बडीमालिका पुग्नु भनेको सौन्दर्यको एउटा मीठो अभिषेकले नुहाउनु हो।
४,२१९ मिटर उचाइको बडीमालिका मन्दिर पुग्नु भनेको अत्यन्त अनपेक्षित तर आत्मीय स्वागत–सत्कारले भरिपूर्ण गन्तव्य हो। बाजुरा र कालीकोटको सिमानामा रहेको बडीमालिका पुग्दा पाइलैपिच्छे ओच्छिएको उत्सुकता एवं हार्दिकताहरू पाइन्छ। कानमा लेकाली बतासको चिसो साउती, औंलाका टुप्पाटुप्पामा पाटनमा मगमगाइरहेका फूलहरू झैं सुकुमारता एवं कोमलता भेट्नु र आँखाका परेलीहरूमा दार्शनिक गाम्र्भीयतासहितको एउटा निजत्व महसुस गर्न पाउनु हो।
भनौं, आफ्नै दैनिकीको टोकाटोकसँग जुध्दै, आफ्नै जीवनदशाको उदासी ओढेर झोक्रिरहने हरेकले महसुस गर्नेछन् कि मानव प्रकृतिको विराटतासामु कति निरीह र नगण्य छ। मान्छे प्रकृतिको नातेदार वा मित्र हुनासाथ ऊ आफैं प्रकृति भइजाँदो रहेछ। यो महसुस बडीमालिका पुग्ने हरेकले गर्छन्, जो पंक्तिकारको जीवशास्त्रीय मुटुले पनि गर्यो।
मनुवालाई एउटा अत्यन्त सौन्दर्यशाली रचनाले यस्तरी अँगालिदिन्छ कि ऊ पटकपटक हुरुक्क हुरुक्क भइजान्छ। काँधकाँधसम्म आइपुगेको सेतो बादलको घेरा र छिनछिनमै हुने मौसम परिवर्तनका अभूतपूर्व दृश्यहरूको मसिना–कमला स्पर्शहरूले असीमित अनि दुर्लभ काउकुती लगाइरहन्छ। पाइलैपिच्छे ब्युँझिरहेका यस्ता विचित्रतालाई हरियो फाँटमा लतारिएका सुनौलो घामका किरणले अझ सदाबहार बनाइदिन्छ।
तन्तुतन्तुमा अद्भुतता, हार्दिकता, कोमलता, भावगत मुक्तता, अनियन्त्रितता वा स्वच्छन्दता, सहजता, स्वप्नीलता प्राप्त हुन्छ। जो बरोबर नवीनतम प्रतीत भइरहन्छ। जम्मामा, बडीमालिका पुग्नु भनेको सौन्दर्यको एउटा मीठो अभिषेकले नुहाउनु हो। पाँच महिना हिउँ (कात्तिक–फागुन)ले ढाक्ने यहाँका सेताम्मे पाटन चार महिना (जेठ–भदौ) कुहिरो ओढेर बसिरहेका हुन्छन् भने चैत र वैशाखमा रुक्खासुक्खा एवं सुनौला देखिन्छन्। पूर्वमा सैपाल हिमाल, जेठी बैरानी शिखर, सुर्मा सरोवर लेक, खप्तड लेक पर्छ भने उत्तर दिशामा मुगु चिनाउने सिस्ने र पातरसी हिमाल आदि छर्लंग देखिने हुँदा बडीमालिका पुग्नु भनेको दुर्लभ हिमालहरूको दर्शन पाउनु पनि हो।
बाजुरा जिल्लाको त्रिवेणी, बडीमालिका र बूढीनान्दा नगरपालिका, कालीकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका एवं अछाम जिल्लाको रामारोशन गाउँपालिकाका करिब ५०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको (२,०००–४,२१९ मिटर) बृहत्तर बडीमालिका क्षेत्रको धार्मिक, ऐतिहासिक एवं पर्यापर्यटकीय महत्व उच्च छ। मानव हुनुको अहंकारउन्मुख विविधतामय सन्दर्भमा विचलनयुक्त पुँजीवादले छोइनसकेको यस क्षेत्र हेर्न भव्य र रमाउन दिव्य अवसर प्राप्त हुनेछ तर पुग्न र बस्न साह्रो कठिन छ। व्यवस्थापकीय कमजोरी एवं सामान्य पर्यटकीय पूर्वाधारको अभावका कारण वैशाखको दोस्रो हप्तादेखि कात्तिकको पहिलो हप्तासम्म पर्यापर्यटक पुग्छन्।
