रोजाइमा हिमाली च्यांग्रा

रोजाइमा हिमाली च्यांग्रा
सुन्नुहोस्

पोखरा : दसैंका लागि पोखरामा हिमाली जिल्ला मुस्ताङबाट भेडा, च्यांग्रा भित्रिएका छन्। दसैंमा पोखरेलीको रोजाइ उच्च हिमाली क्षेत्रमा पाइने च्यांग्रा हुन्छन्। 

जडीबुटी खाएर हुर्कने उच्च हिमाली क्षेत्रमा पाइने भेडा, च्यांग्राको मासु स्वादिलो, स्वस्थ्यकर हुनुको साथै औषधीय गुणसमेत हुने विश्वासमा वर्षौंदेखि दसैंमा पोखरेलीको रोजाइ च्यांग्रा तथा भेडा हुने गरेको हो। स्रोह् श्राद्ध सकिए लगत्तै पोखरामा भित्रिने भेडा, च्यांग्रा पछिल्लो समयमा तिहारसम्म नै हिमाली क्षेत्रबाट ल्याएर बिक्री गर्ने गरिन्छ।

वर्षको एकपटक नयाँ स्वाद लिन पनि दसैंमा पोखरेलीको मुख्य रोजाई खसीबोका भन्दा हिमाली जिल्लाबाट झरेका च्यांग्रा र भेडा पहिलो रोजाइमा पर्छन्। दसैंका लागि पोखरामा धेरै च्यांग्रा मुस्ताङबाटै ल्याइन्छ। तिब्बतबाट पनि पोखरामा च्यांग्रा, भेडा ल्याइन्थ्यो तर कोरोना पछि भने तिब्बतबाट ल्याउने क्रम रोकिएको छ। मुस्ताङको साथै बझाङ, बाजुरा, डोल्पाबाट पोखरामा भेडा, च्यांग्रा ल्याइन्छ। 

यस वर्ष पोखरामा हिमाली जिल्ला मुस्ताङबाट ५८ सय च्यांग्रा तथा भेडा भित्रिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे बताए। पोखरामा घटस्थापनादेखि च्यांग्रा, भेडा भित्रिन सुरु भएको र आउने क्रम जारी रहेको पनि उनले बताए। पशु सेवा केन्द्र मुस्ताङले च्यांग्रा तथा भेडाको स्वास्थ्य जाँच गराएर पठाउने गरेको पनि उनले सुनाए। यस्तै गरी यस वर्ष बझाङ, डोल्पा र बाजुराबाट ३ हजार हाराहारीमा भेडा, च्यांग्रा पोखरामा आउने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे बताए। 

यसरी दशदेखि ११ हजारभन्दा केही बढी संख्यामा यस वर्ष हिमाली जिल्लाबाट भेडा, च्यांग्रा पोखरा आउने पनि पोण्डेले जानकारी दिए। गत वर्ष पनि यही हाराहारी १० देखि १२ हजारको संख्यामा पोखरामा भेडा, च्यांग्रा भित्रिएको बताइएको छ। कोभिड अघि भने तिब्बतबाट समेत च्यांग्रा आउने भएकाले यो संख्याभन्दा धेरै संख्यामा च्यांग्रा पोखरामा भित्रिने गरेका तथ्यांक छ। 

यसैगरी पोखरामा खसी, बोको १५ हजार हाराहारीमा बिक्री हुने पनि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख पाण्डे बताए। च्यांग्रा, भेडा, खसी, बोका समेत गरेर २६ हजारको हाराहारीमा पोखरामा खपत हुने उनले सुनाए। गाउँघरमा स्थानीयले आफूलाई भनेर र गाउँमा सामूहिक रूपमा भागबन्डा गरेर खानेको भने तथ्यांक नरहेको उनले सुनाए। कास्कीमा दसैंमा हुने खसी, बोकाको मागको करिब २० प्रतिशत मात्र जिल्लाबाटै पूर्ति हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख पाण्डे बताए। बाँकी ८० प्रतिशत तराई र पश्चिममा जिल्लाबाट आउने गरेको बताइएको छ। भेडा, च्यांग्रा भने सत प्रतिशत बाहिरी जिल्लाबाट आउने गरेको उनले सुनाए। 

हिमाली जिल्लाबाट यसरी ल्याइएका भेडा, च्यांग्राको स्वस्थ्य जाँच पोखरामा पनि गरिन्छ। भेडा, च्यांग्राको बथानहरूमा गएर पोखरा महानगरपालिका पशु सेवा शाखा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु चिकित्कसले अवलोकन गरी आवश्यक परे उपचार पनि गर्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की प्रमुख पाण्डेले बताए। यस वर्ष अहिलेसम्म भेडा, च्यांग्रामा कुनै समस्या नदेखिएको पनि उनले सुनाए। टाढाबाट ल्याउँदा भेडा, च्यांग्रामा कुनै समस्या देखिएर उपचार गर्दा एन्टिबायोटिक चलाइएको छ भने तीन दिनसम्म व्यवसायीलाई आफ्ना भेडा, च्यांग्रा बिक्री नगर्न सुझाउने गरेको पनि पाण्डेले बताए।  

बझाङ, बाजुरा र डोल्पाबाट ल्याइएका च्यांग्रा ठूला भएकाले अहिले ५० हजार मूल्य व्यवसायीले राखेका पनि पाण्डेले बताए। यसै गरी मुस्ताङबाट ल्याइएका च्यांग्रा केही साना भएकाले ४० देखि ४२ हजार मूल्य राखेको पाइएको छ। ग्राहकले बार्गेनिङ गरेर घटाएर पनि लग्ने गरेका छन्।  

व्यवसायी सोनाम तामाङले आफूले मुस्ताङबाट ल्याएको ८० वटा च्यांग्रा काठमाडौंबाट आएका व्यापारीले किनेर लगेको सुनाए। १ सय ५० वटा च्यांग्रामा अरु पोखरामै बिक्री गरिसकेको पनि उनले बताए। हिमाली जिल्लाबाट ल्याइएका भेडा, च्यांग्रा पोखराको यम्दी, सिमपानी, हेमजा, टुँडिखेल, लगायतका क्षेत्रमा बिक्रीका लागि राखिन्छ। यसरी ल्याइएका भेडा, च्यांग्रा बिक्री गर्न बजार डुलाउने पनि गरिन्छ। 

जडीबुटी खाएको च्यांग्रा स्वस्थ्यकर र स्वादिलो  

उच्च हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केका च्यांग्रा तथा भेडा स्वास्थ्यका लागि राम्रो हुने भएकाले पोखरेलीको रोजाइमा पर्ने पशुपरोग अन्वेशण प्रयोगशाला पोखराका पशुचिकित्सक गणेश केसीले बताए।

हिमाली क्षेत्रको च्यांग्राको जात नै फरक भएको र जडीबुटीको खानीमा चरेका हुनाले स्वादीलो हुने उनले सुनाए। जडीबुटी खाएर हुर्केका उच्च पहाडी क्षेत्रमा पाइने च्यांग्रामा औषधीय गुड पनि हुने बताइन्छ । तर, यस विषयमा अध्ययन भने भएको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.