२४२ घरको संयुक्त जमरा
नुवाकोट : नेपाली समाजमा अहिले पनि छुवाछुत प्रथा कायमै छ । तर, नुवाकोटस्थित वेलकोटगढीको निरञ्जना गाउँ, जसले छुवाछुत नियन्त्रणमा अलग्गै पहिचान बनाएको छ ।
२१औं शताब्दीमा कतिपय ग्रामीण समाजमा अझै जातीय छुवाछुत र भेदभाव हुने गरेको पाइए पनि नुवाकोटको पूर्वी भेग वेलकोटगढी धार्मिक सहिष्णुताको नमूना बन्दै गएको छ । उँचो तथा निँचो जातको भेदभाव नभइ सवै मिलेर एकै स्थानमा धार्मिक कार्य गरिँदा नुवाकोटको यस नमूना कार्यले स्वदेशमा मात्र नभइ अन्यत्रसमेत चर्चा बटुल्दै गएको छ ।
नुवाकोटको ऐतिहासिक वेलकोटगढीमा यस वर्ष वडादसैंंका लागि दलित र ब्राम्हण समुदायको जमरा एकै स्थानमा राखिएको छ । सदियौंदेखिको दलित र ब्राम्हण समुदायको पानी नचल्ने परम्परा तोड्दै नुवाकोटको पूर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवतीे मन्दिरमा घटस्थापनाको दिन सामूहिक जमरा राखिएको हो ।
सामूहिक जमरा राख्ने परम्परालार्ई स्थानीय ब्राम्हण, क्षेत्री, नेवार, मगर, घर्ती, जनजाति तथा दलित समुदायका मिजार, बिक, दमाई, तथा नेपालीका परिवारले निरन्तरता दिएका हुन् । नुवाकोटबाटै नेपाल एकीकरणको सुरुवात गरेका पृथ्वीनारायण शाहको पालादेखि बेलकोटगढीमा रहेको निरञ्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्ने परम्परालार्ई यसपटक वेलकोट र आसपासका २ सय ४२ घरधुरीका ब्राम्हण, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राखेको निरञ्जना भगवती मन्दिरका मूल पुरोहित नरनाथ पौडेलले बताए । ३२ वर्षदेखि मूल पुरोहितको रूपमा रहेका पौडेलका अनुसार सो मन्दिरमा २ सय ४२ वर्षभन्दा अघिदेखि सामूहिक रूपमा जमरा राखिँदै आएको छ ।
विदुरदेखि २५ किलोमिटर पूर्वमा रहेको निरञ्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्न तथा पूजा सञ्चालन गर्न वेलकोटगढी नगरपालिकाले यस वर्ष रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नगरपालिकाले वडादसैंंका लागि निरञ्जनामा पूजा सञ्चालनका लागि गत २०७९ सालमा ३ लाख, २०७८ सालमा २ लाख, २०७७ सालमा २ लाख, २०७६ सालमा २ लाख, २०७५ सालमा १ लाख ४० हजार र २०७४ सालमा १ लाख २० हजार रुपैयाँँ उपलब्ध गराएको थियो ।
सामूहिक रूपमा जमरा राख्ने कार्यले स्थानीय समुदायबीच नमूनाको अभियान भइरहेको पूजा समितिका सदस्य किशोर वलीको भनाइ छ ।
उनका अनुसार स्थानीयवासीको माग अनुसार वेलकोटगढी र निरञ्जना भगवतीको मन्दिर पुनर्निर्माणको कार्य सुरु भएको छ । वेलकोटगढी ऐतिहासिक स्थल र धार्मिक पर्यटनको केन्द्रसमेत भएका कारण सोही स्थानको नामबाट वेलकोटगढी नगरपालिकाको नामाकरण भएको हो ।