म एक्लो,
जसरी कि–
जसरी कि–
म बिदा हुनेछु यो संसारबाट।
बन्धुसँग टाढिनु, बान्धवसँग टाढिनु
त्यो त धेरै टाढाको कुरा मेरा लागि,
म त आफैंसँग टाढिन चाहन्छु।
कसैले बेहोसीमा कोरेको चित्र जस्तो
अज्ञानताले सिर्जेको
म आफ्नै भूतसँग टाढिन चाहन्छु।
जसरी कि–
कुनै अजिंगर टाढिन्छ आफ्नै काँचुलीबाट।
प्रभु– मलाई सबैबाट छुटाऊ, फुटाऊ र अलग्याऊ
कतै एकान्त गुफामा लगेर कोच, कुज्याऊ
जहाँ कष्टपूर्वक नै सही
म आफ्नो काँचुली फेर्न सकुँ।
समुद्रबाट बाफ बनेर आकाशमा पुगेको पानी
नदी भएर पुनः समुद्रमै फर्किए जसरी
म आफ्नै शाश्वत स्वरूपमा फर्किन चाहन्छु।
म नांगो हुन चाहन्छु
जसरी कि–
म जन्मिएको थिएँ पहिलोपटक यो धर्तीमा।
- गणेश दंगाल