सामाजिक सञ्जालको सन्त्रास
सामाजिक सञ्जालहरू जति भाइरल भए पनि स्थायित्वको शक्ति देखिँदैन।
सयौंपटक भनेपछि असत्य पनि सत्य बन्छ। युद्ध र चुनावका समयमा सत्यलाई प्रभावित पार्न मिथ्या सूचनाहरू बग्रेल्ती सम्प्रेषण गर्ने गरिन्छ। एडोल्फ हिटलरका सञ्चार मन्त्री जोसेफ गोबएल्सको काम नै प्रोपगाण्डा (मिथ्या प्रचार) गर्नु थियो। चुनाव र युद्धमा मात्र दुरुपयोग हुँदै आएको मिथ्या सूचना सन् १९९७ पछि विस्तार भएको सोसल नेटवर्कले सामाजिक जीवनका अन्य क्षेत्रलाई प्रभाव पार्न थालिसकेकोले अहिले निकै आक्रामक बनिसकेको छ। ब्लग, माइक्रो ब्लग, विकिज, फोटो सेरिङ, भर्चुएल इन्टर्याक्सन, युट्युबलगायत अन्य सामाजिक सञ्जालका माध्यमहरूको तीव्र सक्रियताले ग्लोबल डेमोक्रेसी, ग्लोबल गभर्नेन्स, ग्लोबल सिटिजनसिपका नयाँ मानकहरू स्थापना भएका छन्। कतिपय अवस्थामा सामाजिक सञ्जालको अनपेक्षित सक्रियताले यसको सामाजिकपनामाथि प्रश्नसमेत उठ्ने गरेको छ।
आमसञ्चार होस् वा सामाजिक सञ्जाल, सञ्चारको काम विचार, दृष्टिकोण र ज्ञानका लागि मत/अभिमतको परिचालन हो। यस दृष्टिकोणबाट आमसञ्चार र सामाजिक सञ्जालबीच विभाजन हुनु हुँदैनथ्यो। आमसञ्चारले आमधारणा र सूचना सम्प्रेषण गर्ने हो, सामाजिक सञ्जालले सामाजिक भावना सम्प्रेषण गर्ने हो। यी दुईबीच भिन्नता हुनुपर्ने कुनै कारण नभए पनि आमसञ्चार ‘आम’को नभएपछि सामाजिक सञ्जालले ‘आम’को विश्वास जित्न पुग्यो। परम्परागत आमसञ्चारले सामाजिक तह सोपानलाई अति नै महत्त्व दिँदै आएको छ। ओहोदा, पद, प्रतिष्ठा र प्रभुत्वशाली वर्गको विचार, आग्रह र प्राथमिकतालाई स्थान दिँदा यो आमबाट टाढियो। आफ्ना विचार, अभिव्यक्ति, चाख र भावनालाई आफूजस्तै सम्म आफ्नै माध्यमबाट पुर्याउने प्लेटफर्मका रूपमा सामाजिक सञ्जालले ख्याति पाएपछि शास्त्रीय आमसञ्चारको परिभाषा बदलियो। सामाजिक सञ्जाल नै वास्तविक आमसञ्चारको दाबी गर्न थालेको छ भने शास्त्रीय सञ्चारमा जबर्दस्त अस्तित्व रक्षाको दबाब पर्न गयो।
