कोशीको विद्रोहले कांग्रेसमा खटपट, गठबन्धनमा छटपट

कोशीको विद्रोहले कांग्रेसमा खटपट, गठबन्धनमा छटपट
फाइल तस्बिर।

काठमाडौं : कोशी प्रदेशमा पार्टीभित्र विद्रोह गरेर कांग्रेसका केदार कार्की मुख्यमन्त्री बने। कार्कीको यो निर्णयले तत्काललाई मध्यावधि चुनावमा जानबाट प्रदेश जोगियो। तर, यसले केन्द्र र प्रदेशमा सत्ता गठबन्धनभित्र फरक तरंगमात्रै ल्याएन कांग्रेसभित्रको आपसी विश्वास र तुष पनि छरपष्ट बनायो। 

यो घटनाक्रमसँगै गठबन्धन धर्मराउने डरले हतारहतार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोइरालालाई गठबन्धनमा सँगै छौं भन्ने देखाउन हस्ताक्षरसहितको माइन्युट नै लेख्न भ्याए। जसमा उनी, पार्टी सभापति शेरबहादुर देउवा र कोइरालाको हस्ताक्षर छ। त्यहाँ भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं। यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं।’

शीर्ष नेताहरूले गठबन्धनप्रति प्रतिबद्धता जनाउने भनिए पनि मुख्यमन्त्रीले आइतबार मन्त्री परिषद् विस्तार गर्ने क्रममा सत्ता गठबन्धनलाई झड्का दिए। एमाले सरकारमा छिराए। शपथ लिएलगत्तै कार्कीले कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई मन्त्रीमा नियुक्त गरे। 

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले कोशीको फेरबदल राजनीतिका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरूलाई अनौपचारिक छलफलका लागि बोलाए। बैठकमा उपप्रधान एवं रक्षामन्त्रीसमेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए। बैठकमा भएका विषयका बारेमा जानकारी दिँदै महामन्त्री विश्वप्रकाश शर्मा भन्छन्, ‘कुनै प्रदेशको मुख्यमन्त्री कांग्रेसको भागमा वा अर्कोको भागमा परेको भन्ने अवस्था नै छैन। त्यो कांग्रेसको भागको दिएको होइन। त्यो (कोशी) कांग्रेसको भागमा छँदै थिएन। कुनै प्रदेशमा कांग्रेसको भाग सिंगै हुनका लागि हामीले बहुमत ल्याएको हुनुप‍र्‍र्यो, सबै प्रदेश कांग्रेसलाई चाहिएको हो भने हामीले भविष्यमा बहुमत ल्याउन आवश्यक छ।’

छलफलमा सहभागी दुवै महामन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता डा. शेखर कोइरालाबीच शनिबार भएको सहमतिमा पनि आपत्ति जनाएका थिए। उनीहरूले जसले राजनीतिक फोहोर गरेको हो, सफा गर्ने जिम्मेवारी पनि सम्बन्धित व्यक्तिले नै लिनुपर्ने तर्क राखेका थिए। ‘गठबन्धनमा संकट आएको र यसलाई जोगाउनुपर्ने हो भने दुई पार्टीका प्रमुखले सहमति गरे हुन्थ्यो। गठबन्धन जोगाउन प्रतिबद्ध भएको हो भने किन कोशीमा कार्यान्वयन भएन ? कोशीमा जे भयो, त्यसको सम्पूर्ण जिम्मेवारी सभापति र नेता शेखर कोइरालाले लिनुपर्छ। हाम्रो कारणले प्रदेशमा संकट आएको होइन, जे भएको छ। त्यसको जिम्मेवारी सभापति र शेखरले लिनुपर्छ।’ 