अनेकन् पौराणिक कथन, अनेकन् अन्धविश्वास
बडीमालिकाको उत्पत्ति सम्बन्धमा अनेकन् पौराणिक कथनहरू प्रचलित छन्,सँगै अन्धविश्वासहरू पनि उत्तिकै छन्।
- बडीमालिका देवीको उत्पत्ति र मलायागिरि (मालिका पर्वत)बारे जिकिर स्वस्थानी व्रतकथामा भेटिन्छ। कथनअनुसार महादेवकी पत्नी सतीदेवीले पिता दक्ष प्रजापतिको अग्निकुण्डमा प्राण त्याग गरेपछि पत्नी वियोगले विक्षिप्त बनेका महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण थाले। महादेवले बोकेको सतीको शरीर नगलेपछि भगवान् विष्णुले झिँगाको उत्पत्ति गरी गल्ने बनाए। यसरी सतीदेवीका गलेका अंगहरू ठाउँठाउँमा पतन हुँदै खस्न थाले। जहाँजहाँ सतीका अंग पतन भए त्यहाँ त्यहाँ एकएकोटा शक्ति पीठ उत्पत्ति हुँदै गए। यसै क्रममा मल्लागिरि (मलया गिरि) पर्वतमा सतीदेवीको बायाँ कुम पतन भयो, जहाँ शक्ति पीठ उत्पन्न भयो। यही मल्ला गिरि शब्द अपभ्रंश हुँदै ‘मल्लिका’ हुन पुग्यो। यही मल्लिका अथवा मालिकादेवी शक्ति स्वरूप (शक्ति पीठ)ले रहन थालिन्। कालान्तरमा यही ठाउँमा बडीमालिका मन्दिर स्थापना गरी भव्य पूजा गर्न थालियो। पार्वती र भगवतीको स्वरूपकी यिनलाई ‘हृदय बासिनी, दुःख नासिनी’, ‘खुसीकी सैगुनी, ज्ञानकी खानी’ एवं ‘मनकामना सन्तान शक्ति, मोक्ष प्राप्ति’का रूपमा लिइन्छ।
- वि.सं. १४४१ सम्म डोल्पास्थित कोटगढीमा अवस्थित त्रिपुरासुन्दरी भगवती मन्दिर क्षेत्रको कोटगढीमा एउटा ढुंगाको ओखल थियो, जहाँ टाढाटाढाबाट स्थानीयहरू धान कुट्न आउँथे। सामान्यतः ओखलमा कुटिएको धानको आधा चामल र आधा भुस आउने गर्छ तर यस ओखलमा धानको मात्रा बराबर नै चामल आउने गथ्र्यो। यस अभूतपूर्व ओखलको तल्लो भागमा कुनै रहस्य रहेको जनविश्वासअनुसार सो रहस्योद्घाटन कार्यका लागि स्थानीय कुमाई विष्ट अगाडि सरे। विष्टले पहिलो दिन ढल्दासम्म ओखलको पिँध छिचोल्न सकेनन् र यसै छाडी घर फर्किए।
- भोलिपल्ट सबेरै जाँदा अघिल्लो दिन खनिएको ठाउँ जस्ताको तस्तै रहेको पाएर कुमाई विष्ट अचम्मित भए र पुनश्चः रातभर जमिन खनेर ओखल निकाली छाड्ने अठोट लिए। बिहानको मिर्मिरे घामसँगै ओखल खन्ने काम सकियो। जहाँ सिंहासनमा बसेकी श्री भगवती त्रिपुरा सुन्दरीका ९ वटा मूर्ति र मूर्तिको शिरमा घृर्तपूर्ण घडा (घिउले भरिएको)को दुर्लभ दर्शन कुमाई विष्टले पाए। विष्टले जसै घिउको घडा झिकेर पर सारे, ओखलमुनि बसेका ९ वटै भगवतीका दिव्य मूर्तिहरू नौवटा पुतली भई उडेर गए। उडेर जानेमध्ये क्रमशः बाजुरा पुगेर बडीमालिका, जुम्ला पुगेर कनिकासुन्दरी, नेपालगन्ज पुगेर बागेश्वरी, डोटी पुगेर शैलेश्वरी, डँडेलधुरा पुगेर उग्रतारा, बैतडी पुगेर निंगलासैनी, सल्यान