कोरला नाकामा फहरायो राष्ट्रिय झण्डा
जोमसोम : चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरलानाकामा लोमान्थाङ गाउँपालिकाले राष्ट्रिय झण्डा स्थापना गरेको छ। लोमान्थाङ गाउँपालिकाले यसै हप्ता कोरलाको दजगजा क्षेत्रमा राष्ट्रिय झण्डा फहराएको हो।
लोमान्थाङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय मुस्ताङको अनुमतिमा आवश्यक बजेट विनियोजन गरी सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी)को समन्वयमा राष्ट्रिय झण्डा स्थापना गरेको हो। कोरलाको पठार क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा स्थापना गर्न गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली कोरला पुगेका थिए।
करिब २० फिट लम्बाई रहेको फलामे रड र जस्तामा रंगरोगन गरिएको राष्ट्रिय झण्डा कोरलाको २४ नं. सीमा स्तम्भ नजिक फहराइएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।
चीनको तिब्बती भूमि कोरलामा चीनले ठूला-ठूला लोभलाग्दा भौतिक संरचना निर्माण गरिसक्दा नेपाल तर्फबाट सीमा क्षेत्रमा कुनै संरचना बन्न सकेका छैनन्। चिनियाँ सुरक्षाकर्मी २४ सै घण्टा सुरक्षा निगरानी गरिरहे पनि नेपालतर्फ भने करिब १५ किमी दक्षिणको नेचुङमा सीमा सुरक्षार्थ सुरक्षाकर्मी बसेका छन्।
नेपालको राष्ट्रियता ,सार्वभौमिकता र नेपाली पहिचानलाई सीमा क्षेत्रमा जीवन्त राख्न राष्ट्रिय झन्डा राखेको अध्यक्ष गुरुङको भनाइ छ। ‘सीमापारि ठूल्ठूला भवन बने, हाम्रोतिर पिल्लरबाहेक केही छैन। त्यसैले नेपालको गर्विलो उपस्थिति जनाउन राष्ट्रिय झण्डा गाडेका हौं,' उनले भने।