नयाँ पुस्ताका चाहना र चुनौतीलाई सामना गर्न पार्टी गठन गरेका हौं : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ पुस्ताका नयाँ चाहना र चुनौतीलाई सामना गर्न पार्टी गठन गरेको बताएका छन्।
मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको दुईदिने नीति मन्थन कार्यक्रमको समापन समारोहमा बोल्दै लामिछानेले पुराना दलहरूबाट युवापुस्ताहरूले गरेको आशा भरोसा कायम गर्न नसक्ने देखिएकाले नयाँ पुस्ताका नयाँ चाहना र चुनौतीलाई सामना गर्न पार्टी गठन भएको बताए।
उनले ढिलो दर्ता भएका आधारमा पार्टीलाई नयाँ भनेको नभई युगले खोजेको नयाँ पार्टी भएकाले नयाँ पार्टी भनेको जिकिर गरे। गत निर्वाचनमा जनताहरूले परिवर्तनको चाहना राख्दा पनि पुराना दलहरूप्रतिको विश्वासलाई निमिट्यान्न नपारेको अवस्था रास्वपालाई अवगत रहेको भन्दै उनले जनताको चेतनालाई चुनौती दिन हैसियत नभएको धारणा राखे। जनताको चेतनालाई चुनौती नदिन उनले अन्य दललाई पनि अनुरोध गरे।
लामिछानले सामाजिक, आर्थिक लगाएतका आयामहरू एकै ठाउ नआएसम्म समृद्ध समाज निर्माण हुन नसक्ने बताए। रास्वपा समावेशी उदार लोकतान्त्रिक पार्टी भएकाले आफ्नो नीति र सिद्धान्तमा स्पष्ट रहेको उनको भनाइ छ।