कनकसिंहको कोर्रा, भद्री बाबाको न्याय
नेपालमा एक ऐतिहासिक मुसहरको वीरता सुनाउँदा जो पनि आफूलाई गौरवान्वित महसुस गर्छ। मुसहर दम्पतीको सन्तानको रूपमा जुम्ल्याहा वीर सन्तान पैदा भए। जेठो दिनाराम र कान्छो भद्री। एकापसमा अत्यधिक मायाप्रेम गर्ने। उनीहरूको वाणीको वर्णन गर्दा कोही थाक्दैनन्। रामायणको राम–लक्ष्मणजस्तै कान्छो भाइ सदा आदेशको पालन गर्ने। उनीहरूमा काललाई पनि न्याय सिकाउने आत्मविश्वास थियो। अनि जस्तोसुकै अन्यायी शक्तिसँग नडराउने दह्रो इच्छाशक्ति पनि।
उनै अनौठो वीरहरूको पुरुषार्थ आज पनि अन्तर्राष्ट्रिय जगत्मा सर्वव्यापी छ। दिनाराम तथा भद्रीको जन्मस्थानको नाम नेपालको सप्तरी जिल्लामा पर्ने जोगिया जाँजर गाउँ थियो। हाल बोदेबर्साइन नगरपालिकाको जोगिया टोलको ठूलो चौरमा पर्छ। दिनाराम–भद्रीको चर्चा, वीरताको गाथा तथा लोककथाको वर्णन उत्तरी नेपाल तथा दक्षिणी भारतको जनजिब्रोमा छलंगै छ। दुवै हिन्दु देवताको रूपमा अन्तर्राष्ट्रिय जगत्को हजारौं देवालयमा सुपूजित छन्। यिनका नाममा थुप्रै मन्दिर छन्। जन्मेदेखि यी जुम्ल्याहा अनेक जटिलताहरूको अनुसन्धान गर्थे।
टाढाको वनजंगलमा विचरन गर्ने र जंगली फलफूल तथा कन्दमूल खाएर बाँच्थे। बुवाआमासँग अनुमति लिएर बिनागुरुको अनेक प्रकारको अनौपचारिक शिक्षाको अभ्यास गर्थे। रुख, जीवजन्तु र विश्वलाई गुरु मानेर नाना प्रकारका गुण ज्ञानको अभ्यास गर्दै थिए। सोही ठाउँको तत्कालीन शासकको कनकसिंह (धामी) र उनको धर्मपत्नीको नाम बुधनी सिंह (धम्याइन) थियो। जो शासक आठकोसे जमिन्दार र धनी राजा कहलाउँथे। क्रोधित अवस्थामा त उनको अघि पर्ने मान्छेको सातोपुत्लो जान्थ्यो रे। उनको कुरा काट्ने साहस कोही गर्दैनथे। जसको आज्ञापालन नगर्नेले मृत्युदण्ड पाउँथ्यो, कोर्रा पाउनेका त कुरै भएनन्।
राजाको व्यक्तिगत चरित्रको चर्चा जताततै भइरहन्थ्यो। उनको अमानवीय क्रियाकलापको कुरा घरघरमा कानेखुसी हुन थाल्यो। उनको आदेशको संकेत मात्रैले सीमाभित्र र बाहिर भूकम्प जान्थ्यो। बालबालिकादेखि महिला र बूढापाकासमेत त्रसित भई खेतमा काम गर्न जान्थे। दिनभर काम गरे पनि डरले पारिश्रमिक माग्ने साहस कसैले गर्दैनथे। एक छाक खाएर पनि राजाको खेतबारीमा काम गर्नुपथ्र्यो।
अति भएपछि एक महिलाले अवज्ञा गरिन्। आदेशको अवहेलना गर्ने महिलाको नाम मन्त्रीबाट राजासम्म पुग्यो। कनकसिंह अति क्रोधित भई घोडा चढे। तुरुन्तै त्यो महिला निरसो सदायको (मुसहरनी) घर पुगे। उनको छाप्रो गाउँको अन्तिम भागमा थियो। राजा आउने सुनेपछि बिहानैदेखि घर छोडेकाले पूरै टोल मानिसविहीन शून्य थियो। थिए त अशक्त र अति वृद्ध थिए। राजाले लुकेर बसेकी ती बूढी महिलालाई कोर्राले मर्ने गरी पिट्न थाले। ‘मेरो खेतबारीमा काम गर्न नजाने ?
