शान्तिपूर्ण तबरले जलाशयमा सेलाइयो देवीका मूर्ति
बर्दिया : घटस्थापनाका दिन स्थापना गरिएका माटोको देवीका मूर्तिहरू बर्दियाका जलाशयहरूमा बुधबार सेलाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् प्रशासनको व्यवस्थापनमा जिल्लाका विभिन्न घाटहरूमा १९६ वटा मूर्ति शान्तिपूर्ण वातावरणमा विर्सजन गरिएको हो।
नवरात्रभर विशेष धुमधामका साथ पूजा अर्चना गरिएका मूर्तिहरू विधिपूर्वक बाजागाजा, भजनकिर्तनसहित विर्सजन गरिएको गुलरिया नगरपालिका-६ स्थित बाइपास चोकमा मूर्ति स्थापना गरेका समितिका सचिव मुरलीराम गोडियाले बताए। पार्थिव मूर्तिहरू पूजा सकिएसँगै विर्सजन गर्नुपर्ने शास्त्रीय मान्यता छ।
मूर्ति विर्सजनसँगै दसैं विद्या गरिएको छ। मूर्ति विर्सजनका बेला स्थानीय समुदायको बाक्लो उपस्थिति रहेकाले प्रहरी प्रशासनले सुरक्षा व्यवस्थामा कडाई गरिएको थियो।
गुलरिया नगरपालिका वडा नम्बर ८ स्थित बबई (भादा) घाटमा १०८ वटा, वडा नम्बर ५ स्थित जब्दीघाटमा १६ वटा, वडा नम्बर २ बैरियाघाटमा ११ वटा, वडा नम्बर १० मस्जिदियाघाटमा ३, वडा नम्बर ८ थपुवा घाटमा २ वटा, बढैयाताल गाउँपालिका वडा नम्बर १ र ३ मानखोलामा १४ वटा, ठाकुरबाबा नगरपालिका वडा नम्बर २ कर्णाली चिसापानीमा ५, मधुवन नगरपालिका वडा नम्बर ३ कोठियाघाटमा १, राजापुर नगरपालिका अन्तर्गत गेरुवा कर्णाली नदीमा ३६ वटा मूर्ति विर्सजन गरिएको हो। मूर्ति विर्सजनमा ३० हजार सनातनी सहभागी रहेको प्रहरीको आकलन छ।