पृथ्वीनारायण शाहले उपहार दिएको तरबार जाजरकोट दरबार भित्र्याइयो

पृथ्वीनारायण शाहले उपहार दिएको तरबार जाजरकोट दरबार भित्र्याइयो
गोरखाका राजा पृथ्वीनारायण शाहले  तत्कालिन जाजरकोटी राजालाई उपहारस्वरुप दिएको  खड्ग जाजरकोट दरवारमा बडादसैंको फुलपातीको अवसरमा भित्र्याइँदै । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जाजरकोट : तत्कालिन गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले नेपाल एकीकरण अभियानका सिलसिलामा  २ सय ५५ वर्ष अघि जाजरकोट राज्यलाई उपहारस्वरुप दिएको शक्तिको प्रतिक खड्ग अर्थात्  तरवार बडा दसैंको फुलपातीको अवसर पारेर शक्तिको प्रतिकको रुपमा जाजरकोट दरबारमा भित्र्याइएको छ ।

वडादसैंका अवसरमा  फुलपाती भित्र्याउने कार्यक्रम  अनुसार  जाजरकोट राज्यको शक्तिको प्रतीकको रुपमा रहेको उक्त खड्ग आइतबार भेरी नगरपालिका ४ रानागाउँस्थित कालिका मन्दिरबाट जाजरकोट दरबारमा भित्रयाइएको हो ।

स्थानीय सर्वसाधारण,सरकारी कर्मचारी र  सुरक्षाकर्मीको व्यापक सहभागितामा शंख ध्वनी बाजागाजासहित  भेरी नगरपालिका -४ गैरीखालीमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले पुजाआजा गरेर उक्त खड्गलाइ  जाजरकोट दरबार लगिएको हो ।

दरबारमा रहेको जमरा घरमा खड्ग र फुलपाती भित्र्याउनुका साथै बली चढाइएको छ । बली चढाउने क्रममा सुरक्षाकर्मीले सलामी दिएका थिए । नेपाली सेना,सशस्त्र  प्रहरी र नेपाल प्रहरी तीनै सुरक्षाफौजको सहभागिता रहेको थियो ।

विक्रम सम्वत १८२५ माघ ५ गते कांसीको मणिकर्णिकाघाटमा गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालिन जाजरकोटी राजा हरि शाहसँग नेपाल एकीकरण अभियान सफल पार्ने उद्देश्यले धर्मसन्धी गर्दै उक्त खड्ग (तरबार) जाजरकोट राज्यलाई उपहारस्वरुप दिएका थिए । 

दुई राज्यका बीचमा  एकअर्कालाइ सहयोग गर्ने  सम्झौता गर्दै दुवै राजाले  मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग शक्तिको प्रतिकको रुपमा जाजरकोटी राजालाइ दिइएको जाजरकोट राज्यको इतिहासबारे जानकार केदारबहादुर शाहले वताए  । 

उनले झन्डै  ७ सय वर्षअघि स्थापना भएको  जाजरकोट राज्यको  सुरुको राजधानी जगतिपुरमा राखिएको उक्त  खड्ग १८५२ सालमा  अहिलेको सदरमुकाम खलंगामा राजधानी सारिएपछि दसैंको फुलपातीका दिन विशेष पुजाआजासहित  जगतिपुरवाट खलंगा दरबारमा  ल्याउने परम्परा सुरू भएको  बताए ।

फुलपातीका दिन विशेष पुजाआजासहित बली दिएर जाजरकोट दरबारमा रहेको जमारा घरमा उक्त खड्ग भित्र्याउने परम्परा रहेको छ । बली दिन र खड्ग भित्र्याउन लाग्ने रकम  सुरुमा दरबारबाट र पछि गृहमन्त्रालयबाट आउने गरेपनि मुलुकमा गणतन्त्र आइसकेपछि रकम पठाउन छोडिएको छ । 