पुगेर खैरवाङ भुवनेश्वरी, बैतडी पुगेर डिलासैनी र अर्की अर्घाखाँची पुगेर अर्घा भगवती भई बसेको विश्वास गरिन्छ। यसरी उडिगएका भगवतीहरूको नाम व्यक्तिअनुसार फरक भेटिनु अर्को सुखद आश्चर्य हो। यस कथनमा बाला, त्रिपुरा र सुन्दरी बाँकी पुतलीहरूलाई कुमाई विष्टले समाती डोल्पामै राखी त्रिपुरासुन्दरी भगवती रूपमा स्थापित गरी पूजा चलाएको विश्वास गरिन्छ (डोल्पाका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती, रत्नाकार देवकोटा, डिजिटल हिमालय)।
- उडेर जाने पुतलीहरूमध्ये जेठी बहिनी बडीमालिकालाई अर्को कथनले ‘कान्छी बहिनी’को दर्जा दिएको पनि भेटिन्छ। आफ्ना दिदीहरूसँग आफू मानवबस्तीदेखि धेरै टाढा पुगेको र खान पाउने भइन् भनी रोएकीले ‘तिमीले नखाई हामी खाँदैनौं, तिमीलाई डोटीको दिपायल जिउलाको रोप्न तयार पारेको भुरुणी धानको बीउको सानो झुप्पो र अछाम बैजनाथ (बजीनाथ, बौजीनाथ) जिउलाको चिउरा खुवाउला’ भनी फकाएका थिए। डोटीको दिपायलमा गुरुपूर्णिमासम्म रोपाइँ हुने र अछामको बैजनाथमा चैतेधान पाकिसकेको हुनुले यस कथनलाई अझ पुष्टि गर्छ।
- बडीमालिका महोत्सवका अवसरमा भएको २०७४ को विद्रोहपछि दलित समुदायको प्रवेश खुकुलो भएको छ। यद्यपि यस अन्धविश्वासले सुदूरपश्चिममा जरा गाडिरहेको पाइन्छ। बडीमालिका मन्दिरमा दलित प्रवेश रोक्न यस पौराणिक कथनले काम गरेको छ। कथनअनुसार, भगवतीले घमासान युद्धपश्चात् महिषासुरको वध गरी कालीकोटको ‘द्वारेढुंगा’ बसेकी थिइन्। जहाँ उनको भेट दाउरा खोज्न आएका एक जना दलितसँग भयो। ऊ भोकले व्याकुल भई देवीसँग बहरको मासु र हिया गहुँको रोटी माग्छ। देवीले सो मनोरथ पूरा गरिदिन्छिन्। उसले पूरै बहर एक्लै खान नसकेपछि उसले आफ्नो घरका मान्छेलाई बोलाउँछ तर टाढा रहेका घरपरिवारले उसको बोलावट सुन्दैनन्।
- त्यसपछि रिसाएको दलितले भगवतीका सामुन्ने ‘हे परमेश्वरी, मेरा घरका सबै मान्छे मरुन्’ भनिदिन्छ। र, ऊ घर पुग्दा उसका परिवार सबै जहान मरेको पाउँछ। दलित फेरि रिसाउँदै द्वारेढुंगा पुग्छ र देवीलाई ताकेर बहरको फिलाले हान्छ। सो छाप अझै द्वारेढुंगामा देखिन्छ भनिन्छ। यस घटनापछि देवी सधैंका लागि त्यो ठाउँ छाडेर त्रिवेणी, पञ्चपुरी पाटन, मल्लपुरी पाटन हुँदै बडीमालिकामा गएर बस्छिन्। यसै कथनमा आधारित रहेर सुदूरपश्चिम एवं कर्णालीका दलित समुदायलाई रोक लगाइएको हो।
र, प्रतिवर्ष कालीकोटबाट बडीमालिका जाने सरकारी पेटारे टोलीले आज पनि जुन बाटो देवी बडीमालिका गएकी थिइन्। त्यहीँ बाटोलाई पछ्याइरहेको छ। सँगै, यही कथनमा आधारित रहेर बडीमालिका जान नसक्नेहरूको दर्शनार्थ बाजुरा सदरमुकाम मार्तडीमा रहेको बडीमालिका मन्दिरमा यस प्रकारका विभेदका घटना हरेक वर्ष देखिरहेको छ। यस अलावा यहाँ वारि पाटन क्षेत्रदेखि लोग्ने स्वास्नी भएपनि सँगै सुत्न नहुने, घोडा चढ्न नहुने एवं मदिरा र मासु प्रवेश निषेध गरिएको छ। तर, बडीमालिकामा महिनावारी भएका महिला पुगेमा अशुभ हुने र देवी रिसाएर घनघोर पानी पार्दिने जनविश्वास छ।
