सरदार यदुनाथ खनाल, (विसं. १९७०–२०६१) कूटनीतिक, प्रशासनिक र प्राज्ञिक क्षेत्रका शिखर पुरुष हुन्। उनको प्राज्ञिक उन्नयनले तत्कालीन राणाकालीन पञ्चायत व्यवस्था एवम् बहुदलीय व्यवस्थामा समेत नेपालको प्राज्ञिक जगत्लाई समुन्नत गर्दै डोर्याएको थियो।
खनालले विसं. १९९९ मा, त्रि–चन्द्र कलेजमा अंग्रेजी विषय प्राध्यापन गर्न नियुक्ति पाएका थिए। उनी झन्डै डेढ दशक जति त्यहाँ कार्यरत रहे। विभिन्न क्षेत्रमा उच्च पदमा रही आफ्नो जिम्मेवारी इमान्दारिता र लगनशीलताका साथ सम्हाल्ने बहुआयामिक व्यक्तित्वका धनी, इतिहासकै कालखण्डमा अद्भुत दुर्लभ राष्ट्र धरोहर हुन्। निजामती सेवामा प्रवेश गरेपछि स्वच्छ, पारदर्शी र नतिजामूलक कर्मचारीतन्त्र तर्जुमा गर्ने सिलसिलामा भरमग्दुर प्रयत्न गरेका थिए। त्यसपछि, कूटनीति सेवामा प्रवेश गरी, यो पाटोलाई व्यावहारिक र सन्तुलित बनाउन गरेको उनको शत्प्रयास अनुकरणीय र प्रशंसनीय छ।
यो सबै बुद्धिमत्तापूर्ण क्षमता र लगनको प्रतिफल हो। ईसं. १९६५ मा नेपालले बाहिरी दुनियासँग पहिलोपल्ट आफ्नो परिचयात्मक प्रस्तुति गर्ने पहिलो खुड्किलो मलेसियाको वाङडुङमा प्राप्त गर्यो। यो सम्मेलनमा विश्वका विकास–विस्तारलगायत आर्थिक, सामाजिक, शैक्षिक, प्राविधिक, राजनैतिक, प्राज्ञिक आदि क्षेत्रमा उदीयमान राष्ट्रहरूको जमघट थियो। यो नै बाहिरी विश्वसँग हातेमालो गर्ने अपूर्व स्वर्णिम अवसर थियो। जसमा, यिनै यदुनाथ खनाललाई परराष्ट्र सचिव र विभिन्न निकायमा सल्लाहकार भई कार्य कुशलता निभाएको नाताले आफ्नो कूटनीतिक क्षमता विश्वसामु प्रदर्शन गरी राष्ट्रको पहिचान दिलाउने मौका मिलेको थियो। उनको वरिष्ठ कूटनीतिक कार्यकुशलता र वरिष्ठ प्रशासकको मूल्यमान्यता स्थापित गर्नमा खेलेको भूमिका छर्लंग हुन्छ। अझ, विश्व मानचित्रमा ठूला अर्थतन्त्र भएका मै हुँ भन्ने जनसांख्यिक, विकासको दृष्टिले तँछाडमछाड गरिरहेका अमेरिका र चीन भारतजस्तो ठूला देशमा आफ्नो कार्यकालमा सफल राजदूत भएर यथोचित कूटनैतिक मर्यादा पालना गर्नु चानचुने कुरामात्र नभएर नेपालजस्तो सानो देशको लागि गौरव र इज्जतको कुरा हो।
कूटनीति र प्रशासनिक विशिष्ट दक्खलताको अलावा, उनको बाल्यावस्थादेखिको साहित्य सिर्जनाप्रतिको उच्च लगाव र गहनता पनि प्रमुख कारकतत्व हो। साहित्य रचनामा दृढ संकल्प र अभिरुचिका कारणले उनले रोजीरोटीको निम्ति प्राध्यापन पेसासँगै सिर्जना यात्रालाई घनिभूतरूपमा, कलात्मकशैलीमा, अनवरत र अविश्रान्तरूपमा अगाडि बढाइरहे। उनले विविध विधामा कलम चलाइरहे पनि उनलाई चिरकाल–पर्यन्त, अजर–अमर र चिरस्थायी स्रष्टा कायम गर्ने जस, समालोचना फाँटलाई नै जान्छ। आधुनिककालमा पदार्पण गरी बामे सर्दै गरेको नेपाली साहित्यिक क्षेत्रलाई मल, जलको साथै सैद्धान्तिक समालोचनाको खुराँक प्रदान गरेर, आफूले रचना गरेको सुन्दर समालोचनाको सिद्धान्तको आधारमा विभिन्न भाव, भंगी, प्रवृत्ति तथा शैलीलाई रचनात्मक ढंगले परिमार्जित र परिष्कृतरूपमा कृति र अन्य धेरै लेखहरू पस्केर नेपाली समाजलाई धनधान्य बनाउनको साथै सधै ऋणी तुल्याएका छन्। समालोचना विधामा व्यावहारिक रूपमा कृति रचना गरेर यो क्षेत्रलाई छर्लंग र सन्तुलन कायम गर्न सक्ने दिग्गज हुन् उनी। त्यसैले, उनी नेपाली प्राज्ञिक इतिहासमा अब्बल दर्जाको सिंहासनमा विराजमान छन्। अतः समालोचनाको विविध सिद्धान्त र व्यवहारले उनको कद अग्लिएको छ।
समालोचनाको दृष्टिले उनले रचना गरी छरिएका २२ वटा समालोचनासम्बन्धी कृति एवं व्यावहारिक समालोचनात्मक लेखहरू छन्। ती रचनाहरू संकलन तथा संगृ्रहीत गरी एउटै मालामा उन्ने महान पुण्य कार्य, नेपाल प्रज्ञा–प्रतिष्ठानको जागरुकता र तृष्णामा सम्पन्न भएको देखिन्छ र त्यो पुनित कार्य गर्नु, समयसापेक्ष माग पनि थियो। यो शुभकार्यको बिट मार्न, खनालकै गृह जिल्लावासी कर्मठ र सदासर्वदा सिर्जनारत अथक सिर्जनशील योद्धा डिल्लीराम मिश्रलाई सम्पादन गर्ने गरी जिम्मेवारी सुम्पिएको थियो। निजले वि.सं. २०६५ देखि नै अविरल खटिएर सिर्जित ‘यदुनाथ खनालका समालोचना’ नामक गहन पुस्तक कृतिको रूपमा वि.सं. २०६८ मा पाठकसमक्ष देखा पर्यो। साथै, कृतिको भाषा सम्पादन कार्य प्राडा. महादेव अवस्थीले गर्नु भएको छ।
शैक्षिक, कूटनीतिक, प्रशासनिक, शैक्षिक, बौद्धिक, साहित्यिक क्षेत्रमा स्वेदश÷विदेशमा बिछट्टै पूजनीय, ढोगनीय, आदर्शवान् व्यक्तित्वको उच्चारण गर्नासाथ बौद्धिक जगत नतमस्तक हुन्छ। स्वस्फूर्त पुलकित र कृतकृत्य ठान्दछ। यस्तै, सर्वाधिक रुचाइएका नैतिकवान्, राष्ट्रको लागि जीउज्यान अर्पण गर्ने, उत्पे्ररक, सदाचारी, सम्मानित एवम् बफादार भीमकाय व्यक्तित्व थिए उनी। यस्तै, दुर्लभ बुद्धिजीवी खनालको बानेश्वरस्थित आफ्नै निवासमा विसं. २०६१ असोज १६ गते, ९१ वर्षको उमेरमा दुःखद् निधन भयो। २०÷२२ वर्षको उमेरदेखि ईहलीला समाप्त हुने अघिल्लो दिनसम्म अध्ययन, मनन्, चिन्तन र साधनारत नै थिए। यस्ता निःस्वार्थी, सर्वगुण सम्पन्न, राजनीति विश्लेषक, पूर्वीय र पश्चिमी दर्शनका ज्ञाताले आफ्नो जीवनको उत्तराद्र्धमा नयाँ पुस्ताको सोच, त्याग र योगदानप्रति असन्तुष्टि जाहेर गर्थे। पछिल्लो पुस्ता स्वभावैले सुविधाभोगी र शिक्षित भए पनि जनताप्रतिको कर्तव्यबोधको अभावमा उहाँ पिरोलिनु हुन्थ्यो। नेपाली जनतामाझ र मुलुकको माटो सुहाउँदो कार्यक्रम सञ्चालन गर्नुपर्छ। आखिर राजनीतिक सत्ताको आधार नै जनता हुन् र सच्चा जनसेवी भएर नै जनताको चर्केको घाउमा मलमपट्टी बाँध्न सकिन्छ भन्ने पवित्र र जनसेवी लेखकीय धर्म र मर्मको वकालत गर्नुहुन्थ्योँ।