सरल पहुँच, तीव्र प्रसार र आधिकारिता प्रमाणित गर्न नपर्ने चरित्रका कारण डिजिटल फुटप्रिन्ट यसरी फैलिन पुग्यो कि यो सामाजिक व्यवस्थामा दुईधारे तरबार बन्न पुग्यो। लोकतन्त्रमा निजत्वको आनन्द र स्वनियमनको सीमाबीच सन्तुलन हुन्छ, तर सामाजिक सञ्जाल निजत्वको आनन्दलाई सीमाहीन बनाउन थाल्यो। यसलाई दुरुपयोग गरेर लोकतन्त्र र सामाजिक व्यवस्थामाथि धावा बोल्ने सम्भावना पनि बढ्न थाल्यो। स्टेफेन लिवेन्स्की र डानिएल जिब्लान्टले २०१८ मा ‘लोकतन्त्र कसरी विनाश हुन्छ’ भन्ने पुस्तकर्मात सामाजिक भावाशेष र कुण्ठाको सेन्टिमेन्टल लोकतन्त्रका रक्षकहरू धाराशायी हुने डरलाग्दो चित्र प्रस्तुत गरेका छन्। ह्युगो चाभेज, अल्वर्टो फुजिमोरी, एडोल्फ हिटलर, मुसोलिनीहरूले गरेको सूचनाशक्तिको दुरुपयोगले उनीहरूको क्षणिक प्रियताले लोकतन्त्रलाई छायाँमा पारिदियो। पछिल्लो समय केही मुलुकहरूमा उग्र दक्षिणपन्थको भावना विकास हुनुमा पनि सूचना शक्तिको तोडमोडपूर्ण प्रसारको भूमिका छ।
राज्यको चौथो शाखाको रूपमा सञ्चार क्षेत्रले ‘वाचडग’ को भूमिका खेल्दै आएकोमा यो विस्तारै ‘ल्यापडग’को भूमिकामा पुग्न गएको छ।
सूचना सम्प्रेषणको मनोविज्ञानअनुसार नकारात्मक सन्देशहरू छिट्टै भाइरल हुन्छन्। सामाजिक सञ्जालमा यो मनोविज्ञान अरू तीव्र देखिन्छ। तर सामाजिक सञ्जालहरू जति भाइरल भए पनि स्थायित्वको शक्ति देखिँदैन। साबुनका फिँज जसरी ह्वात्त उठेर स्वात्त सेलाउन पुग्छन्। त्यसले मानिसहरूको दिमागमा उत्तेजना उमार्नेे, आवेग र कुण्ठा जगाउने खतरा ल्याउँछ। राजनीतिक दलहरूको आधार क्षेत्र भत्काउन, सामाजिक मूल्यसंस्कृति विनिर्माण गर्न र आवेश संस्कृति फैलाउन सोसल मिडिया स्वचालित हुने गर्छन्। यसलाई तर्क र सिलसिलामा रहेर सन्देश प्रवाह गर्नु छैन, किनकि यो आफैंमा अनौपचारिक र बेलगाम पनि छन्, उत्तरदायित्व निर्वाह पनि गर्नु पर्दैन। त्यसैले यिनीहरू बहुधा अर्थमा दुष्प्रचारक कहलिन्छन्।
नेपालमा गत निर्वाचनका समयमा यसले आफ्नो प्रवृत्तिलाई बेस्सरी देखाएको थियो। त्यसपछिका अर्थरानजीतिक सबालमा पनि यो बेलगाम तीव्र देखियो। तर आफ्नो कारण समाज, अर्थ राजनीति र जनजीवनमा कस्तो प्रभाव पर्छ भन्नेमा भने यो बेसावधान देखिँदै आएको छ। स्वैच्छिक धारमा रहने भएकाले महत्त्वपूर्ण विषयबाट टाढा रही वाहवाहीको क्षेत्रमा मात्र दौडिन सक्छ। जस्तो कि घोडेटाप मूल्यवृद्धि र फौवन्जारी बजारमा सामाजिक सञ्जालको आँखा परेको छैन।
सामाजिक सञ्जालले राजनीतिमा पार्ने प्रभावका सन्दर्भमा जोन्स र माइकलले ‘हाइज्याकिङ डेमोक्रेसी एन्ड सिभिलटी इन् सिभिक इन्गेजमेन्ट’ मा महत्त्वपूर्ण निष्कर्ष निकालेका छन्। पहिलो त यसले राजनीतिलाई वास्तविकताबाट प्रियतातर्फ धकेल्छ। दोस्रो राजनीतिक ध्रुवीकरणलाई सघाउँछ। साथै राजनीतिलाई सामाजिक सान्दर्भिकताबाट पर फेन्टिसिज्ममा पुर्याइदिन्छ।
