रुपन्देहीमा हतियार देखाएर साढे ५ लाख लुटियो
भैरहवा : रुपन्देहीमा मर्चवारमा हतियार देखाएर साढे ५ लाख रुपैयाँ लुटपाट भएको छ।
भैरहवाबाट बैंकबाट रकम झिकेर रायपुर (मर्चवार)तर्फ जाँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पेस्तोल देखाएर साढे ५ लाख रुपैयाँ लुटपाट गरेको पीडित रुपन्देहीको मर्चवारी गाउँपालिका-३ का प्रकाश बरईले जानकारी दिए।
'पैसा लिएर जाँदै थिएँ बीच बाटोमा दाइ गाडी रोक्नुस् भनेपछि मैले मोटरसाइकल रोके' पीडित बरईले अन्नपूर्णसगँ भने, 'त्यसपछि एक जना मोटरसाइकलबाट झरेर पेस्तोल देखाएर मेरो खल्ती छामे मोबाइल भेटे , त्यसपछि पैसा भएको झोलामा पैसा देखेर उनीहरूले लुटेर लगे, मोबाइल लगेनन्।'
बरई गल्ला व्यापारी हुन्। लुटेराहरूले सम्मरीमाई गाउँपालिका-६ डिहुली र दयानगरको बीचमा रकम लुटपाट गरेको उनले बताए।
रुपन्देहीको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले रकम लुटपाट भएको पुष्टि गर्दै घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको बताए। रकम लुटपाट गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।