महामन्त्री शर्माले सभापति समक्ष आपूmहरूले विस्तृत कुरा राखेको भन्दै, ‘अहिले जे भएको छ, त्यो घटनामा सभापति र फरक मत समूहको नेताले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ। उहाँहरू सुध्रिन आवश्यक छ। किन यो प्रकारको दुर्घटना भयो ? यसको सबैभन्दा ठूलो जिम्मेवारी, अंशियारी सभापतिले लिनुपर्छ।’ 

शर्माले कोशीमा कार्कीलाई मुख्यमन्त्रीमा विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल नभएको बताए। 

पार्टी सभापतिको व्यवहारले नतमस्तक मुख्यमन्त्री 

मुख्यमन्त्रीमा नियुक्ति भए पनि देउवाले आफूलाई भेट्न आएका कार्कीसँग कुनै आक्रोश पोखेनन्। कार्कीलाई देउवाले बधाई दिनुका साथै पार्टीमा सल्लाह गरेको भए हुन्थ्यो भनेका थिए। देउवाले आफूले पहिले नै मुख्यमन्त्री बनाउन खोजेको, तर पार्टीभित्र सहमति हुन नसकेको बताएका थिए। ‘पार्टीलाई म्यानेज गरेर गएको भए हुन्थ्यो। तर, संविधानअनुसार नै मुख्यमन्त्री बन्नुभयो, तपाईंलाई बधाई छ,’ सभापतिको यो कुरा सुन्दा कार्की निकै खुसी देखिएको भेटमा सहभागी एक नेताले बताए।’ ती नेताले भने ‘मुख्यमन्त्रीजीलाई भेट अघि केही न केही भन्नुहोला। रिस केही व्यक्त गर्नुहोला भन्ने थियो तर सभापतिजीले देखाएको सौहाद्र्रताले उहाँ नतमस्तक हुनुभयो।’

शनिबार बिहान मुख्यमन्त्री नियुक्त भएका कार्की साँझ काठमाडौं आएका थिए। काठमाडौंको त्रिभुवन विमानस्थलबाट उनी सोझै शेखर कोइरालाको निवास, डा. मीनेन्द्र रिजालसँग भेट गरेपछि कार्की देउवासँग भेट्न पुगेका थिए। आइतबार बिहान केपी शर्मा ओलीसँग भेट्न बालकोट पुगेका कार्कीले आफू एमालेसँग गरिएको समझदारीबाट पछाडि नहट्ने बताएको स्रोतको भनाइ छ। 
 
उता शेखरले भने कार्कीलाई केन्द्रबाट हरेक निर्णय र दबाब लादिएको परिणामले कोशी आज यस्तो हालतमा पुगेको भन्दै प्रदेश आफ्नो हिसाबले चलाउन आदेश दिएका छन्। सानो आकारको मन्त्री परिषद् विस्तार गर्न पनि शेखरले सुझाव दिएका छन्।

कोशी कांग्रेसभित्रै पनि कार्कीको विषयलाई लिएर असन्तुष्टि सुरु भइसकेको छ। कोशीकै एक कांग्रेस सभासद् भन्छन्, ‘कोशी कांग्रेसमा अब कसरी अगाडि बढ्ने भनेर कुनै सुझाव सल्लाह नगरी एक्कासी केन्द्रमा ढोगभेट गर्न पुग्नुभयो। अरू र उहाँमा के फरक भयो र ? बरु अन्य साथीहरू पहिला प्रदेशकै साथीलाई प्राथमिकता दिनुहुन्थ्यो। यसमा उहाँले विचार पुर्‍याउनुपथ्र्यो। खुड्किलाहरू धेरै पार गर्नु पर्नेछ।’

कांग्रेस नेता गुरु घिमिरे भने कोशीको विषयमा अहिलेको संकट टरेको बताउँदै भन्छन्, ‘मुख्य चुनौती अब मुख्यमन्त्रीलाई छ, किनकि उहाँ कांग्रेसको एउटा विद्रोही पक्ष र कांग्रेसको प्रतिद्वन्द्वी एमालेको समर्थनमा मुख्यमन्त्री बन्नु भएको छ। उहाँलाई कांग्रेसको मूल पक्षले पनि मुख्यमन्त्री मानेको छ। तर मन्त्रिपरिषद् विस्तारको पहिलो दिनमै त्यो पाटो छुट्यो। उहाँलाई चुनौती छ। तर संयमता र सल्लाह लिनु आवश्यक छ।’

