राजनीतिक स्थायित्वका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ : प्रधानमन्त्री
रूकुम पश्चिम : प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने बताएका छन्।
बिहीबार दिउँसो बाफिकोटका सहिद तथा बेपत्ता परिवार र घाइते योद्धाहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सत्य निरूपण तथा बेपत्ता सम्बन्धि विधेयक टुंग्याउन सरकारले पहल गरिरहेको बताए।
'गाउँमै आएर भेट्न पाउँदा खुसी लागेको छ। महान् सहिदहरूको बलिदान नभएको भए, बेपत्ता तथा घाइते योद्धाहरूको योगदान नभएको भए देश यहाँसम्म आइपुग्न सम्भव थिएन। तसर्थ, यो परिवर्तनको हकदार तपाईँहरू हुनुहुन्छ,' उनले भने।
यसपटक पार्टीका सबै नेताहरू जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेको बताउँदै उनले यो पार्टी रूपान्तरणको महत्त्वपूर्ण आधार भएको बताए। 'फिल्डमै पुगेर पार्टी र जनताको अवस्था बुझ्न म पनि तपाईँहरूमाझ आएको छु,' उनले भने।
उनले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको र यो जनयुद्ध, सहिद, बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान भएको बताए।
'शान्ति प्रक्रियाका बाँकी काम टुं ग्याउने विधेयक सदनमा पुगेको छ। यो विधेयक टुंगिएपछि जनयुद्धको परिपुरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुन्छन्। सहिद पार्कहरू, स्तम्भहरू बन्छन्। यसले सहिद परिवार, बेपत्ता योद्धा र अपाङ्ग कमरेडहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ। मासिक भत्तालगायतका कामहरू व्यवस्थित भएका छन्, बाँकी कामहरू पनि सम्पन्न गरिने छ,' उनले भने।