१७८० देखि सरकारी टोलीबाट वर्षमा दुई पटक पूजा
बडीमालिकामा वर्षको दुई पटक वैशाख पूर्णिमा अर्थात् गंगा दसहरा र जनपूर्णिमाको अघिल्लो दिन अथौत् साउने चतुर्दशीका दिन भव्य मेला लाग्छ। दुवै अवसरमा सरकारी टोलीको उपस्थिति हुन्छ। गंगा दशहराको पूजाभन्दा प्रतिवर्ष श्रावण शुक्ल द्वादशीका दिनबाट श्रावण शुक्ल चतुर्दशीका दिनसम्म हुने पूजा मुख्य पूजाको रूपमा लिइने हुँदा त्यतिबेला दर्शनार्थीको घुइँचो हुन्छ।
मालिका पर्वतको ४,२१९ मिटर उचाइमा रहेकी बडीमालिकालाई तत्कालीन बडामहाराजाधिराज पृथ्वीनारायण शाहले पनि पूजा पुर्याएका थिए। तत्कालीन पश्चिम नुवाकोट, सिञ्जा एवं डोटी राज्य जितेर देश एकीकरण गर्न गुुरु गोरखनाथले शाहलाई बडीमालिका देवीको पूजा गर्न पठाएको लोकोक्ति छ। तत्कालीन राजपरिवारको सदस्य (राजा महेन्द्र, वीरेन्द्र)ले हेलिकोप्टर लिएर बडीमालिकामा पूजा पुर्याउनुले १७८० को दशकदेखि नै सरकारी टोलीबाट वर्षमा दुईपटक पूजा हुँदै आएको इतिहासको निरन्तरतालाई संकेत गर्छ।
पूजा पुर्याउन बाजुरा, कालीकोट, डोटी, हुम्ला र जुम्लाबाट संयुक्त टाँगो र पेटारो (पूजापाठमा आवश्यक पर्ने सामग्री) सहितको सरकारी टोली प्रतिवर्ष बडीमालिका पुग्ने गर्छ। यी टोलीहरू विभिन्न ठाउँबाट आई साउन शुक्ल तृतीयाका दिन बिनीमा (त्रिवेणीधाम) पूजा गरी मध्याह्न वा साँझपख बडीमालिका मन्दिर पुग्ने गर्छन् र देशमा कुनै अनिष्ट नहोस् भनेर भेटी चढाउँछन्।
मन लुट्ने त्रिवेणी पाटन र चिताएको पूरा गर्ने त्रिवेणीधाम
करिब ३,८०० मिटर उचाइमा रहेको त्रिवेणीधाम एवं त्रिवेणी पाटन क्षेत्रका चित्ताकर्षक दुई पाटनको चर्चाबेगर अगाडि जान मिल्दैन। गंगा र जमुना (सरस्वती गुप्तरूपले बगेकी विश्वास) नदीको संगम अर्थात् त्रिवेणीधाममा नुहाएर बडीमालिका दर्शन गरे मनले चिताएको पूरा हुने, रोगव्याध नास हुने, पदोन्नति हुने जनविश्वास छ। जसका कारण भक्तजन एक रात यही बिसाई नुहाइधुवाइ गरी पितृ पूजा सकेर भोलिपल्ट सबेरै बडीमालिका धाम उक्लिने गर्छन्।
श्रावण शुक्ल त्रयोदशीका दिन बिहान स्नान गरेर धूप बत्ती बाल्ने र त्रिवेणीमा रहेका दुईवटा मन्दिरमा पूजा गरेर बडीमालिका माईको जयजयकार गर्दै भक्तजनले उकालो बाटोको यात्रा गर्छन्। बडीमालिका मन्दिर यहाँबाट करिब पाँच घण्टामा पुगिन्छ, जो साह्रो कठिन छ। पृष्ठभूमिमा स्थानीय लोकभाका, पञ्चैबाजा, देउडा, मागल, सगुन, आरती, पड्छो, भोस्सो, पैठ, हुड्केलीजस्ता मन लुट्ने सांस्कृतिक वैभवहरू गुञ्जायमान हुन्छन्। जसले कुनै काल्पनिक लोकमा प्रवेश गरिरहे झैं महसुस गराउँछन्।