जहानिया निरंकुश राणाशासनको बेलामा पनि उनले संस्कृत शिक्षा आर्जन गर्ने क्रममा तनहुँ जिल्लाको मानुङबाट १२ वर्षे बालक सात दिनको पैदलयात्रा गरी नेपाल खाल्टोमा आइपुगेका थिए। आइपर्ने विषम परिस्थितिसँग पौठेजोरी खेल्दै उच्च शिक्षा ग्रहण गर्ने हेतुले सानोतिनो लोभलालचको पछि लागेनन्। विभिन्न कठिन र जटिल परिस्थितिका बाबजुद, विदेशी भाषाको उच्च ज्ञान प्राप्त गरेर आफूलाई सर्वज्ञ र मर्मज्ञ बनाएर जीवनको उत्तराद्र्धसम्म सद्विचार, अध्ययन, लेखन, अनुसन्धानमै आफूलाई समर्पित गर्नु नयाँ पिँढीका लागि मार्गनिर्देशन, उत्पे्ररणा हो। उनको भोगाइ, सोचाइ, जीवनी, संस्मरण, विचार, चाहना, अनुभव, सेवाभावना, घामपानी, सुखदुःख, दबाब, योगदान आदि वर्तमानमा नयाँ पुस्ताको लागि, शोध, अध्ययन–अध्यनार्थ अचूक र अमूर्त सामग्री बन्न सक्छन्। समालोचना विधामा पाश्चात्यशैली अपनाएर पनि नेपाली शैली, परम्परा र वाक्य पद्धतिलाई अवलम्बन गरेर जनचेतना छर्थे। उनका रमाइला र गमिला सम्झनाहरू छन्। त्यसबेला उपभोग्य वस्तु सस्तो र पैसा महँगो हुन्थ्यो तर, पैसा आर्जन गर्न पनि त्यत्तिकै गाह्रो थियो। भारी बोकेर भीरपाखा, उकालो–ओह्रालो गर्नुपर्ने जीवनचर्या कष्टकर थियो भने अहिले वस्तुको सहज उपलब्धता, यातायात–सञ्चारको सुगमताले चमत्कारिक रूपमा नजिक्याएको छ।
तनहँुको मानुङमा विसं. १९७० साउन २८ गते ‘धन नभए पनि मन भएको’ शिक्षित परिवार नरनाथ र तारादेवी खनालको कोखबाट यदुनाथको जन्म भएको थियो। त्यतिबेला, मानुङको खनाल परिवारभित्र शिक्षा आर्जन गरे ‘शिक्षा अफाप हुन्छ’ भन्ने अन्धविश्वासलाई यदुनाथका बाउले अयोध्यासम्म पुगेर संस्कृत शिक्षा हासिल गरेर अवज्ञा गरेका थिए। मानुङे खनाल परिवारमा कोही ‘मानुङे साहु’ भनेर चिनिन्थे भने यदुनाथको आर्थिक अवस्था अन्य ब्राह्मण परिवारजस्तै नाजुक थियो। गाउँलेहरू कुरीतिले ग्रस्त भए पनि, यदुनाथले बाउको बिँडो धानेर प्रगतिशील विचारधारा बोकेर स्वावलम्बनको क्रान्तिलाई अनुशरण गरी छाडे। आत्मबल बलियो बनाई तत्कालीन अवस्थामा देशविदेशमा पढ्ने साहस नगरेको भए आजका दिनमा सरदार यदुनाथ खनाल कदापि बन्ने थिएनन्। यदुनाथलाई काठमाडौंमा अध्ययन गर्नको लागि भर्ना गरी फर्कने जिम्मा ज्येष्ठ सुपुत्रलाई लगाएबाट, नरनाथको सन्ततिप्रति शिक्षाको ज्योति छर्ने साहसिक कदमप्रति ‘स्यालुट’ गर्नैपर्छ। शिक्षाको उज्यालो छर्ने श्रेय उनैमा जान्छ र दोस्रो जश जेठो दाजु हरिनाथमा जान्छ।
