लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ
सर्लाही : कबिलसी नगरपालिका-९ सलेम्पुरबाट अवैध लागुऔषध गाँजा २ सय ५० किलोग्रामसहित सोही नगरपालिका-१० बस्ने २४ वर्षीय भाग्यनारायण महतो समेत दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले ज.१ त ५५५१ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्याक्टरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ इनर्वागाउँ चोकस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम र नियन्त्रित लागुऔषध नाईट्राभेट २ सय ७० ट्याव्लेटसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन कालिकामाई नगरपालिका-६ बस्ने १९ वर्षीय सुजन तिवारी र सोही नगरपालिका-७ बस्ने १९ वर्षीय शक्ति परियार रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा वीरगंज र अस्थायी प्रहरी पोष्ट इनर्वागाँउबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी पर्सा,पटेर्वा सुगौली गाउँपालिका-५ निचुटा नौगछियाबाट अवैध लागुऔषध गाँजा करिब १० किलोग्रामसहित जगनाथपुर गाउँपालिका-५ सोपुर बस्ने ४५ वर्षीय हिरामान यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र अस्थाई प्रहरी पोष्ट सुपौलीबाट खटिएको प्रहरीले बीआर २२ एई ६७४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-२ गौनियाबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने २६ वर्षीय तपेन्द्र बोहरा समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले से.७ प १०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली,टीकापुर नगरपालिका-९ खक्रौलास्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय नरेश रावल समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कपिलवस्तु, विजयनगर गाउँपालिका-२ पडरियाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४५ मिलिग्राम र १ थान डिजिटल तराजुसहित सोही ठाउँ बस्ने २३ वर्षीय बिजय कुमार गुप्ता तेलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । तेलीले लागुऔषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।