भोलिदेखि पनि यस्तै रवैया रह्यो भने मृत्युदण्ड दिनेछु’ भन्दै राजा फर्के।
संयोगवश दिनाराम–भद्री दुवै दाजुभाइ घरमै सुतिरहेका थिए। बिहानै ३ बजेदेखि ८ बजेसम्म दैनिक शारीरिक व्यायामको कोर्स पूरा गर्थे। राजाबाट दर्दनाक चोट पाएकी आमा निरसोले पीडा लुकाउन सकिनन्। अन्ततोगत्वा छोराद्वयले पनि यो दर्दनाक घटनाको चाल पाइहाले। अनेक विधिले फकाएर कसले पिटेको र किन पिटेको आदि सबै पत्ता लगाए। ठूलो यात्राकै श्रीगणेश पनि एउटा पाइलोबाट हुन्छ। निरसोको पिटाइ थियो निरंकुशता नासको महान् यात्रा। जेठो छोरो दिनाराम आमालाई स्याहार्न थाले। कान्छो भद्री चाहिँ आमा र दाइको अनुमति लिएर कनक सिंहलाई भेट्न गए। राजालाई सम्झाएर फर्किन्छु भनी उनको घरतिर लम्किए। तीव्र गतिमा दगुर्दै थिए। राजाको घर पुग्नुपूर्व एक ठूलो चौर थियो।
त्यही चौरको मध्यभागमा घोडा सवार गर्दै जुँगा बटारेर हिँडेका राजासँग जम्काभेट भयो। भद्रीको राजासँग प्रथम भेट थियो। विनम्र शब्दमा भद्रीले आमालाई कठोर दण्ड दिनुको कारण सोधे। मालिक अति क्रोधित भई भद्रीलाई गाली गरे। गालीबेइज्जती असैह्य भयो उनलाई। त्यसपछि प्रतिउत्तरमा भद्रीले जबाफ फर्काए। राजाले घोडाबाटै आफूलाई कोर्रा हान्न खोज्दा रिस थाम्न नसकी भद्री आकाशतिर उफ्रँदै गरेको घोडालाई लात हाने। घोडासँगै मालिक भुइँमा लडे। भद्रीले राजालाई हात र लातले सक्दो प्रहार गरे। उद्घोष गरे, ‘आइन्दा मेरा बाआमामाथि हात उठाइबक्सियो भने मौसुफलाई मृत्युदण्ड दिनेछु महाराज।’ क्षणमै दया जागेपछि उनले भने, ‘महाराज, आक्रोशित भई मौसुफलाई हातपात गरेकोमा क्षमाप्रार्थी छु। दुःख नमानी बक्सियोस्। महाराजको आक्रामक चरित्र सुधार्न हात जोरेर प्रार्थना गर्छु।’
मालिकको शरीर रक्ताम्य भयो। उनका दुइटा दाँत झरे। जेनतेन उठेर चारैतिर हेरे, कसैले देख्यो देखेन ? सार्वजनिक लाजशरमलाई कसरी लुकाउनु ? भन्ने लाग्यो राजालाई। प्रश्नहरूको ज्वारभाटामा परे उनी। लुकीछिपी जसोतसो लड्दैपड्दै घर फर्के। पिटाइको प्रतिशोध लिन रानी बुधनीले अनेक तन्त्रमन्त्र प्रयोग गर्न थालिन्। तान्त्रिक विद्याको बाँण चलाउन थालिन्। छलकपटको प्रयोग गर्दै दिनाराम–भद्रीलाई मार्न अनेक षड्यन्त्र गर्न थालिन्। ती दाजुभाइलाई ती बुधनीले मृत्युको जालमा फसाइन्। तर स्वेच्छाले देहत्याग गर्नु परेको भन्ने जनविश्वास बनाइयो।
तर पनि ती दाजु–भाइ अनेक रूपमा प्रकट हुन थाले। प्रकट हुने र तुरुन्त लुप्त हुने प्रक्रिया बारम्बार दोहोरिन थाल्यो। दुष्ट र असुरहरूलाई आफ्नो परिचय दिँदै मार्न थाले। क्रमशः दिनाराम–भद्रीले यसरी ‘विविधरूपमा अवतरित भई त्यहाँका दर्जनौं निरंकुश शासकलाई मारेर सामाजिक न्यायको स्थापना गरेका थिए’ भने जनविश्वास छ।