पिताकै स्नेह र उत्पे्ररणाको कारणले यदुनाथले संस्कृत मध्यमासम्मको अध्ययन छिचोले। शिक्षाको प्रथम पाठशाला घर बन्यो। पिताको कृषिमा गहिरो स्वावलम्बन र घर–गृहस्थीमा एक अर्काको भर आत्मनिर्भरताको कसिलो छाप धेरै पछिसम्म परिरह्यो। पिताले छोडेको ‘विद्याको नासो’ रूपी उद्गार चीनमा राजदूत रहँदा पनि यदुनाथले पोखे। यो उनको लागि गायत्री मन्त्रजस्तै बन्यो। यदुनाथको परिवारको लागि सहिष्णुता र आत्मबल पे्ररणादायी स्रोत बने। हुने बिरुवाको चिल्लो पात भनेझैं, यदुनाथले भाषा, साहित्य, दर्शन, विज्ञानलगायत जुन–जुन क्षेत्रमा उनी कार्यरत भई योगदान दिए, त्यसको लेखाजोखा, सांगोपांगो लगाउन सहज र सरल छैन, उनी सिंगो संग्रहालय हुन्।
भाषा साहित्यको साधना
साहित्य लेखन र पठन संस्कृतिमा प्रबल सम्भाव्यता भएका खनालले विद्यार्थी जीवनदेखि निबन्ध विधामा असाधारण प्रस्तुतिले साहित्यप्रतिको सिंगो भविष्यलाई उजागर गर्छ। यस सम्बन्धमा एउटा प्रेरक प्रसंग उद्धृत गरिन्छ :
विसं. १९९३ मा त्रि–चन्द्र कलेजमा निबन्ध प्रतियोगिताको आयोजना गरिएको थियो। जसको जाँचकी महाकवि देवकोटा आपैmं थिए। उक्त प्रतियोगितामा प्राध्यापक बोधविक्रम अधिकारी तथा खड्गमान सिंहको पनि उपस्थिति थियो। प्रतियोगीहरू ८ जना थिए र एकसेएक नामुद थिए जसमा, तीर्थनाथ अधिकारी, सुरेन्द्रबहादुर शाह, रामप्रसाद जोशी, कण्ठनारायण, साम्बदेव पाण्डे, रामप्रसाद तण्डुकार, गोपालप्रसाद रिमाललगायत यदुनाथ खनाल थिए। निबन्धको मापनमा चातुर्य, गहिराइ, भाषाशैली, यथार्थ, भावुकता, कल्पनाशक्ति तथा प्रखरता ‘क्राइटेरिया’ राखिएको थियो। निबन्धको शीर्षकमा–पृथ्वी, समुद्र र आकाश राखिएको थियो। प्रतियोगितापश्चात् महाकवि देवकोटाबाट १ देखि ८ अंकसम्म राखी मूल्यांकन गरिएको थियो। प्रारम्भिक चरणमैं उक्त प्रतियोगितामा ६० अंक प्राप्त गरी यदुनाथले प्रथम स्थान प्राप्त गरी स्वर्णपदकका दाबेदार भए। साथै, विसं. १९९२ मा नेपालमा पहिलोपल्ट एसएलसी बोर्डको गठन भयो। यदुनाथले उक्त परीक्षामा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरी ‘मेधावी’ विद्यार्थीको परिचय दिएकाले त्रिचन्द्र कलेजमा आईएस्सी अध्ययन गर्न रु. १५।– मासिक छात्रवृत्ति प्राप्त गरे। छात्र जीवनदेखि नै विलक्षण प्रतिभाशाली भएका कारणले २२ वर्षे ऊर्जाशील ठिटो देखेर महाकवि देवकोटाले यदुनाथलाई राष्ट्रको विविध क्षेत्रको धुरन्धर विद्वान हुनेछौं भन्ने भविष्यवाणी गरेका थिए। निबन्धकार यदुनाथको ‘बाटो बिलायो’ नामक पहिलो रचित सिर्जना विसं. १९९७ मा प्रकाशित भएको थियो।
उनले पाश्चात्य र पूर्वी साहित्यको अध्ययनमात्र नगरी समालोचनाको आधारस्तम्भ खडा गरे। मोतीराम भट्टले आदिकवि भानुभक्त बारेमा विसं. १९४८ मा समालोचना गरेर नेपाली साहित्यमा पहिलो समालोचनाको मार्ग प्रशस्त गरे। त्यसपछिमात्र, ईश्वर बराल, सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्य, रामकृष्ण शर्मा आदिले समालोचनाको गतिलाई तीव्रता दिए। गुण–दोषलाई केलाएर समस्याप्रतिको उनको दूरदृष्टिले नै समालोचनाको आधार बनेको छ।
