जवाफ पाऊँ

जवाफ पाऊँ

सम्माननीय, माननीय, तथा आदरणीय :

हे.. जीवित ८ प्रधानमन्त्रीहरू,
हे.. जीवित सम्पूर्ण अर्थमन्त्रीहरू,
हे.. जीवित सम्पूर्ण अर्थसचिवहरू,
हे.. जीवित नेपाल राष्ट्र बैंकका गभर्नरहरू,
हे.. राष्ट्रिय योजना आयोगका सबै जीवित उपकुलपतिहरू,
हे.. नेपालको अर्थतन्त्रका सबै विज्ञ, सल्लाहकार, दिग्गज, प्राध्यापकहरू,
हे.. विश्व बैंक, एसियाली विकास बैंक, आईएमएफ आदिमा नेपालको अर्थतन्त्रमा विश्वव्यापी रूपमा काम गर्ने सबै उज्ज्वल विद्वान्हरू,
हे.. नेपालको अर्थतन्त्रमा व्यापक रूपमा काम गरिरहेका हार्वर्ड, स्ट्यानफोर्ड, अक्सफोर्ड, क्याम्ब्रिजका विद्वान्हरू,
हे.. नेपाली विश्वविद्यालयका अर्थशास्त्र विभागका डिन, प्राध्यापक, व्याख्याताहरू,
हे.. नेपालको अर्थतन्त्रमा पदक, पुरस्कार, सम्मान प्राप्त गरेकाहरू,
हे.. नेपाली अर्थतन्त्रको क्षेत्रीय तथा विश्वव्यापी परिप्रेक्ष्यमा विश्लेषण गर्ने विज्ञहरू,
हे.. आर्थिक राजदूतहरू, व्यापार र अर्थतन्त्रका मिसन प्रमुखहरू, अर्थव्यवस्था टास्क फोर्सका आयुक्तहरू,
हे.. आर्थिक अनुसन्धान तथा योजना प्रमुखहरू, प्रभाव विश्लेषकहरू, अनि आर्थिक पत्रकार तथा स्तम्भकारहरू,

यो उत्साहले भरिनुपर्ने चाडपर्वको समयमा समेत शान्त बजार, अपेक्षाकृत चापभन्दा सुस्त बस र राजमार्गसहितको यो सन्दर्भमा तपार्इंहरूको  सुस्वास्थ्य र खुसीको शुभकामना दिँदै आज एक नेपाली नागरिकको हैसियतले केही प्रश्न सोध्न आवश्यक देखेँ।
– हाम्रो देशको अर्थतन्त्रमा ३ वर्षदेखि के भइरहेको छ ?
– किन सबै स्थिर देखिन्छन् ?
– किनबेच, व्यापार र उत्साहको प्रवाह किन छैन ?
– किन सबैले ‘पैसा छैन’ मात्र भनिरहेका छन् ?
– यस्तो चाडपर्वको मौसममा पनि सारा राष्ट्रले अज्ञात क्षतिको शोक मनाएजस्तो वातावरण किन छ ?
– यहाँ वास्तवमा के भइरहेको छ ?
तपाईँहरू माझ यस्ता कैयौं प्रश्न लमतन्न छन्।  जवाफ पाऊँ। 

जवाफ पाऊँ। के तपाईंहरूले सही बीउ रोप्न असफल हुनुभयो ? वा, नेपालको अर्थतन्त्रमा आजको समस्याको वास्तविक कारण पत्ता लगाउन असक्षम हुनुहुन्छ ?
के तपाईँहरू सही विश्लेषण गर्न र कार्यको सही मार्ग लिन असफल हुनुभएको हो ? वा, तपाईँलाई के भइरहेको छ भन्नेबारे कुनै विचार वा चिन्ता नै छैन ?
हामी गम्भीरतापूर्वक महसुस गर्छौं कि तपाईं सबै जिम्मेवार हुनुहुन्छ र यो विषयबाट भाग्नु हुँदैन। हामी तपाईंहरूबाट स्पष्टीकरण चाहन्छौं।

