आत्मीयता साट्दै सकियो दसैं

आत्मीयता साट्दै सकियो दसैं
सुन्नुहोस्

काठमाडौं : पढाइ होस् या अन्य केही काम, घर र आफन्तबाट टाढा रहेकालाई जुटाउने माध्यम। सानालाई दक्षिणा र ठूलालाई आशीर्वादले सम्झना दिलाइरहने चाड। अनि माया, सम्मान र हौसलाको एकमुष्ठ उपहार पाइने दसैं पर्व टीका र जमराले रंगिँदै सकिएको छ। असत्य माथि सत्यको विजयका रूपमा लिइने यो पर्व शनिबार राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित जाग्राम बसेपछि सकिएको हो।

सदा वर्षझै यस वर्ष पनि नेपालीले आ–आफ्नो संस्कार–संस्कृतिअनुसार दसैं मनाए। केही दिन भए पनि सुनसान बन्दै गएको गाउँमा चहलपहल भयो। सहर सुनसान भए। किसान कामबाट फुर्सदिला भएको मौसम पनि यहीँ हो। त्यसैले केही दिन भए पनि सबैले खुसी बाँडेँ। आत्मीयता साटे। 

विभिन्न जातजाति तथा धर्मावलम्बीहरूले आ–आफ्नो परम्पराअनुसार यसपटक पनि संस्कृतिलाई जोगाएको बताउँछन् वरिष्ठ संस्कृतविद् तेजेश्वरबाबु ग्वांङ। उनी पहिलेभन्दा दसैं मनाउने चलनमा धेरै परिवर्तन आए पनि आफन्त भेटघाट र आत्मीयतालाई भने अझै जीवन्त राखेको बताउँछन्। भन्छन्, ‘दसैं सबैले आ–आफ्नै धार्मिक संस्कृतिअनुसार मनाउने पर्व हो। यसलाई युवा पुस्ताले पनि बुझ्दै र आत्मसात् गर्दै लैजानु पर्छ।’

अर्का संस्कृतिविद् डा. वीरबहादुर महतो दसैंले सबै धर्म मान्ने नेपालीलाई एउटै मालामा उन्न सकेको बताउँछन्। भन्छन्, ‘दसैं यस्तो पर्व हो, जसले सबैको मनमा खुसी छर्छ। आत्मीयता साट्ने वातावरण बनाउँछ। अनि यो समय मौसमले पनि साथ दिन्छ।’

यसपटक मधेस प्रदेशको जनकपुरमा राजा जनकको कुलदेवी राजदेवी मन्दिरमा ठूलो पूजा आयोजना भयो। देशभरिका अन्य शक्तिपीठहरूमा देवी दुर्गाको पूजा आराधना भए। मूलवासी समुदायले अलि पृथक् तरिकाले दसैं मनाएको संस्कृतिविद् महतो बताउँछन्। उनीहरूले महिषासुरको शहादत दिवस आयोजना गरेर दसैं मनाए। 

दसैंमा तराईमा झिंझिया नाच नाचिन्छ। गाउँमा युवतीले माटोको घैंटोमा दुलो पारेर भित्र दियो बालेर टाउकोमा राखेर यो नाच दसैंभरि नाच्छन्। मगही भाषा अभियानका फुलगेन मगही भन्छन्, ‘झिंझिया नाचले दसैंलाई अझै चमक दिन्छ।’ सद्भावको सहरले चिनिएको नेपालगन्जमा बडादसैंको दिन मुस्लिम समुदायका अगुवाहरूले पनि आफ्ना मान्यजनबाट टीका, जमरा लगाएर दसैं मनाएका छन्।

हिन्दूहरूको महानपर्व बडादसैंका अवसरमा मुस्लिम अगुवाहरूले दसैंको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका हुन्। बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसैंको टीका र जमरा लगाएका हुन्। उनले दसैं तिहार, रक्षाबन्धन, होलीजस्ता चाडपर्व सधैं यसरी नै मिलेर मनाउने गरेको बताए। 

धार्मिक तथा सांस्कृतिक नगर महोत्तरीको मटिहानीमा रावणवध गरियो। रावणको विशाल पुत्ला बनाई रावणवध गरिएको थियो। मंगलबार साँझ विजयादशमीका अवसरमा त्यहाँ निर्मित रावण प्रतिमालाई श्रीरामको भूमिकाका रहेका कलाकारले तीर (धनुषबाण) हानेर लडाएपछि रावणवध गरिएको र यो पुरानो परम्परा रहेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए। 

चितवनको  पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैं मनाए। नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैं मनाए। 

यस्तै कोशी प्रदेशमा किरात समुदायले सेतो टीका लगाएर दसैं मनाए भने दाङमा थारू समुदायले नवमीको दिन सेतो टीका लगाएर हर्षोल्लासका साथ यो पर्व मनाए। 

बडादसैंको अघिल्लो दिन थारू समुदायले दसैं मनाउने चलनअनुसार दाङका थारूहरूले टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिएर मनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.