खनालका अंग्रेजी, संस्कृत र नेपाली भाषामा खँदिला एक दर्जन पुस्तकहरूको अलावा अनगिन्ती ज्ञानवद्र्धक फुटकर रचनाहरू छापिएका छन्।
उनका विविध सिर्जनामा, प्राध्यापन, कूटनीति, प्रशासनिक, सामाजिक तथा राष्ट्रवादी खोज, अध्ययन र चिन्तनको विशाल भण्डार छ। विसं. २००३ सालमा नेपाली भाषा प्रकाशिनी समितिले प्रकाशन गरेको सबैभन्दा बढी महŒव दर्शाउने ‘समालोचनाको सिद्धान्त’ खनालकै बौद्धिक प्रतिभाको परिणति हो। नेपाली प्रथम साहित्यिक समालोचना निजकै सिर्जना हो। निजले पूर्वीय र पश्चिमी समालोचनाको घुलन गर्ने कार्य समालोचनाको सिद्धान्तमा गरेका छन्। यस कृतिले पूर्वीय र पश्चिमी समालोचनाको प्रथम तुलनात्मक अध्ययनले गरेको छ। उनको नितान्त मौलिक विषयवस्तु भैकन पनि यो कलायुक्त दस्तावेज हो। यसरी, दुवै दर्शनलाई समाविष्ट गराई नेपाली समालोचना गर्ने पहिलो अध्येता उनै हुन्। यो कृति नवीन भएर पनि गहन छ र प्रथम भएर पनि ओजपूर्ण र खोजपूर्ण छ।
प्रकाण्ड विद्वान खनालले संस्कृतबाट अंग्रेजीमा र अंग्रेजी श्लोकहरू संस्कृतमा अनुवाद गर्थे। परराष्ट्रसम्बन्धी अंग्रेजी भाषामा लेखिएका आधा दर्जन कृतिहरूले विदेश नीतिबारे चर्चा गरेका छन्। नेपालसम्बन्धी अंग्रेजी भाषामा लेख्ने थोरै लेखकहरूमध्ये उनी अग्रपंक्तिमा पर्छन्। अंग्रेजी भाषामा लेखिएका कूटनीतिसम्बन्धी ६ वटा पुस्तकहरू ऐतिहासिक दस्तावेज हुन्। महाकवि देवकोटा र सिद्धिचरण श्रेष्ठ बारेमा अंग्रेजीमा विश्लेषणात्मक परिचयसहित उनले लेखेका छन्। केही मौलिक र केही अन्य भाषाहरूमार्पmत संस्कृतमा अनुवादित गरिएका कविताहरूको संकलन हो ‘सुक्तिसञ्चय’। २०३२ सालमा छापिएको यो संस्कृतमा लेखिएको यो पद्यकृति दुर्लभ कृति मानिन्छ। त्यस्तै, संस्कृत ‘भामिनी विलास’ पनि उनको नेपाली अनुवाद हो। उनको जीवनको ज्यादै ईष्र्यालाग्दो पक्ष हो उहाँको सक्रिय जीवन। ८० वर्ष कटिसकेपछि पनि उनले नेपाली साहित्यमा भानुभक्त र नेपाली भाषा, काव्यको अध्ययन, काव्य र काव्यशास्त्र, उपमा रूपक प्रतीक र सामाधिक सपना, सिर्जना सम्प्रेषण र समालोचना, नेपाली साहित्यमा चिन्तनको बटुलवाटुल, देवकोटा र शाकुन्तल एक विचरण, माधव घिमिरेका कविताको सानो परिक्रमा र मृगस्थली निबन्ध संग्रहसम्बन्धी लेखिएका साहित्यिक सिर्जनाहरू हुन्।
