ललितपुरमा अष्टमातृका नाच (तस्बिर)
काठमाडौं : ललितपुरको प्राचिन अष्टमातृका नाच सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) देखि नाच सुरु भएको हो।
यो नाच हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिन नकबहिल परिसरमा विधिवत् पूजा सम्पन्न गरेपछि सुरु हुने गर्दछ। त्यसपछि बाजागाजासहित नागबहाल—पट्को हुँदै मंगलबजार पुगेका देवगणहरुलाई तलेजु पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरि मूलचोकमा प्रवेश गराइन्छ र देवगणहरुद्वारा नाच देखाइन्छ।
फूलपाति र विजया दशमीका दिन दिउँसो मूलचोकमा यो नाच देखाइन्छ भने अन्तिम दिन अर्थात आश्विन शुक्ल एकादशीका दिन बेलुका नकबहिलको डबलीमा विषेश नाच देखाएर नासःछेँमा गई देवगणले मुकुण्डो निकालेपछि नाच सम्पन्न गरिन्छ।
यो मल्ल राजा श्रीनिवास मल्लको पालामा सुरु भएको हो। कोभिड महामारीको समयमा यो नाच हुन सकेको थिएन।
यो ३५० वर्षअघिदेखि चल्दै आएको हो। यसलाई पाटनका स्थानीयवासीले गः प्याखान पनि भन्छन्। मल्लकालमा मल्ल राजा श्री निवास मल्लले यो नाच सुरु गरेका थिए ।