युद्धको समाचार सुन्थ्यौं, आफ्नै सन्तानले भोग्नु पर्यो
इजरायलबाट फर्केका कञ्चनपुरकै कृष्णपुर नगरपालिका– २ बाणीका प्रकाश भारतीको घरमा पुग्दा अझ रमाइलो थियो। बुवा गगन भारती, उनको कान्छो भाइ मनोज भारती र आमा लक्ष्मी खाना खाँदै थिए। घरभन्दा अलि परको भान्सामा डायनिङ लगाएर दुई भाइ छोरा र बुवा एकै टेबुलमा खाना आइरहेको दृश्यले अझ माहोल भावुक बनेको थियो। प्रकाश त्रिभुवन विश्वविद्यालयअन्तर्गतको लमजुङ कृषि क्याम्पसबाट बीएससी एजी पास गरेर ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल गएका हुन्।
प्रकाशका बाजे डँडेलधुराको गन्यापधुराबाट २०२५ सालतिर तराई झरेका हुन्। बुवा गगन भारती र आमा लक्ष्मीका माइला छोरा हुन् प्रकाश। उनका दाइ फार्मेसी पढेर काठमाडौंमा जागिरे छन्। कृष्णपुरकै कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलबाट एसएलसी गरेका प्रकाशले महेन्द्रनगरको रेडियन्ट कलेजबाट आईएस्सी गरे। त्यसपछि बीएस्सी एजीका लागि लमजुङ कृषि क्याम्पस गए। त्यतिबेला सुदूरपश्चिम विश्वविद्यालयमा बीएसस्सी एजी थिएन। लमजुङबाट बीएसस्सी एजी पास गरिसकेपछि उनीसहित त्रिभुवन विश्वविद्यालयका ७२ जना इजरायल गएका हुन्।
उनका बुवा गगन भारती सशस्त्र वन रक्षकको जमदार पदबाट सेवानिवृत्त हुन। वन रक्षकको कमाइबाट उनले तीनै छोरालाई प्राविधिक शिक्षा दिए। जेठोले फार्मेसी, माइलो प्रकाशले बीएस्सी एजी र कान्छो मनोजले ओभरसियरको पढाइ सकाएका छन्। प्रकाशले इजरायलको उत्तरी क्षेत्रमा रहेको च्याम्पिगौन च्याउ फार्ममा काम पाएका थिए। त्रिभुवन विश्वविद्यालयका सबै ७२ जना त्यही कृषि फार्ममा काम गरिरहेका थिए। ‘हाम्रो फार्म भएको क्षेत्र सुरक्षित थियो। शनिबार हमासले आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गर्यो। हामी सुरक्षित भए पनि त्रिभुवन विश्वविद्यालयले सबैलाई फर्किन आह्वान गर्यो। केही दिनको लडाइँ भए त नआउने मन लागेको थियो, तर युद्ध नै घोषणा भएपछि फर्किनु पर्यो’ प्रकाशले भने। उनले दुई रात भोकभोकै बसेको अनुभव सुनाए। ‘हामी बसेको स्थानमा ‘ओपन बंकर’ थिए। हामीले फार्म मालिकलाई अन्डरग्राउन्ड बंकरमा सार्न माग गर्यौं। फार्म मालिकले सुरक्षाकर्मीको सहयोगमा हामीलाई दुई दिनसम्म अन्डरग्राउन्ड बंकरमा राख्यो। सामान्य ड्राई फुड खाएर बसियो। तेस्रो दिन त जहाज आइहाल्यो, अनि नेपाल फर्कियौं’ प्रकाशले भने।
तीनवटै छोरालाई प्राविधिक शिक्षा पढाएका बुवा गगन भारतीले शनिबारको बिहान रेडियोबाट इजरायलमा आक्रमणको खबर थाहा पाएको बताए। ‘रेडियोमा आक्रमणको खबर सुने। अनि प्रकाशलाई म्यासेन्जरबाट फोन लगाउन खोजे केही घण्टासम्म लागेन। बल्ल शनिबारको दिउँसो म्यासेन्जरमा फोन त भयो, प्रकाशले आफूहरू सुरक्षित भएको त भन्यो तर मन के मानोस, तीन÷चार दिनको समय हामीहरूले रोएर बितायौं’ प्रकाशका बुवा गगन भारतीले भने। आमा लक्ष्मीले पनि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको खबर रेडियोबाट थाहा भएको बताइन्। ‘१० जनाको मृत्युको खबर सुनें। छोरासँग शनिबार कुरा त भयो तर मन मानेन। गएको महिना दिन भएको थिएन। जाने बेला लागेको तीन÷चार लाख रकम तिर्नै थियो तर पनि हामीले त्यो ऋण जसरी पनि तिरौला, घर फर्किन भन्यौं, त्यसपछि तीन÷चार दिनसम्म खाना बनेन हाम्रो घरमा’ आमाले भनिन्।
‘म त टीभीको अगाडिमात्रै हुने। त्यत्रा घरहरू धुवाँधुवाँ भएको देखेर त यतै पनि कस्तो डर लाग्थ्यो। त्यत्रो लडाइँ भइरहेको देखेपछि, छोराले आफू सुरक्षित छु भनेको पत्याउने पनि कसरी ?’ लक्ष्मीले भनिन्। ‘केन्द्रको सरकार र कृष्णपुरमा मेयर हेमराज ओझाले जुन प्रकारको सहयोग गरे, त्यसका लागि धन्यवाद छ’ लक्ष्मीले भनिन्। फर्केका अधिकांश विद्यार्थीले गएदेखिको पारिश्रमिक पनि पाएका छैनन्। उनीहरूको सामान पनि उतै छ। उनीहरूलाई घण्टाको झन्डै एक हजार नेपाली पारिश्रमिकमा इजराल लगिएको थियो। कम्तीमा महिनाको ढाईदेखि तीन लाख रकम कमाइ हुने उनीहरूको सम्झौता भएको थियो। ‘पारिश्रमिक युद्ध मत्थर हुनेबित्तिकै पठाइदिने भनिएको छ। हामीहरूको सामान पनि पछि पठाइदिने भनिएको छ। राजदूतावास र एनआरएनका पदाधिकारीहरूलाई त्यसको जानकारी छ। उहाँहरूले पनि सामान पठाउन सहजीकरण गरिदिने भन्नु भएको छ’ फर्केका युवा रमेश कार्कीले भने।