महाअष्टमीमा जाजरकोटको कालिका मन्दिरमा भव्य पूजाआजा
जाजरकोट : नवरात्रको आठौं दिन महाअष्टमीका दिन जाजरकोट खलंगास्थित कालिका मन्दिरमा विशेष पूजाआजा गरिएको छ।
तत्कालीन जाजरकोट राज्यले शक्तिपिठका रूपमा स्थापना गरेको कालिका मन्दिरमा दसैंको आठौ दिन महाअष्टमीका दिन बोकाको वली दिने र विशेष पूजाआजा गर्ने गरिएको छ। आफ्नो मनोकांक्षा पूरा होस् भन्ने कामनासहित अष्टमीका दिन कालिका मन्दिरमा बिहानै दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ।
आफ्नो मनोकांक्षा पूरा होस भनेर कालिका भगवतीसँग भाकल गर्ने र पूरा भए खुसियालीमा बली चढाउने चलन छ। आफ्ना सन्तानको समृद्धि र सन्तान प्राप्तीका लागि पनि कालिका भगवतीको पूजा गर्ने गरिएको छ। करिब दुई सय वर्ष पुरानो यो मन्दिरलाई पुरातत्व विभागले पुरातत्व सम्पदाका रूपमा सूचीकृत गरेको छ।
जाजरकोट राज्यको पुरानो सदरमुकाम जगतिपुरबाट राजधानी खलंगा सारिएपछि शक्तिपिठका रूपमा कालिका मन्दिरको स्थापना गरिएको पाइन्छ। विभिन्न दस्तावेजका अनुसार १९८५ सालमा तत्कालीन राजा दीपनारायण शाहले कालिका मन्दिर स्थापना गरेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए।
कालिका मन्दिर १० फिट लम्बाइ र १० फिट चौडाइ वर्गाकार आकारमा रहेको छ भने १० फिट अल्लो छ। पितलमा मलम्वा लगाएको गजुर छ। यो मन्दिर प्यागोडा शैलीमा बनाइएको छ। यो मन्दिरमा तत्कालीन राजाकी छोरी चन्द्र शमशेरकी महारानी बालकुमारी शाहले १९६७ सालमा घण्टा चढाएको देखिन्छ। १९६२ मा नरजंग शाह र १९८६ सालमा शक्तिवर्धन शाहले घण्टा राखेको अध्यक्ष केसीले बताए।
माओवादी सशस्त्र युद्धको क्रममा यो मन्दिरका पुजारी रामप्रसाद शर्मालाई माओवादीले हत्या गरेका थिए। पतिको हत्यापछि उनकी धर्मपत्नी राज्यलक्ष्मी खनालले मन्दिरमा पुजारीको काम गर्दै आएकी छन्।
मन्दिर जानेबाट जिल्ला प्रहरी कार्यालयले घेरेको, मन्दिर जीर्ण भएको, मन्दिरमा दैनिक पूजाआजाका लागि स्रोत नभएकाले समस्या भएको स्थानीय खम्बजंग शाहले बताए। यो मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व बढाउन सरोकारवालाहरूले विशेष पहल गर्नुपर्ने उनको भनाइ छ।