पीई रेसियो हेर्ने, वाणिज्य बैंकको सेयर किन्ने

पीई रेसियो हेर्ने, वाणिज्य बैंकको सेयर किन्ने
सुन्नुहोस्

लक्ष्मी, ग्लोबल आईएमईको बजार भाउ निकै कम, नबिल र कुमारीको बढी

काठमाडौं : धितोपत्रको दोस्रो बजारमा कम्पनीको सेयर मूल्य आपूर्ति र मागले निर्धारण गर्छ। तर, लगानीकर्ताले कहिलेकाहीँ कम प्रतिफल दिने कम्पनी बढी मूल्यमा र बढी प्रतिफल दिने कम्पनी कम मूल्यमा खरिद गरिरहेका हुन्छन्।

वाणिज्य बैंकहरूको दृष्टान्त लिने हो भने, दोस्रो बजारको सेयर मूल्यसँग आर्थिक वर्ष २०७९÷८० को चौथो त्रैमाससम्मको वित्तीय विवरणबाट प्राप्त तथ्यांक तुलना गर्दा लगानीकर्ताले कम प्रतिफल पाइने बैंक महँगोमा र बढी प्रतिफल पाइने बैंक सस्तो मूल्यमा किन्ने गरेको स्पष्ट हुन्छ।

सेयर मूल्य र प्रतिफलको सम्बन्ध देखाउने तथा विश्लेषण गर्दा सबैभन्दा रिलायबल वित्तीय सूचकांक पीई रेसियो हो।

बैंकको सेयरको बजार मूल्यलाई प्रतिसेयर आम्दानी (ईपीएस)ले भाग गर्दा पीई रेसियो आउँछ। पीई रेसियोले सो बैंकको प्रतिसेयर एक रुपैयाँ आम्दानी गर्न लगानीकर्ताले दोस्रो बजारमा कति रुपैयाँ हाल्छन् ? भन्ने देखाउँछ।

बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गर्दा पीई रेसियो आउँछ, अर्थात् एक रुपैयाँ ईपीएसका लागि दोस्रो बजारको सेयर मूल्य। यसको गणितीय अर्थ बैंकको एक रुपैयाँ प्रतिफल पाउन लगानीकर्ताले दोस्रो बजारमा कति रुपैयाँ तिर्ने गरेका छन् भन्ने पनि हो। कम पीई रेसियोले लगानीको तुलनामा आम्दानी बढी छ भन्ने बुझाउँछ। अर्थात् जति कम पीई त्यति राम्रो प्रतिफल।

उदाहरणका लागि असोज २५ गते बिहीबार एनएमबी बैंकको बजार मूल्य २ सय ८ रुपैयाँ ७० पैसा कायम भएको छ। चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको ईपीएस १८ रुपैयाँ ५७ पैसा छ। वित्तीय विवरणअनुसार कुमारी बैंकको ईपीएस सबैभन्दा कम ७.४६ रुपैयाँ छ। बैंकको सेयर मूल्य १ सय ५६ रुपैयाँ ९० पैसा छ। दोस्रो बजारमा कारोबार हुने बैंकहरूमध्ये सबैभन्दा बढी ईपीएस एनआईसी एसियाको छ। बैंकको ईपीएस ४०.२२ रुपैयाँ छ। बढी ईपीएस हुने बैंकको सूचीमा स्ट्यान्डर्ड चार्टर्ड दोस्रोमा र एभरेस्ट तेस्रोमा छ।

यता दोस्रो बजारमा नबिल बैंक सबैभन्दा महँगो सेयर हो, एनआईसी एसिया दोस्रो महँगो र स्ट्यान्डर्ड चार्टर्ड तेस्रो। सबैभन्दा सस्तो सेयर प्रभु बैंकको हो भने कुमारी बैंक दोस्रो सस्तो सेयर हो।

यी तथ्यांकको आधारमा हिसाब गर्दा लक्ष्मीको पीई रेसियो सबैभन्दा कम ८.८३ छ भने कुमारीको सबैभन्दा बढी २१.०३ छ। अर्थात् लक्ष्मीको एक रुपैयाँ प्रतिसेयर आम्दानीका लागि लगानीकर्ता दोस्रो बजारबाट सेयर किन्दा मात्र ८.८३ रुपैयाँ तिर्न तयार छन्। यस्तै ग्लोबल आईएमई बैंकको प्रतिसेयर एक रुपैयाँ आम्दानीका लागि लगानीकर्ताले ९.७२ रुपैयाँ तिर्छन्।

नेपाल, सिद्धार्थ, सानिमा, हिमालयन, नेपाल इन्भेस्टमेन्ट र सिटिजन्स बैंकको एक रुपैयाँ आम्दानीका लागि लगानीकर्ताले ११ रुपैयाँभन्दा कम लगानी गर्नुपर्ने देखिन्छ।

अब, यो हिसाबलाई उल्टो गरेर हेरौं। ईपी प्रतिशत हेरौं, अर्थात् खरिद मूल्यका आधारमा प्रतिफलको प्रतिशत हिसाब गरौं। चौथो त्रैमासको वित्तीय विवरणअनुसार दोस्रो बजारमा गरेको लगानीबाट कुमारीको प्रतिफल सबैभन्दा कम ४.७५ प्रतिशतमात्र छ। अर्थात्, बैंकको सेयरमा दोस्रो बजारमा एक सय रुपैयाँ लगानी गर्दा ४.७५ प्रतिशत प्रतिफल प्राप्त हुन्छ।

