सात घण्टापछि कोसी राजमार्ग खुल्यो
धनकुटा : स्थानीय प्रशासनद्वारा पक्राउ गरिएका पहिचानवादी नेताहरुलाई रिहाइ नगरेको भन्दै आह्वान गरेको बन्द सात घण्टापछि खुलेको छ । स्थानीय प्रशासनसँग भएको छलफलमा पहिचानवादी नेताहरु रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भएपछि प्रदेश १ पुनः नामकरण संघर्ष समितिले आह्वान गरेको बन्द खुलेको हो ।
समन्वय समितिका संयोजक सञ्जयसन्तोषी राईका अनुसार परेकाहरुलाई बिनासर्त छाड्ने सहमति भएको र केही समय लाग्ने भएको प्रशासनले बताएपछि दशैँ मनाउन हिँडेका यात्रीलाई मध्यनजर गर्दै बन्द खोलिएको हो । धनकुटाको राजारानीमा चार वटा गाडी तोडफोड गरेको आरोपमा पक्राउ परेका राजारानीका मनकुमार कमार याम्फु, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई कारवाही नगरी बिनासर्त छोड्नुपर्ने माग गर्दै संघर्ष समितिले अनिश्चितकालीन् बन्दको आह्वान गरेको थियो ।
बिहानैदेखि आन्दोलनकारीहरुले कोसी राजमार्ग बन्द गराएका थिए । बन्दको कारण कोशी राजमार्गमा धनकुटासहित भोजपुर, संखुवासभा र तेह्रथुम गुड्ने गाडीहरु रोकिएका थिए । आन्दोलनकारीले भेडेटार र धनकुटाको फोक्लेन टापुमा गाडि रोकेका थिए ।