, त्यहींका उडान नियमित छैनन् । उस्तै परे त्रिभुवन विमानस्थल पुगेर पनि यात्रु फर्कनुपर्छ । त्यस्ता दृष्टान्त जति पनि छन् । सबैभन्दा पहिला त निगमले विश्वास आर्जन गर्नुपर्ने अवस्था छ ।
त्यसपछि मात्रै उसले नाफाबारे सोच्न सक्छ । अहिलेको हालत त कस्तो भने वर्षमा पाँच अर्ब नाफा कमाए पनि ऋण तिर्न पुग्दैन, तर नाफाको न छैन । होस् पनि कसरी एउटा जहाज एक दिन उड्दा हुने नाफा एक करोड रुपैयाँ हो तर महिनैपिच्छे कैंयौं दिन जहाज भूमिस्थ भइरहन्छ । बिग्रेको जहाज बनाउने काम बेलामा हुँदैन । अनि घाटामाथि घाटा थपिन्छ । निगमको व्यवस्थापन यति फितलो र कमजोर छ कि सामान्य मर्मत सम्भार पनि तुरुन्तै कहिल्यै हुँदैन । जहाज नउड्ने, सुत्ने र निगमभित्र जति पनि समस्या छन्, तिनको जड व्यवस्थापकीय कमजोरी र लापरबाही नै हो । त्यसको सुधार ससानो तरिकाबाट सम्भव नहुने पुष्टि भइसक्यो । निगमको पूरै कायाकल्पबाट पनि पूरै सुधार सम्भव छ ।