०००

तपाईंहरूमध्ये धेरैले मुख्यतः 
१. संकुचित जीडीपी
२. विकास बजेट खर्च गर्न असक्षमता
३. रेमिट्यान्स आय,
र, ४. औद्योगिकीकरणको कमी र आयात निर्भरता 
अर्थतन्त्रका सुस्तताका प्रमुख समस्याहरूका रूपमा उद्धृत गर्नुहुन्छ। के तपाईंहरू आफ्नो कान नै नाछामी कागको पछि त लागिरहनु भएको छैन ? किन कि विगत ३ वर्षदेखि आमजनतालाई समस्याको ठोस किटान र निदान गर्ने उपायहरूमा प्रवेशै नगरी तपाईंहरू माथिका कारणकै सुगारटाई गरिरहनुभएको छ।
तर, विगतका वर्षहरूमा पनि यी मुद्दाहरू व्याप्त थिएनन् र ? के तपाईँहरूले रटे जसरी भनिने यी समस्याहरू नयाँ छन् ? त्यसो भए के फरक परेको छ ? किन नयाँ कारणहरूबारे कुरा गरिरहनुभएको छैन ? र, यदि तपाईंले भनेका कारण सही हुन् भने कुनै पनि सुधार किन हुन सकेको छैन त ? तपाईंका आकलन र अनुमान बिग्रिँदै गएको अर्थतन्त्रको मूल समस्याभन्दा धेरै नै पर देखिन्न र ! 
यसलाई पहिचान गर्नु आज तपाईंको जिम्मेवारी होइन ? खोइ त निर्वाह गरेको ? जवाफ पाऊँ। 

अझै छन् प्रश्नहरू...
१. ६० किलो सुन, ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण जस्ता ठूला भ्रष्टाचार संस्थागत नै हुँदा हाम्रो अर्थतन्त्रलाई कसरी असर गरेको छ ? राष्ट्रिय आर्थिक वृद्धिमा यस्ता घटनाहरूले के महत्व राख्छन् ? यस्ता कतिवटा काण्ड अझै कार्पेटमुनि च्यापिएका छन् ? यदि तिनीहरू सतहमा आए वा आएनन् भने अर्थतन्त्रलाई के असर गर्छ ? जब ठूलो रकममा भ्रष्टाचार हुन्छ, तिनीहरूले कसरी कालो धनको अवरोध बढाउँछन् र अर्थतन्त्रमा प्रभाव पार्छन् ? ती काला धन कहाँ लुक्छन् ? भ्रष्टाचारको स्रोतमा वृद्धि हुनुको कारण के हो ? भ्रष्टाचार अन्त्यका लागि अर्थशास्त्रीको रणनीति के छ ?
२. राष्ट्रिय प्रशासनिक लागतमा बर्सेनि वृद्धिलाई हामीले कसरी व्यवस्थापन 
गर्दैछौं ? संघीयता आदिको प्रशासनिक खर्चको ‘लगानी प्रतिफल’ कति वा के छ ?
३. डलरको उतारचढावले पछिल्ला वर्षहरूमा अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ ? अहिलेको अवस्थाका लागि यो पनि जिम्मेवार छ ? यस्तो अवस्थामा हामीले के गर्नुपर्छ ?
४. हामीले ‘इनवार्ड रेमिट्यान्स’ को विश्लेषण गर्दा बाहिरी रेमिट्यान्सको अनुगमन कसले गरिरहेको छ ? भर्खरैको ‘उद्यममाथिको कर, बरु दलालीकै पर भर’ दृष्टिकोणको कर संरचनाले बाह्य रेमिट्यान्सलाई के असर गरेको छ ? गैरआवासी नेपालीले डायस्पोरामा कसरी लगानी विस्तार गरिरहेका छन् ? उनीहरूका रेस्टुरेन्ट, पेट्रोल पम्पलगायत व्यवसायको पुँजी कताबाट जोगाड भएको छ ?  नेपाली उद्यमीहरू अचेल प्रायःजसो विदेश भ्रमणमै किन भेटिन्छन् ? गैरआवासी नेपालीले आफ्नो नेपालको पैतृक सम्पत्ति बिक्रीबाट कमाएको कोष के भइरहेको छ ? विदेशमा अध्ययनरत विद्यार्थीको शैक्षिक ऋण कसरी तिरिएको छ ?
५. कर कसले राम्ररी बुझेको छ ? कर कुनै सरकारी प्रशासनिक खर्च जुटाउन गरिने सरल अंकगणितीय सूत्र मात्र हो ? के सरकारको काँडे लठ्ठी जस्तो करले व्यवसायीलाई नेपालमै बसेर व्यवसाय गर्न प्रेरित गरेको छ ?
त्यसो भए, के हामी गलत ढोका ढकढक्याइरहेका छौं त ? के हाम्रो अर्थतन्त्रको ‘हिट–एन्ड–ट्रायल’ गलत रसायनहरूमा भइरहेको छ ? हाम्रा सम्मेलनहरू परम्परागत दृष्टिकोणहरूमा स्थायी रूपमा सशर्त छन् त ? के हाम्रो अनुसन्धान विधि अनुपयुक्त हुँदै गइरहेको छ ? के हाम्रा विज्ञहरू पुराना भइसके ? के हामी विश्लेषण र विचारको गुणस्तर पूरा गर्न असमर्थ छौं ? के आफ्नै गलत धारणा र बुझाइमा हामी अल्मलिएका छौं ? जवाफ पाउँ। 

