मनास्लु क्षेत्रमा हिमपात, हेलिकोप्टरबाट पर्यटकको उद्धार
गोरखा : गोरखाको मनास्लु क्षेत्रमा मंगलबार पहिलो पटक हिउँ परेको छ। दिनभर बादल लागेर मौसम प्रतिकूल भएपछि सोमबार र मंगलबार हिउँ परेको चुमनुब्री गाउँपालिका-१ सामागाउँका वीरबहादुर लामाले जानकारी दिए।
‘यो यसवर्षको पहिलो हिमपात हो’, लामाले भने, ‘विगतमा पनि फाट्टफुट्ट असोजमै हिउँ पर्थ्यो। यसवर्ष पनि असोजको अन्तिम दिन हिउँ परेको छ।’
समुद्री सतहबाट ३८०० मिटर उचाइमा रहेको साम्दो र ३३०० मिटर उचाइमा रहेको सामागाउँमा हिउँ परेको हो। हिमपात भएपछि मनास्लु क्षेत्र भ्रमणमा गएका तीनजना पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
गोरखाको अन्तिम गाउँ साम्दो पुगेका आन्तरिक पर्यटकहरू कपिल घिमिरे, वसन्त घिमिरे र सुवोध अर्याल हिमपातपछि बिरामी परेकाले हेलिकोप्टरबाट उद्धार गरिएको सो क्षेत्रका सांसद राजेन्द्र बजगाईंले जानकारी दिए।