गाउँकै खुसी बनेर फर्किए नीतिन
कञ्चनपुरको कृष्णपुरका नरेशसिंह भण्डारी (नीतिन) को घरमा पनि खुसीको सीमा छैन। नीतिनले इजरायलमा भएका नेपाली विद्यार्थीको उद्धारका लागि दूतावास, एनआरएन र नेपाल सरकारलाई खबर गर्ने गरी नेतृत्व गरेका थिए।
नरेशकी आमा मस्तिष्कको बिरामी छिन्। उनका बुवा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक हुन्। बैतडीको पाटन नगरपालिका—१ बाट ७-८ वर्ष अघिमात्रै तराई झरेका उनको परिवार पनि सामान्य परिवार हो। कञ्चनपुरको बाणी भन्ने स्थानमा डेढ कट्टामा उनको घर छ।
नरेशले डँडेलधुराको घनघस्या माविबाट एसएलसी गरेपछि धनगढीको ऐश्वर्य विद्या निकेतनबाट आईएस्सी गरे। टीकापुरको स्कुल अफ एग्रिकल्चरबाट बीएस्सी एजी गरेर इन्टर्नसिपका लागि इजरायल गएका उनी पनि बाँचेर नेपाल फर्केका हुन्। हमास बाहुल्य क्षेत्र मानिएको गाजापट्टीबाट १३ किलोमिटरको दूरीमा रहेका उनले आफ्ना साथीहरूको भिडियो हेरेपछि बाँचेर घर आउने आस मारिसकेका थिए।
उनी नेटिभोट सिटी नजिकको सरसरेट बिनिअभर फार्मका कार्यरत थिए। ‘शनिबारको दिन थियो। हाम्रो पालो खाना बनाउने थियो। फार्म हाउसमा काम गर्ने बेला कसैले काम गर्ने कसैले खाना बनाउने पालो हुन्छ। बिहानको ५ बजेको थियो होला। अचानक साइरन बज्यो। इजरायलको सीमा बाहिरबाट सीमाभित्र चरा पनि आयो भने साइरन बज्ने गर्छ। सुरक्षाका लागि उससँग राम्रो टेक्नोलोजी छ। तर, कहिलेकाहीँ बज्ने साइरन लगातार बजेको बज्यै भएकाले हामीहरू पनि आत्तियौं। त्यसपछि साथीहरूका म्यासेन्जर ग्रुपमा आफूहरू खतरामा रहेको म्यासेजहरू आउन थाले। सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जनाकै म्यासेन्जर ग्रुप थियो। उनीहरूले आफूहरू माथि हमासले गोली बर्साएको अडियो भिडियो पठाइरहेका थिए’ नरेशले भने।
‘हामीलाई साथीहरू घाइते भइसकेको, एम्बुलेन्स पठाउनु भन्दै म्यासेज आइरहेका थिए। हामीले सुरक्षा निकायलाई खबर गरी एम्बुलेन्स पनि गयो तर हमासका आतंकवादीहरूले जान दिएनन्। हाम्रा साथीहरूको समयमा उद्धार हुन नपाएर ज्यान गएको हो।’
उनले शनिबारका दिन इजरायलमा बिदा जस्तै हुने बताए। ‘शनिबार इजरायलमा होली डे जस्तै हुन्छ। सडकमा त्यहाँको सार्वजनिक यातायात पनि चल्दैनन्। त्यही दिनको मौका छोपेर ठूलो हमला भयो। तर त्यसमा बाँच्न सफल भइयो’ नरेशले भने।
नरेशले परदेशमा परेको पीडापछि मात्रै देशको याद आउने बताए। ‘घरदेशको याद परदेशमा गएमात्रै आउँदो रहेछ। इजरायलले युद्ध घोषणा गर्यो। अर्काको देशमा युद्धका बेला जो जतिबेला पनि मारिन सक्ने भएकाले हामीले छिटो उद्धारको माग गरेका हौं। सरकारले सुन्यो पनि, त्यसका लागि धन्यबाद’ उनले भने।
‘आकाशमा हजारौं रकेटहरू बर्सिरहेका छन्। इजरायलको सुरक्षा संयन्त्रले ती रकेटहरूलाई निस्तेज पारिरहेको छ। आकाशमा लडाकु विमान उडेका उड्यै छन्। विस्फोटको कोलाहल मच्चिएको छ। आकाशमा पटाका पड्केझै बंग—बंग आवाज आइरहेको छ। त्यतिबेला नजिकको बंकरमा पसी हाल्नुपर्ने, कस्तो कस्तो ‘फिलिङ’ आयो, त्यसको बयान शब्दमा गर्न सकिँदैन’ रमेशले भने।
उनले आफ्नो जन्मभूमिको माया कस्तो हुँदो रहेछ भने इजरायलको विमानस्थलमा बिताएको समयमा थाहा भएको बताए। ‘नेपालबाट जहाज उड्नुभन्दा झन्डै ८÷९ घण्टाअघि हामी इजरायलको बेनगौन इन्टरनेसनल एयरपोर्ट पुगिसकेका थियौं। ती ८ घण्टा हाम्रा लागि आठ दिनभन्दा कम्ता थिएनन्। हामीले ‘रडार’ नामको एप्स डाउनलोड गरेर ध्वजावाहक कहाँ पुग्यो भनेर लोकेसन हेरिरहेका थियौं। त्यो एप्समा जहाजको लोकेसन पत्ता लाग्छ। जब ध्वजावाहक बेनगौन इन्टरनेसनल एयरपोर्टमा ल्यान्ड भयो, त्यतिबेला गह भरिए, अब बाँचिन्छ भन्ने आस पलायो। विमानस्थल पुगेका २ सय ३५ जनामध्ये प्रायः सबैका आँखामा आँसु थिए। दसैंको मुखमा परिवारसँग मिलनको कल्पना थियो’ नरेशले भने।
उनीहरू घर पुगेपछि अर्को रुवावासी थियो खुसीको। ‘बुवा त कालीकोट ड्युटीमा हुनुहुन्थ्यो, आमा अँगालो हालेर रुनु भयो। परिवारको मिलनमा मेरा पनि आँसु रोकिएनन्। परिवारमा मात्रै होइन, छिमेकीहरू पनि घरमा जम्मा भएका थिए। मिल्ने साथी र आफन्तहरूका बीचमा रुवावासी चल्यो’ नरेशले भने। ‘सरकारले नेपाली युवाहरूलाई नेपालमै रोजगारीको अवसर जुराओस्।’