यसैगरी जो लगानीकर्ताले बिहीबारको मूल्य तिरेर नबिल बैंकको सेयर किनेको छ वा लगानी गरेको छ, बैंकको वित्तीय विवरणअनुसार उसले आफ्नो लगानीको दोस्रो कम अर्थात् ४.९१ प्रतिशतमात्र रिटर्न पाएको देखिन्छ। एनआईसी एसिया, एभरेस्ट, नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु र प्राइमको पनि सेयर मूल्यअनुसार प्रतिफल आशालाग्दो छैन। यी बैंकको ईपी रेसियो ८ प्रतिशतभन्दा कम छ।

यो सूचीको शीर्षमा लक्ष्मी बैंक छ।

लगानीकर्ताले पीई हेरेर कुन बैंकमा लगानी गर्दा ठीक हुन्छ, त्यो सोच्नुपर्ने जानकारको ठहर छ। वित्तीय विवरणअनुसार थोरै लगानी गरेर सबैभन्दा बढी रिटर्न पाउने बैंक छान्नु आवश्यक हुन्छ।

पीईले अहिलेको रिटर्नमात्र होइन, भोलि कति हुन्छ पनि संकेत गर्छ। माग र आपूर्तिले निर्धारण गर्ने सेयरको माग भोलिको सम्भावना अध्ययनले पनि फरक पर्न सक्छ।

ईपीएस, पीई रेसियो गणना र पीईका अर्थ

कारोबार मूल्यलाई कम्पनीको ईपीएसले भाग गरेर आउने अनुपात ‘पीई रेसियो’ हो।

‘क’ नाम गरेको बैंकको सेयरको प्रचलित मूल्य प्रतिकित्ता रु. ३ सय र ईपीएस रु. १५ भए ३ सयलाई १५ ले भाग गर्दा आउने २० (३००÷१५ =२०) नै उक्त कम्पनीको ‘पीई’ हो।

कम्पनीको सेयरको मूल्य बढेर ३ सय १५ पुगे पीई बढेर २१ हुन्छ भने मूल्य घट्दा पीई पनि घट्छ। यस्तै ईपीएस बढेर २० पुगे पीई घटेर १५ (३००÷२०  =१५) हुन्छ भने ईपीएस घट्दा पीई बढ्छ।

प्रत्येक कारोबार मूल्य वा ईपीएससँगै परिवर्तन हुने ‘पीई’को शुद्धता र विश्वसनीयता ईपीएसको शुद्धता र विश्वसनीयतामा भर पर्छ।

तीन सय रुपैयाँ पर्ने कम्पनीको ईपीएस २० रुपैयाँ भन्नुको अर्थ कम्पनीले प्रतिसेयर २० रुपैयाँ कमाएको छ। अर्थात्, १ रुपैयाँ कमाउनका लागि लगानीकर्ताले दोस्रो बजारमा १५ रुपैयाँ तिरेको हुन्छ। अर्थात्, लगानीकर्ताले दोस्रो बजारमा गरेको लगानीको ६.६७ प्रतिशत प्रतिफल पाइरहेको छ भन्ने हुन्छ।

वित्तीय विवरणको आधारमा वर्षभर उल्लेखित २० रुपैयाँ कमाउने हो भने ३०० रुपैयाँ लगानी उठ्न १५ वर्ष लाग्छ भन्ने पनि पीई रेसियाले संकेत गर्छ।

अर्को अर्थ हो, अहिलेको ईपीएस प्राप्त गर्न १५ गुणा मूल्य दोस्रो बजारमा तिर्नुपर्छ भन्ने पनि हो।

यी विषय सैद्धान्तिक हुन्। सबैभन्दा ठूलो प्रश्न, ईपीएस कति शुद्ध, कति विश्वसनीय र कति तिरन्तर छ ? भन्ने हो। असार मसान्तसम्मको तथ्यांकको कुरा गरौं। २० मध्ये १४ बैंकहरूले चैत मसान्तको तुलनामा ईपीएस बढाएको देखिन्छ।

कतिसम्म पीई रेसियो ठीक हो त ? अन्तर्राष्ट्रिय अभ्यास अनुसार पीई १० भन्दा कम भएको संस्थाको सेयर किनिहाल्न सुझाव दिइन्छ। लक्ष्मी र ग्लोबल आईएमई सो अभ्यासअनुसार उत्तम सेयर हुन्। तर, नेपालमा यो लागू हुँदैन। राम्रो प्रतिफल दिने र कम मूल्य भएका वाणिज्य बैंकको पीई १५ भन्दा माथि छन्।

तर, कम पीई भएको कम्पनीको सेयर राम्रो भन्ने विषय पनि आफैं विवादित छ। सस्तो सामान राम्रो हुन्छ भन्ने ग्यारेन्टी नहुने विश्लेषक बताउँछन्।

माग र आपूर्तिले बजार मूल्य निर्धारण हुन्छ, क्षमताले मात्र होइन। मूल्य सस्तो हुनुले माग नभएको पनि संकेत गर्छ।

बजारमा जोखिम मोल्ने लगानीकर्ता पनि छन्। उनीहरू जोखिम मोलेर बढी पीई भएको कम्पनी पनि किन्न सक्छन्। भोलि बढी नाफा हुने आसले लगानीकर्ता अहिले बढी मूल्य हाल्न तयार हुन्छन्। कम पीई हुँदैमा राम्रो हो भने माइक्रोफाइनान्स वा बिमा कम्पनीको सेयर कसैले किन्दैनथे।

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.