त्रिचन्द्र कलेजमा अंग्रेजी साहित्यका प्राध्यापक उनका दाजु हरिनाथको बारेमा लेखक कृष्णराज खनालले २०२८ सालमा प्रकाशित गरेको पुस्तक, ‘प्रो. हरिनाथ खनाल : जीवनी र परिवेश’ का लागि यदुनाथले आफ्नो बुद्धि र वर्कत धेरै नै लगाए। त्यस्तै, यदुनाथ बारेमा यावत् पक्ष समेटिएको डा. जयराज आचार्यद्वारा संकलित र साझा प्रकाशनद्वारा विसं. २०५९ मा प्रकाशित यदुनाथ खनाल जीवनी र विचार’ नामक पुस्तक सबैलाई पढ्न सुझाव दिइएको पाइन्छ। प्रत्येक सचेत नागरिकको कर्तव्य र जिम्मेवारीलगायत विदेशी विद्वानहरूले खनाललाई गरेको मूल्यांकन र बौद्धिक सम्मान बारेमा यस पुस्तक साक्षी भएको देखिन्छ।
साहित्य र साहित्यकार बारेमा लेखिएका लेखहरूको संग्रहको नाम हो ‘साहित्यिक चर्चा’। यो कृति २०३४ सालमा साझा प्रकाशनद्वारा प्रकाशित गरिएको थियो। उनको फुटकर रचना ‘कठोर’ निबन्ध हो। उक्त निबन्धमा कठोरताको मर्मस्पर्शी परिभाषा दिइएको छ। यसमा बधिनीको कठोरताप्रति भावनात्मक अभिव्यक्ति पोखिएको छ। उनको अर्को फुटकर निबन्ध ‘नारी जीवन’ हो। यसमा, बाहिरी जगत्का नारीहरू जस्तै नेपाली नारीहरूले पनि सामाजिक बन्धन र कुसंस्कारलाई त्यागेर प्रगतिशील पथमा लाग्नुपर्छ भनी नारीप्रति सम्मान र आदरभाव दर्शाइएको छ।
प्राध्यापन पेसामार्फत योगदान
कलकत्ता विश्वविद्यालयबाट विसं. १९९९ मा अंग्रेजी साहित्यमा एमएको परीक्षा दिएर स्वदेश फर्केपछि यदुनाथले त्रिचन्द्र कलेज (स्थापित १९७५ साल) मा अस्थायी प्राध्यापकको रूपमा सेवा शुभारम्भ गरे। विसं. १९९९ देखि २०१२ सालसम्म सम्मानित र लोकप्रिय प्राध्यापक थिए, प्राध्यापन सेवामा कहिल्यै आत्मग्लानीको अनुभूति भएन।
आफ्ना शिष्यहरू राष्ट्रको उच्च ओहोदामा पुग्दा गौरवान्वित हुन्थे र तिनैको अन्तर्गत रहँदा आत्मग्लानी भएन। उनी निकै मेहनत र परिश्रम गरी पढाउँथे। विद्यार्थीहरू पनि अति नै लगनशील र अनुशासित भई पढ्दथे। शिष्य र गुरुबीचको भावनात्मक सम्बन्ध न्यानो थियो। त्यसैले उनलाई सद्भाव र सन्तुष्टि प्रदान गरेको कुरा उनी व्यक्त गर्थे। सूर्यबहादुर थापाजस्तो उनका छात्र थिए। डेढ दशक प्राध्यापनपछि उनी अमेरिकाको लागि राजदूत भए। सन् १९७०–७१ मा हावर्ड विश्वविद्यालयको फेलो प्राप्त गर्ने पहिलो नेपाली थिए। यो केन्द्र विश्वमा ज्यादै प्रतिष्ठित छ।
प्रशासनिक एवम् सामाजिक सेवा
२०१२ माघ १३ गते टंकप्रसाद आचार्यको प्रधानमन्त्रीत्वमा सरकार गठनपछि सचिवालयको प्रमुख सचिवमा नियुक्त भई निजामती सेवामा प्रवेश गरे। लामो समय प्रशासनिक निकायमा गहन दायित्व सम्हालेका खनाल, योग्य र सक्षम प्रशासक, शिक्षाविद् एवम् गृहसचिव, सञ्चार सचिव, दुई पटक गृह र मन्त्रिपरिषद सचिवालयको प्रमुख निजी सचिव, त्रिवि शिक्षा आयोगको अध्यक्ष, राजसभा र राष्ट्रिय योजनाको सदस्य, लोकसेवा आयोगका अध्यक्ष रहेका यदुनाथलाई प्रशासनिक क्षेत्रको निष्पक्षता र निरपेक्षताको पर्याय मानिन्थ्यो।
- भुजेल चाँगुनारायण साहित्यिक समाज, भक्तपुरका अध्यक्ष हुन्।