रकम अभावमा परम्परालाई निरन्तरता दिनै मुस्किल भएको स्थानीय प्रशासनले जनाएको छ । रकम अभावमा नवमीका दिन राँगाको बली दिने कार्य केही वर्ष यता हुन नसकेकोमा तत्कालित राजाका नाती प्रवेश विक्रम शाहको पहलमा राँगो बली दिइने भएको छ । जाजरकोट दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ । राजाले गर्ने खड्ग पुजा २०१८ साल पछि राज्य रजौटा उन्मुलनसँगै प्रमुख जिल्ला अधिकारीले गर्दै आएका छन् । 

जगतिपुरमा रहेको जाजरकोट राज्य र देवताको शक्तिलाई विस्तारै खलंगास्थित दरबारमा सार्ने उद्देश्य  प्रत्येक वर्ष फुलपातीका दिन पुजाआजासहित  उक्त खड्गलाइ खर्के देउताको रुपमा पुज्दै  ल्याउन थालिएको हो । फुलपातीका दिन  जाजरकोट दरबारमा भित्रयाइएको उक्त खड्गलाई  दसैंको फुलपाती अर्थात् सप्तमी,महाअस्टमी,महानवमी र विजयादशमीको दिनसम्म पन्चे वाचाको ध्वनीका साथ बोका,रांगाको बलि दिएर भव्य रुपमा पूजाआजा गरी दशमीकै दिन टीका लगाइसकेपछि जगतिपुरमै फर्काउने परम्परा रहे पनि मुलुकको  १० वर्षे  द्वन्द्वका क्रममा  असुरक्षाका कारण उक्त खड्ग २२ वर्ष अघिदेखि जिल्ला प्रहरी कार्यालयको परिसरमै रहेको कालिका मन्दिरमै राख्ने गरिएको  छ । 

अब शान्ति आइसकेकाले  खड्गलाई  जगतिपुरको मन्दिरमै राख्नु पर्ने ५४ वर्षदेखि खड्ग पुजा गर्दै आएका पुजारी  सत्यप्रसाद शर्माले बताए । जाजरकोट राज्यको उत्पति र  खड्ग सुरुमा राखिएको  मन्दिरको गरिमा र महत्व जोगाउनका लागि उक्त खड्गलाई  जगतिपुरमै राख्नुपर्ने  पुजारी शर्माको भनाइ छ । उनले तत्कालिन राजाका पुरोहित अर्थात खर्क देवताका पुजारी आफ्ना हजुरबुबाका बुबा रत्नदास शर्माले  उक्त खडग जाजरकोट दरबारमा ल्याउन सुरु गरेको बताए । 

जाजरकोटी शाह ठकुरीहरूले  मुख्य जिम्मा लिएर  मनाइने  खर्के देउता पुजा अहिले ओझेल पर्दै गएको छ । विगतमा  खर्के देउताको पुजाका बेला स्थानीयको जाजरकोट दरबारमा ठूलो मेला लाग्ने  गरेको स्थानीय खम्बजंग शाहले बताए । जाजरकोटको इतिहास,संस्कृति र परम्पराको  पहिचान झल्काउने खर्के देउता पुजा विगतमा स्थानीय जनता सरकारी कार्यालयको सक्रियतामा  गर्ने गरिएपनि अहिले  सबैले  बिर्सदै गएको  उनले बताए । 

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले खड्ग देवताको पुजा गर्ने  र जाजरकोट दरबारमा  खड्ग ल्याउने मौलिक परम्पराको जगेर्ना गर्न आफूले सक्दो पहल गर्ने बताए । उनले  सुरक्षाका कारण खड्ग प्रहरी कार्यालयसँगै रहेको कालिका मन्दिरमा राखिएको बताए । 

संस्कृति र परम्पराको निरन्तरता दिएर इतिहासलाई जोगाइ राख्नु सबैको कर्तव्य  र दायित्व रहेको उनको भनाइ छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.