साथै, त्रिवेणीमा पेटारो बोकेका पाँच जिल्लाका सरकारी टोलीले सबै धातुले बनेको आआफ्नो गजुरलाई नुहाउने चलन छ। तर गजुर नुहाउँदै गर्दा विशेषगरी ‘पूर्व वा पश्चिम’ भनेर गजुर खोस्ने चलन छ। गजुर जतातिर खोस्न सकियो त्यहाँ बडीमालिका माईको नजर त्यतै पर्ने र त्यहाँ वर्षभर शुभ हुने किंवदन्ती छ। यो एक किसिमको धार्मिक प्रतियोगिता जस्तै हुन्छ।
सरकारी पूजा र धार्मिक सहिष्णुता
माथि भनियो, प्रतिवर्ष विभिन्न पाँच जिल्लाबाट संयुक्त टाँगो र पेटारोसहितको सरकारी टोली र पुजारी बडीमालिकाका लागि प्रस्थान गर्ने गर्छन्। उनीहरू सँगसँगै जिल्लाका हजारौं भक्तजन तोकिएको निश्चित ठाउँहरूमा बस्दै बडीमालिकातर्फ लाग्छन् भने आउन नपाएका भक्तजनले आफ्नो वरपूर्तिका लागि भेटीसँगै मार्सी धानको अक्षता, फूलपाती, फलफूल, ध्वजा, तोरणजस्ता प्रसादहरू पठाउने गर्छन्।
चतुर्दशीको पूजाका लागि कालीकोटबाट सुनको गजुरसहित पेटारो (पूजा सामग्रीको पोको) बोकेर बख्र्याल थरका पुजारी र सरकारी टोली बडीमालिकाका लागि निस्कने गर्छ। अछामको वैद्यनाथ मन्दिरबाट आठ दिनअघि नै पाक्न लागेको धानको बालासहितको टोली र बाजुराबाट तीन दिनअघिबाटै सरकारी टोली मालिका मन्दिर पुग्ने गर्छन्। बाजुराको हकमा पेटारो पठाउने चलन अन्य जिल्लाभन्दा पछि चलेको पाइन्छ।
जुम्लाबाट नागपञ्चमीका दिन सरकारी टोली औपचारिक रूपमा बडा बसाली, हजारौं भक्तजनको उपस्थितिमा बाजागाजासहित बडीमालिकाका लागि निस्कन्छ। डोटीको हकमा, दिपायल दिल्पेश्वरबाट धानका भुरुणी तथा पूजा सामग्री पेटारो बोकेर तत्कालीन डोटी गौंडा (हाल जिल्ला)को सरकारी १५ दिनअघि नै डोलजात्रासहितको टोली बडीमालिका निस्कन्छ। पूजाका लागि डोटीको टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा बिदा दिने प्रचलन छ।
यसरी पूजाको डोलीसहित बडीमालिका हिँडेको टोलीलाई सेनाको टुकुटीले सलामी अर्पण, बाजागाजा र बिगुल फुकेर भव्य बिदाइ गर्ने गरिन्छ। सामान्यतः यी पेटारे सरकारी टोलीभन्दा अगाडि कोही जाँदैनन्। सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरली आदि गरी पाँच जिल्लाबाट पाँच पूजाका सामान (पेटारो) नामक झोलीमा राखेर बडीमालिका मन्दिरमा पूजाका पठाउनुले धार्मिक सहिष्णुता एवं सांस्कृतिक वैभवता झल्किन्छ।
डोटीको पेटारे टोलीबाट सुरु गर्नुपर्ने हुन्छ। डोटीबाट सरकारी पूजा नभई अरूले पूजा गर्न नपाउने प्रचलनसमेत छ। डोटीपश्चात् अन्य जिल्लाका पेटारे टोली एवं तीर्थयात्रीले पूजा गर्छन्। बडीमालिकामा मूलतः दुई पुजारी (कालीकोट र बाजुरा)ले पूजा गर्छन्। पैमा निवासी तिमिल्सिना वंशका ब्राह्मण मूलपुजारी छन् भने बख्र्याल पुजारी होम कुण्ड तथा त्रिवेणीधाममा बस्छन्।
