वीरगन्जमा एकैदिन चार मोटरसाइकल चोरी गर्ने पक्राउ
वीरगन्ज : वीरगन्जमा एकै दिन चारवटा मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् । वीरगन्जको विभिन्न स्थानबाट चारवटा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बस्ने ३२ वर्षीय अजय गोसाईंलाई पक्राउ गरेको हो ।
गोसाईंले एक दिनमा चारवटा मोटरसाइकल चोरी गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
वीरगन्जमा दसैंमा लागेको रात्री बजार घुम्न आएकाहरूको मोटरसाइकल गोसाईंको समूहले चोरी गरेको बोगटीले बताए । उनका अनुसार गोसाईंको समूहले ती मोटरसाइकल चोरी गरेर नारायणी अस्पतालको पार्किङमा लुकाएर राखेको थियो । ‘गोसाईंको समूहले एउटा मोटरसाइकल चोरी गर्ने, त्यसलाई लगेर नारायणी अस्पतालको पार्किङमा लुकाउने अनि फेरी आएर अर्को चोरी गर्ने गरेको थियो,’बोगटीले भने ।
प्रहरीले चोरी भएको प्रदेश – ०२ – ०२३ – ०२२ प ९२७२, ना. २६ प ५८५३, ना ६४ ३८०६ र ना. ५४ प ४७२४ मोटरसाइकल समेत बरामद गरेको छ ।
गोसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको र उनको समूहका अन्य सदस्यहरूको खोजी कार्य भइरहेको बोगटीले बताए ।