एमाले अब कसरी प्रस्तुत हुन्छ त्यसले पनि मुख्यमन्त्रीको चुनौती निर्धारण गर्ने घिमिरे बताउँछन्, ‘एमाले कसरी प्रस्तुत हुन्छ सबै कुरा त्यसैले निर्धारण गर्ने हो। सत्ता गठबन्धनको त उहाँलाई साथ नै होला। भोलि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ। त्यतिबेला आफूलाई हस्ताक्षर गरेका ४७ जनाको मात्र विश्वासको मत लिने वा अरूलाई पनि समेट्ने ? एमालेको विश्वाससँगै कांग्रेसको विश्वास बढाएर जान सक्नुहुन्छ।’

नेता अर्जुननरसिंह केसी भने कोशी घटनाले न त गठबन्धन टुट्छ न पार्टी फुट्छ यसले मात्र पार्टी नेतृत्वलाई सच्चिन आग्रह गरेको बताए। ‘कोशीको प्रसंग मनपरी ढंगले पार्टी सञ्चालन गर्नेलाई खबरदारी हो। यो विषयमा कोशी प्रदेशका कांग्रेसका शीर्ष नेतासँग सल्लाह गरेर जाऔं भनेर प्रस्ताव राखेको हो। त्यो समयमा हुन नसकेको हो। समयमा सल्लाह सुझाव लिएर अगाडि बढेको भए अहिले फरक अवस्था आउथ्यो।’ 

महामन्त्रीले दिए चुनौती : नेतृत्व नसच्चिए हामी हस्तक्षेप गर्छौं

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला नसच्चिए आफूहरूले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। कोशीमा सभापति र शेखरले आवश्यक ढंग नपु‍र्‍याउँदा संकट आएको भन्दै उनीहरू नबदलिए आफू र महामन्त्री गगन थापाले हस्तक्षेप गर्ने चेतावनी दिएका हुन्। कोशी घटनालाई डँढेलो बन्न नदिन संयम र परिपक्वता राखौं भन्दै शर्माले सामाजिक सञ्जालमा लामो व्याख्या गर्दै यस्तो चेतावनी र आग्रह गरेका हुन्। 

विश्वप्रकाशले सामाजिक सञ्जालमा लेखेका छन् ‘सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देश गरेको स्थिति हो। गणित नै त्यस्तो छ एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न सक्दैन। यस्तो बेला नेतृत्वले निरन्तर संवादमार्फत संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी छ। अनि जरुरी छ गम्भीर आत्मसमीक्षा व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनुभयो, न फरक विचार समूहको नेताले आफ्नै समूहभित्र साझा मत खोज्नुभयो। थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्न। जमाना बदलिएको छ, अब तपाईंहरू बदलिनुस। हामी बदलिन तयार छौं।’

अर्का महामन्त्री गगन थापाले कांग्रेसलाई कांग्रेसजस्तो बनाउने बताएका छन्। महामन्त्री थापाले कांग्रेसलाई माओवादीकरण र एमालेकरण हुन नदिइने बताएका हुन्। ‘कांग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो। कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, यसको छवि उज्यालो बनाउँदै नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौँ।’ महामन्त्री थापाले एमाले र माओवादीले मात्रै नभएर का‌ंग्रेसलाई राप्रपाले समेत खेलाएको भन्दै ‘कांग्रेसलाई कहिले एमालेले खेलाइदिने, कहिले माओवादीले खेलाइदिने। अहिले त राप्रपाले पनि खेलाइदियो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.