शक्तिपीठहरूमा पशुबलि आधा घट्यो
नुवाकोट: नुवाकोटका विभिन्न शक्तिपीठहरूमा आइतबार महाअष्टमी पर्वको अवसरमा विशेष मेला लागेको छ। कतिपय शक्तिपीठहरूमा कालरात्री भइरहेका छन्।
सर्वसाधारणमा पशु अधिकारका सम्बन्धमा सचेतनाका कारण यसवर्ष वडादसैंको क्रममा नुवाकोटका विभिन्न शक्तिपीठहरूमा पशुबली ५० प्रतिशतले घटेको छ। नुवाकोटको प्रसिद्ध जालपादेवी, भैरवी, निरञ्जना, पञ्चकन्यालगायतका मन्दिरहरूमा गत वर्षको तुलनामा पशुबली निकै घटेको हो।
धर्मका नाममा पशुबली दिनु उचित नहुने आवाज उठिरहेको बेला नुवाकोटका प्रमुख शक्तिपीठलगायतका मुख्य शक्तिपीठहरूमा वडादसैंको महाअष्टमीका अवसरमा दिने पशुबलीको संख्यामा कमी आएको पुजारीहरू बताउँछन्।
सर्वसाधारणले पशु अधिकारका पक्षमा सचेत हुँदै पशुको बदलामा नरिवल लगायतका अन्य वस्तु विकल्पमा चढाउन थालेका कारण पशुबली घटेको हो।
नुवाकोटको मुख्य भैरवी मन्दिरमा विगत ६७ वर्षदेखि पुजारी धामी भई काम गरिरहेका हरिमानसिंह डंगोलका अनुसार हाल अधिकांश दर्शनार्थीले पशुबलीको सट्टा नरिवल चढाउने गरेका कारण पशुबली घटेको हो। पशुबली रोकिएको त छैन, कमि आएको छ।
आठ/नौ वर्ष अगाडिसम्म पनि वडादसैँको अवधिमा ५० वटाभन्दा बढी बोकाको बलि हुने गरेको थियो, अहिले चार/पाँच वर्षदेखि १०/१५ वटामा सीमित भएको डंगोलले बताए। मानिसमा पशुबली दिएर धर्म हुन्न भन्ने चेतना जागेर हो वा महंगीले हो, यसै भनेर ठोकुवा गर्न नसकिने धामी डंगोलले अगाडि भने– मानिसले पशुबलीमा कम विश्वास गर्न थालेका छन्।
फूलपाती, महाअष्टमी, महानवमी, दशमीलगायतका दिनमा नुवाकोटका विभिन्न शक्तिपीठहरूमा पशुबली घटेको छ। पहिले पशुबली दिनेहरू घण्टौंसम्म लाइनमा बस्नुपर्दथ्यो, पालो पाइनसक्नु हुन्थ्यो।