अर्को प्रवृत्ति यसले नीति लाभ र राजकीय अवसरलाई सीमित प्रभुत्वशालीले हडप्ने वातावरण बनाउँछ। मतदानलाई एजेन्डा र अर्थमा भन्दा बहकावमा धकेलिदिन्छ र राजनीतिक डिस्कोर्स नै फेरिदिन्छ। केहीअघि भारतीय कांग्रेसकी नेतृ सानिया गान्धीले फेसबुकको दुरुपयोगबाट लोकतन्त्रको घाँटी थिचिएको गुनासो गरेकी थिइन्। युक्रेन युद्धको औचित्य सिद्ध गर्न पुटिनले सञ्चार माध्यमलाई दुरुपयोग गरी आफू नवनाजीवादको अन्त्य गर्न लागेको दुष्प्रचार गरिरहेका छन्। बोल्सेनारोले राजनीतिक अभीष्ट पूरा गर्न यसलाई उपयोग गरे। राजनीतिमा विकास हुने तीव्र महत्त्वाकांक्षा र अवसरवादलाई सामाजिक सञ्जालले मलजल पुर्याएका कैयन उदाहरण समकालीन विश्वमा पाउन सकिन्छ।
नेपालमा पनि भरोसाबिनाका सूचना संस्कृति बढ्नुमा सामाजिक सञ्जाल धेरै हदमा दोषी छ। २०७९ को चुनावमा सामाजिक सञ्जालले जनभावनालाई लपेटिदियो। संस्थापन र शास्त्रीय राजनीतिक आधार भत्काउन यसको सीमाहीन उपयोग भयो तर असल संस्कृति स्थापना गर्न भने ध्यानै दिएन। राष्ट्रिय सबालहरू र रणनीतिक प्राथमिकता पाखा पार्न पनि सामाजिक सञ्जाल दुरुपयोग भए। आवाजहीनहरूको आवाज र अवसरविहीनहरूको न्यायका लागि यसले गर्नुपर्ने गरेन, आलोचना र निन्दा संस्कृतिमा भने बेलगाम पैया छाड्यो। कसैको मानमर्दन गर्न र कसैलाई उराल्न उद्यत् रह्यो। नेताहरूमा शालीनता र संस्कार ल्याउन पहेरेदारी गरेन बरु हेट स्पिचलाई बढावा दियो।
परम्परागत आमसञ्चार माध्यमले विश्वास गुमाएको कारण पनि सामाजिक सञ्जाल उच्छृंखल र उखरमाउलो भएर आएको हो। राज्यको चौथो शाखाको रूपमा सञ्चार क्षेत्रले ‘वाचडग’ को भूमिका खेल्दै आएकोमा यो विस्तारै ‘ल्यापडग’ को भूमिकामा पुग्न गएको छ। बब फ्रेन्कलिन र साथीहरूले निकालेको निष्कर्षअनुसार सरकार र कर्पोरेट स्थार्थ रक्षामा रहनु, विचार र वर्गप्रति आग्रही हुनु र सर्वसाधारणको हितप्रति असंलग्न रहनु ल्यापडग सञ्चारका सिद्धान्त हुन्। यसर्थ सामाजिक दायित्वको पुनःअभिमुखीकरणमार्फत सञ्चारमाध्यम स्वनियमित हुनुपर्दछ। अनिमात्र लोकतन्त्रका लागि सञ्चारको दायित्व पूरा हुन्छ, अन्यथा सामाजिक सञ्जाल मात्र होइन सबै सञ्चार माध्यम लोकतन्त्रका रक्षक बन्दैनन्।