अलिकति थप प्रश्न– हामी किन रोकिएका छौं ? जवाफ पाउँ। 

१. हामीलाई तत्काल कर्जाको ब्याजदर एकल अंकमा झार्न कुल  निक्षेपको बैंकिङ प्रणालीमा करिब ५० प्रतिशत हिस्सा रहेको संस्थागत निक्षेपको ब्याजदर करिब ४ प्रतिशतको हाराहारीमा ल्याउन कसले किन रोकेको छ ? यसले ब्याजदरमा ३ प्रतिशत घटाउन सक्छ भन्नेमा हामीलाई कुनै शंका छ ?
२. सूचना प्रविधिको क्षेत्रमार्फत देशको बढ्दो निर्यातलाई प्रोत्साहन गर्न हाम्रो कन्जुस्याइँ किन ?
३. हाम्रा राष्ट्रिय गौरव भनिएका योजनाहरूको वास्तविक महत्व र गौरवको आलोचनात्मक विश्लेषण गर्न डर किन ?
४.काम नभएका संस्थान र एजेन्सीहरूको खर्चमा प्रश्न उठाउन हिच्किचाहट किन ?
५. हाम्रो अर्थतन्त्रको सुस्वास्थका लागि कृषि, पर्यटन, कारखाना सम्बन्धित उत्पादनका नयाँ सम्भव र व्यावहारिक विकल्प खोज्ने रणनीति शून्य किन ?
६. रेमिट्यान्सले देश चलाउने वैदेशिक रोजगारीको खुलेर समर्थन गरी अधिक अनुकूल, योजनाबद्ध, पारदर्शी, आधुनिक, सम्मानित बनौं न। राष्ट्रवादको छदमभेष किन ? 
७. जग्गा धितो नराखी ऋण असम्भव प्रायः बनाउने तर १०० रुपैयाँको जग्गा किन्न करिब ३० रुपैयाँभन्दा ऋण नपाउने नियममाथि प्रश्न गर्ने गरी नागरिकको पुँजीमाथि पहुँचको हकसम्बन्धी कानुन बनाउन अल्झो किन ?
८. नेपाल स्टक एक्सचेन्ज बोर्डले लिएका साहसी निर्णयहरूका लागि अनुकूल इकोसिस्टम सिर्जना गर्न किन शंकालु ? ब्याजको बोझ नराखी पुँजीको पहुँचलाई सहज बनाउने र उद्यमशीलता र विचारलाई फस्टाउने वातावरण यसरी नै बनाउन अबेला भएन ?
जवाफ पाउँ।  
अब के हुन्छ ? मलाई त थाहा छैन। तपाईंहरूलाई पनि थाहा छ भन्नेमा पनि मलाई शंका छ। राष्ट्रले तपाईंको ज्ञान, अनुभव र पहिचानमा लगानी गरेको धेरै स्रोत, आशा र महत्वाकांक्षाको पैंचो तिर्ने यसभन्दा राम्रो अवसर अब तपाईंलाई नमिल्ला। समस्या हल गर्न नसक्ने ज्ञाता के ज्ञाता ? अब सम्मान र शक्तिको आत्मरति र भ्रम  त्यागेर विचारशील, बौद्धिक, लगनशील, जवाफदेही, जिम्मेवार र देशभक्त बन्नुहोस्। नत्र भोलि तपाईंको अर्थशास्त्रको विद्वतालाई आदम स्मिथले मात्र होइन, सारा नेपालीले कुरी–कुरी गर्लान्। नयाँ सुरुवात कहिले र कसरी गर्नुहुन्छ ? जवाफ पाउँ।

(एक बैंकरसँग कुराकानीमा प्रेरित)

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.