चतुर्दशीका दिन पूजा हुने हुँदा त्रियादशीको रातभरि मागल भजन गाईदेवीको जयजयकारले मालिका पर्वत गुञ्जायमान हुन्छ। साउन शुक्ल चतुर्दशीका दिन बडीमालिका मन्दिरमा मूल पूजा हुने गर्छ। पूजा अर्चनासँगै बिहान होम सुरु हुन्छ। जौ, तिल, घ्यू, तेल, विधि विधान र मन्त्रबाट हवन कुण्डमा हाम भई टीका, तिलक, प्रसादस्वरूप देवीलाई चढाई सम्पूर्ण भक्तजन एवं दर्शनार्थीलाई दिइन्छ। बडीमालिकाको पूजा चतुर्दशीको दिन बिहानको ११ बजे आसपास सकिने हुँदा सरकारी पेटारे टोलीसहित सम्पूर्ण तीर्थयात्री नाट्टेश्वरीतर्फ लाग्छन् र त्यहाँ रातभर जात्रा हुन्छ।
जनैपूर्णिमाको दिन नाट्टेश्वरीका कालिकाको पूजा हुन्छ। नाट्टेश्वरी माई (कालिका) अर्थात् मौरे क्षेत्र प्राचीन समयदेखिको देवीको नाचगान, मनोरञ्जन गर्ने ‘नाचन थली’को रूपमा रहेको विश्वास छ। नाट्येश्वरी माईका पुजारी छत्याल वंशीय ठकुरी छन्। नाट्टेश्वरी मन्दिरमा पूजा गरेपछि बडीमालिका दर्शनको चक्र पूरा हुन्छ। त्यसपश्चात् पैमा पुजारी आफ्नो मूल घर भण्डार गृह फर्की बाजागाजा, पञ्चकलशसहित देवीलाई भव्य स्वागतका साथ डोली घरमा भित्र्याउने गर्छन्।
अस्पष्ट र अप्रमाणित इतिहास
बडीमालिका मन्दिरको ऐतिहासिक पाटो यद्यपि अस्पष्ट र अलिखित छ। इतिहासमा, पृथ्वीनारायण शाह अलावा उनका इमानदार योद्धा र भारदार अमरसिंह थापाको नाम भेटिन्छ। देवीको आशीर्वाद प्राप्त भएका कारण महाकाली पश्चिम विजय प्राप्त भएको ठानी थापाले डोटीबाट सरकारी टोलीसहितको पेटारो र डोली पठाउने थिति बसालेको पाइन्छ। यता, भीमसेन थापाले समेत मन्दिर दर्शन गरेको बताइएता पनि त्यसको लिखित प्रमाण छैन। तर, १८८३ सालमा राजा रणबहादुर शाहले लालमोहर लगाई राष्ट्रिय धार्मिक आस्थाको क्षेत्रका रूपमा प्रमाणित गरेको प्रमाण पुजारी परिवारसँग रहेकाबाट पनि यसको ऐतिहासिक महत्त्व भने साबित हुन आउँछ।
पछिल्लो ज्ञात इतिहासअनुसार, २०२८ सालमा राजा वीरेन्द्र र रानी ऐश्वर्यसमक्ष खप्तड बाबाको निर्देशनअनुसार तत्कालीन सुदूरपश्चिम बहिनीपति भरतकेशरी शाहले मन्दिर निर्माण योजना बनाएका र तत्कालीन जिल्ला विकास समितिका सभापति छत्रबहादुर शाह, पुजारी मनिराम पाध्याय, हर्क खत्री, चक्रबहादुर थापा, सर्पे बुढा, दलबहादुर रावललगायतले २०३६ साल गई मन्दिर निर्माण गरेका हुन्। २०३७ माघमा राजा वीरेन्द्र र रानी ऐश्वर्यले चढाएको घण्टा हाल पनि देख्न सकिन्छ।
तत्कालीन रानी दिव्यश्री शाहले मालिका गुठी निर्माण गरी दर्ता गरेकी हुन्। सशस्त्र माओवादी युद्धको समयमा मन्दिरका मूर्तिहरू चोरी भएको र तत्कालीन पुजारी भोजराज पाध्याय र नेत्रराज पाध्यायले पहिलोपटक २०६३ चैत्र ६ गतेदेखि १२ गतेसम्म शतचण्डी ज्ञान महायज्ञ तथा गायत्री लघुपश्चरण अनुष्ठान गरेको पाइन्छ (भरत बुढा)।