प्रशासनमा सेवाग्राहीको चाप
गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्रहीको चाप बढेको छ। दसैं मनाउन घर फर्किएकाहरूले समयको सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेको हो।
दसैं सकिएसँगै जिल्ला प्रशासन लगायतका सरकारी कार्यालय खुलेका छन्। यतिबेला दसैं मनाउन घर आएका मानिसले समयको सदुपयोग गर्दै कार्यालयमा गइरहेका छन्।
कार्यालयमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीको चाप बढेको हो। कार्यालयले विगत केही समयदेखि टोकन सिस्टम प्रयोग गरेर राहदानी वितरण गरिरहेको छ। जसले कार्यालय र सेवाग्राहीलाई सहजता मिलेको छ।
दसैं लगायतका चाडपर्वको समयमा प्रशासन भीडभाड हुने र कार्यालयमा नयाँ नागरिकता, प्रतिलिपि र राष्ट्रिय परिचयपत्र वितरणमा टोकन सिस्टम नहुँदा आफूहरूले सेवामा सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ।
चाडपर्वको समयमा बढ्दो सेवाग्राहीको चापलाई सहज सेवा प्रवाह गर्न बिहान बेलुका अतिरिक्त समयमा पनि कार्यालय सञ्चालन गर्ने सेवा प्रवाह गर्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए।